हुम्लामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

सिमकोट – स्वास्थ्य सेवा कार्यालय हुम्लाको अस्पताल विभागमा कार्यरत वरिष्ठ अनमी सरिता बोहरालाई कोरोना संक्रमण भएको छ । चौबीसै घण्टा अस्पतालको ड्युटीमा कार्यरत रहँदै आएकी उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

दुई दिन अगाडी स्वाव संकलन गरि सुर्खेत पीसीआर परीक्षण गर्दा बोहरामा कोरोना पुष्टि भएको हुम्ला अस्पतालका डा. टसी आङ्जु लामाले बताए । उनी हुम्लामा कोरोना संक्रमित हुने पहिलो स्वास्थ्यकर्मी हुन् ।

उनलाई कोरोना पुष्टि भएसँगै अस्पतालका आकश्मिक र प्रसुती सेवा बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालले सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ गर्ने भएको छ । पाँच दिन भित्र यो काम गरि सक्ने डा. टसीले बताए ।

बोहराले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको स्वास्थ्य सामान्य रहेको बताइन् । उनी अहिले होम आइसोलेशनमा बसेकी छन् । हुम्लामा यसअघि सातजनालाई कोरोना पुष्टि भएकोमा तीनजना निको भई सकेका छन् र चारजना होम आइसोलेशनमा छन् ।

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्