संक्रमितले सुरुमै दुई लाखसम्म धराैटी जम्मा गर्नुपर्ने, खर्च दैनिक १५ हजार

काठमाडौँ – काभ्रेको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले कोरोना भाइरसबाट संक्रमित भइ उपचारका लागि भर्ना हुने बिरामीले सुरुमै कम्तीमा ५० हजार देखि अधिकतम दुई लाख रुपैयाँ धराैटी बुझाउनुपर्ने भन्दै सूचना प्रकाशित गरेको छ।

सरकारले विपन्न तथा असक्त कोरोना भाइरस संक्रमितको मात्रै उपचार खर्च बेहोर्ने, अरु संक्रमितले आफ्नो उपचार खर्च आफै व्यवस्था गर्नु पर्ने बताएपछि सो अस्पतालले अवस्था अनुसार तिर्नु पर्ने रकम तथा धरौटीको विवरण सार्वजनिक गरेको हो ।

प्रकाशित भएको सूचना अनुसार धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना हुने कोरोना संक्रमितले अधिकतम दैनिक १५ हजार रुपैयाँ उपचार खर्च तथा दुई लाख रुपैयाँ धरौटी बुझाउनु पर्ने छ ।

सामान्य लक्षण भएका बिरामी सो अस्पतालमा भर्ना हुनका लागि ५० हजार रुपैयाँ धरौटी बुझाउनु पर्ने छ भने उनीहरुले दैनिक ३५ सय रुपैयाँ उपचार तथा खानाका लागि तिर्नु पर्ने छ ।

यस्तै मध्यम जटिल संक्रमितले धरौटी एक लाख तथा दैनिक ७५ सय र आइसियूमा राख्नु पर्ने जटिल अवस्थाका संक्रमितले धरौटी बापत दुई लाख तथा दैनिक १५ हजार रुपैयाँ तिर्नु पर्ने निर्णय भएको धुलिखेल अस्पतालले जनाएको छ ।

उपचारकै क्रममा निधन भएका संक्रमितका आफन्तले उपचार खर्च नतिरेका घटना रहेको तथा सरकारले पनि निर्णय गरेकाले आफूहरुले कोभिड–१९ को उपचारका लागि खर्चको विवरण सार्वजनिक गरेको अस्पतालको भनाई छ ।

स्वास्थ्य मन्त्रालयले हालै संक्रमितहरुको उपचार खर्च सरकारले नभइ संक्रमित स्वयमले व्यहोर्नु पर्ने निर्णय गरेको थियो । त्यसपछि केही प्रदेश सरकारले भने आफ्नो प्रदेशका बिरामीको निशूल्क उपचार गर्ने घोषणा गरेका छन् । तर केन्द्र सरकार भने संक्रमितको उपचारको जिम्मेवारीबाट पन्छिएको छ ।

 

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्