हो, म विपन्न भएको

स्वघोषणा गर्दछु।

मलाइ भोक टार्न धौधौ परिरहेछ

त्योमाथि भोक त आफ्नोभन्दा परिवारको

पीडादायी हुँदो रहेछ

त्यसैले म परिवारको छाक टार्न

जीवनको परवाह नगरी

सीमाना पार गर्न लाइन बसेको छु।

 

नफर्किन पनि सक्छु

मेरो (प्यारो) देश

यस कारण मात्र प्यारो कि

मेरा प्राणभन्दा प्याराहरू यहीँ छन्।

जहाँ मलाइ काम छैन

मेरो क्षमताको कदर छैन

मेरो रोगको उपचारमा

खर्च गर्ने पैसा छैन

मेरो ठूला बडासम्मको पहुँच

पनि त छैन ।

 

विपन्न हुनु भनेको केही नहुनु रहेछ

त्यसैले म विपन्न भएको

स्व घोषणा गर्दछु।

खेती गर्छु, मल छैन

ज्वरो आउँदा सिटामोल पाउँदिन

मेरो घर भएको पहाड खस्दा

सामान समेट्न पनि कोही आएन।

 

मेरो छोरो आफ्नो (प्यारो) देश फर्किन पाउने आसमा

मलेसियामा एक छाक खाएर तड्पिरहेको छ

मेरा भाइ भतिजाहरूलाई मारेर खोलामा बगाउँदा

मेरै छिमेकीले काखी बजाए

मेरी छोरी बलात्कृत हुँदा

२/४ जनाले मैनबत्ती बाल्ने सिवा

केही गर्न सकेनन्।

 

विपन्न हुनु भनेको उपेक्षित हुनु पनि रहेछ

यो देशको अनागरिक भएर

आत्मसन्तोषका साथ बाँचिरहेको छु

त्यसले म सगर्व सगरमाथाको मुन्तिर

उभिएर बुद्धवचनमा विपन्न भएको

स्वघोषणा गर्दछु।

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्