स्वर्गद्वारी आश्रमको जग्गा नछोड्ने स्थानीयहरुको अडान

दाङ– लमही नगरपालिका वडा नं. ३ बनगाउँ निवासी विनोदकुमार चौधरीका बुवा सन्तराम चौधरीले स्वर्गद्वारी आश्रमको जग्गा जोतभोग गर्दै आए। आश्रमको सेवामा जीवन बिताएका चौधरीको नाममा मोहीयानी कायम भयो। तर मोहियानी हक अन्तर्गत पाउनु पर्ने जग्गाको स्वामित्व अझै पाउन सकेका छैनन्।

सन्तरामको निधन भइसकेको छ। साढे चार पुस्ता स्वर्गद्वारी आश्रमको जग्गा खनजोतमै बितेको छ। तर जग्गाको स्वामित्व पाउन सकिएको छैन।

‘मोहियानी त लागु भयो। तर त्यो अनुसारको जग्गाको स्वामित्व आएको छैन,’ सन्तरामका छोरा विनोदले भने, ‘७ विगाह १७ कट्ठा ३ धुर जग्गामा मोही छ। सन्तान बढ्दै जाँदा अहिले २०–३० घरमा पुगेका छौँ। जग्गा अंशवण्डा हुँदैन। आँठो लगाएर जोतभोग गर्दै आएका छौँ।’

विनोदको परिवारले मोही लागेको मध्ये ८ कट्ठा जग्गा मात्रै खनजोत गर्दै आएको छ। बाँकी जग्गा भाइ गोत्यारले खनजोत गर्दै आएका छन्। मोही कायम गर्दा जग्गा छुटेको दावी सन्तरामका छोराहरुको छ।

‘मोही दावी गर्दा जग्गा नै छोडिदिए। अहिले त्यही छुट जग्गा आश्रमले छोड्न हामीहरुलाई दवाव दिइरहेको छ’, विनोदले भने, ‘न हामीले मोहीको हक अन्तर्गत जग्गाको स्वामित्व पाएका छौँ। न त छुट जग्गामा मोही कायम भएको छ।’

0नौ विगाह जग्गा छुटेको थियो। जसमध्ये विनोदले एक विगाह १८ कट्ठा खनजोत गर्दै आएका छन्। विनोद र उनको परिवारको नाममा एक धुर लालपुर्जावाला जग्गा छैन। आश्रमको जग्गा खनजोत गर्दै आएका उनीहरुले जग्गाको बैठकी तिर्दै आएका छन्।

कोभिड–१९ का कारण स्वर्गद्वारी आश्रममा पूजाआजा गर्न समस्या परेको छ। आश्रम सञ्चालन गर्न कठिनाइ छ। यही मौका छोपेर आश्रमले छुट जग्गा खनजोत गर्दै आएका किसानलाई जग्गा नजोत्न भन्न थालेको गुठी पीडित संघर्ष समितिका सचिव भरत गिरीले बताए।

‘किसानलाई कोरोना भाइरसले पनि मर्का पारेको छ। यस्तो अवस्थामा किसानलाई दुःख दिन खोजिदैछ,’ गिरीले भने, ‘किसानले जोतभोग गर्दै आएको जग्गा विभिन्न बहाना खोस्ने कोसिस हुँदैछ। किसानहरुलाई यो कार्यले मर्माहत बनाएको छ।’

स्वर्गद्वारी आश्रमको नाममा दाङ देउखुरीमा १ हजार ५६ विगाह जग्गा छ। घोराही, तुलसीपुर र लमही क्षेत्रमा आश्रमको १ हजार ५६ विगाह जग्गामध्ये ७ सय ७६ विगाह जग्गामा मोही छ। मोही कायम भएको जग्गाको स्वामित्व किसानमा जान सकेको छैन। किसानले भोगचलन गर्दै आएका छन्। तर कित्ताकाँट भएर किसानमा जान सकेको छैन। करिब दुई सय विगाह जग्गामा तेस्रो व्यक्तिको बसोवास छ। २०२७ सालमा आश्रमको नाममा जग्गा नापी भएको थियो। २००६ सालमा राजगुठी थियो।

पछि विशेष गुठी बनाउन चलखेल भएको किसानहरु बताउँछन्। २०६२ साल चैत १४ गते सर्वाेच्च अदालतले गरेको फैसलाले गर्दा किसानले जग्गाको स्वामित्व पाउने बाटो रोकिदिएको छ। किसानहरुले २०३६ सालसम्म आश्रमलाई जिरायत पोतायत तिर्दै आए। २०३६ देखि ०४४ सम्म अधिया बापत खाद्यान्न दिए। २०४५ ठेगाकुत तिर्दै आए। किसानले जोतभोगको आधारमा छुट जग्गाको तिरो भरोको रसिदसमेत आश्रमले दिएको बताएका छन्।

कहिले हुन्छ दोहोरो स्वामित्वको अन्त्य?


स्वर्गद्वारी आश्रमको नाममा रहेको जग्गालाई लिएर किसान र आश्रमको बीचमा पहिलेदेखि नै समस्या छ। आश्रमले जग्गाको स्वामित्व किसानलाई दिन नचाहेको आरोप खेप्दै आएको छ। जग्गामा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने विषय धेरै पहिलेदेखि उठ्दै आएपनि यो समस्या समाधान अहिले पनि हुन सकेको छैन।

आश्रमको जग्गाको विषयमा राजनीतिक रुपमा समेत चर्चा हुने गर्छ। तर अहिलेसम्म समाधान हुन सकेको छैन। किसान र आश्रमको जग्गामा बसोवास गर्ने व्यक्तिहरु ढुक्क छैनन। आश्रम सञ्चालन गर्नको लागि समेत समस्या उत्पन्न हुदा के गर्ने? विकल्पहरुको खोजी मिहिनढंगबाट हुन नसक्दा जग्गाको विषय जटिल बन्दै गएको हो। जग्गामा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने विषय सरकारको हो।

‘किसानलाई सताउने काम बन्द होस्’


संघीय संसदबाट गुठी विधेयकको छिनोफानो नहुँदासम्म स्वर्गद्वारी आश्रमले विभिन्न वहानामा किसानलाई दुःख दिने काम बन्द गर्न माग राखिएको छ। स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समिति दाङले लमहीमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पनि वहानामा किसानले जोतभोत गर्दै आएको मोही भएको, मोही कायम हुन बाँकी रहेको, छुट जग्गा र ‘छिउटी’ जग्गासमेतबाट किसानलाई जोतभोगबाट बञ्चित गराउन चलखेल गरेको भन्दै सो कार्य रोक्न माग राखिएको छ।

संघर्ष समितिका अध्यक्ष सहदेव थारुले स्वर्गद्वारी आश्रमको गलत कदमको किसानले डटेर प्रतिरोध गर्ने बताए। ‘कुनैपनि हातलमा हामीले जोतभोग गर्दै आएको जग्गा छोड्नेवाला छैनौँ,’ थारुले भने, ‘अहिले सताउने कार्य बन्द नभए हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।’

अतिक्रमण हुनबाट जोगाउन पहल गरेका हौँः आश्रम


स्वर्गद्वारी आश्रमको नाममा भएको जग्गामा खेती भएपनि आश्रमलाई कुत नबुझाएका स्थानमा आफै खेती गर्ने उद्देश्यले केही ठाउँको जग्गा आश्रमलाई छोडिदेऊ भनेको आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले बताए।

‘आश्रमको नामको जग्गा। मोही पनि लागेको छैन। धेरै ठुलो प्लटको जग्गा आश्रमलाई समस्या पर्दा खेती गर्न आश्रमलाई देऊ भनेको हो,’ अधिकारीले भने, ‘सबैको ठाउँको होइन। बनगाउँ क्षेत्रको केही जग्गामा हामीले आफै खेती लगाउछौँ भनेका हौँ। यो कुरालाई अनावश्यक ठूलो बनाउन खोजियो।’

किसानले कुत बुझाउन बाँकी भएकाे र कुत बुझाएर खेती गर्न अधिकारीले सल्लाह दिए।

‘मोहीको हकमा हामीले छुनै मिल्दैन। यो विषय सरकारले टुंग्याउनु पर्छ। तर मोही नलागेको जग्गा आश्रमले खोजी गर्ने नै भयो’, अधिकारीले भने, ‘आश्रमको नामको जग्गा अतिक्रमण हुने जोखिममा छ। त्यही भएर खेती नभएको जग्गाहरु आश्रमले खनजोत गर्न थालेको हो।’

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्