केन्द्र सरकारको निर्णय उल्ट्याउँदै प्रदेश सरकारहरु, पाँच प्रदेशले गरे संक्रमितको आफै उपचार गर्ने घोषणा

काठमाडौँ – केन्द्र सरकार अधिकांश कोरोना भाइरस संक्रमितको उपचार जिम्मेवारीबाट पन्छिए पनि प्रदेश सरकारहरु नागरिकको पक्षमा उभिएका छन् ।

सरकारले विपन्न तथा अशक्त बाहेकका संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नु पर्ने निर्णय गरेसँगै त्यसको चौतर्फी आलोचना भइरहेको छ । केन्द्र सरकारको सो निर्णयपछि प्रदेश सरकारहरुले आफ्नो प्रदेशका बासिन्दाको उपचार निशूल्क गर्ने निर्णय गर्ने क्रम जारी छ ।

पछिल्लो पटक बागमती प्रदेशले आफ्नो प्रदेशका कोरोना संक्रमितको उपचार निशूल्क गर्ने निर्णय गरेको हो । योसँगै अहिलेसम्म पाँचवटा प्रदेशले केन्द्र सरकारको निर्णय विपरित नागरिकको पक्षमा फैसला गरेका छन् ।

बागमती प्रदेश भन्दा अघि प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले आफ्नो प्रदेशका संक्रमितको उपचार निशूल्क गर्ने निर्णय गरेका थिए । अझैसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले भने यससम्बन्धमा कुनै निर्णय गरेका छैनन् ।

बागमती प्रदेशले संक्रमितको उपचार निशूल्क गर्ने बताए पनि केन्द्र सरकार मातहतमा रहेका कोरोना संक्रमितको उपचार हुने पाटन अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि अस्पताल, टेकू अस्पतालसहितमा भने संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नु पर्ने अडान कायम छ ।

स्वास्थ्य मन्त्रालयले संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नु पर्ने बताएसँगै विभिन्न अस्पतालहरुले लाग्ने शूल्कको विवरण नै सार्वजनिक गर्न थालेका छन् ।

ती अस्पतालले धरौटी स्वरुप अधिकतम दुई लाख तथा दैनिक खर्च अधिकत १५ हजार रुपैयाँसम्म लाग्ने गरी शूल्क सूचि प्रकाशित गरेका छन् ।

स्वाथ्य मन्त्रालयले संक्रमितको उपचारका लागि दैनिक दुई हजारदेखि १५ हजार रुपैयाँसम्म लिन पाउने बताएपछि अस्पतालहरुले सूचि सार्वजनिक गर्ने क्रम सुरु भएको हो ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्