एउटा पालिकाबाट मात्रै दुई हजार खसी बोकाको कारोबार

दाङ – यस वर्षको दसैँमा दाङको एउटा पालिकाबाट मात्रै दुई हजार खसी बोका जिल्ला बाहिर बिक्री वितरण भएको छ ।

लमही नगरपालिकामा रहेका चारवटा सामाजिक उद्यमी महिला सहकारीमा आवद्द किसानले यस वर्ष मात्रै दुई हजार बढी खसी बोका सहकारी मार्फत बिक्री वितरण गरेक हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहकारीबाट मात्रै ८ सय खसी बोका खरिद गरेको हो ।
दाङबाट यस वर्ष एक हजार खसी बोका खरिद गरेर काठमाडौँ पठाउने योजना अनुसार अहिलेसम्म आठ सय खसी बोका खरिद गरिएको छ ।

थप २ सय खसी बोका खरिद गरेर काठमाडौँ पठाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए। ‘सुरुमा ६ सय खसी बोका खरिद गर्ने कार्यक्रम आएको थियो । पछि थप चार सय खसी बोका खरिद गर्ने जिम्मेवारी आयो’ चौधरीले भने, ‘खसी बोका सहज रुपमा पाउन थालेपछि जिम्मेवारी पनि बढेको छ ।’

प्रति किलो जिउँदो खसी ५३० रुपैयाँ देखि ५५० रुपैयाँमा खाद्यले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रति किलो ५३० रुपैयाँसम्म किन्ने गरेको छ । सहकारीले लिने सेवा शुल्क किसानलाई कार्यक्रम मार्फत फर्काउने गरिएको छ ।

साढे आठ वर्ष अघि साविक सतबरिया गाविस हाल लमही नगरपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा साना किसान उद्यमी सुदृढीकरण परियोजना लागु भएको थियो । पछि साविक सोनपुर गाविस हाल लमही नगरपालिकाको वडा नम्बर १, २ र ३ मा कार्यक्रम लागु भएको हो । यी क्षेत्रलाई समेटनेगरी चारवटा सामाजिक उद्यमी महिला सहकारी छन् ।

यिनै सहकारी मार्फत किसानले व्यवसायीक बाख्रा पालन गर्दै आएका छन् । गत वर्षको दसैँमा पनि अहिलेकै हाराहारीमा खसी बोकाको कारोबार भएको थियो ।

‘खसी बोकाको उत्पादन बढ्यो । बजारको लागि जिल्ला बाहिर पठाउन थालेका छौँ’, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाले भनिन्, ‘सहकारी मार्फत कारोबार गर्दा सुरक्षित र उचित मूल्य पाउने भएकाले यस बर्ष कारोबार बढेको हो ।’

किसानले सहकारी बाट खसी बोकाको कारोकार गर्दा प्रदेश सरकारले अनुदान दिन थालेपछि सहकारी बाट कारोबार गर्नेहरुको संख्या बढेको हो । लुम्बिनी प्रदेश सरकारले जिउँदो खसी बोकाको प्रतिकिलो २५ रुपैयाँ गत वर्ष अनुदान वाडेको थियो । यस वर्ष पनि किसानले अनुदान पाउने छन् ।

‘पहिला किसानले खसी बोकाको उत्पादन थोरै गर्नुहुन्थ्यो । व्यवसायीक उत्पादन थिएन । आठ वर्षको अन्तरालमा व्यवसायीक किसानको संख्या बढेको छ’ हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेलले भने, ‘सहकारीबाट किसानले प्राविधिक सेवा लिने, उत्पादन गरेको कृषि र पशुपक्षी जन्य वस्तुको कारोबार गर्दा सरकारले समेत सहयोग गर्ने गरेको छ ।’

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्