जनताले अहिलेको आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुक्ति चाहेका छन्: पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ – कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोलेका छन्।

बिहीबार दसैँको अवसरमा शुभकामना दिँदै शाहले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्। उनले सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको निष्कर्ष निकालेका छन्।

उनले जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने यथार्थप्रति सचेत हुन आग्रह गरेका छन्।

शाहले दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।’

त्यस्तै उनले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाएका छन्। यसले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको उनको बुझाइ छ।

सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको उनले उल्लेख गरेका छन्।

‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि अभाव र गुणस्तरीयतामा हास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ,’ शाहले अगाडि भनेका छन्, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ। त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुत्ति चाहिरहेका छन्।’

यस्तो छ पूर्वराजा शाहको वक्तव्य:

 

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्