रिवन काटेर ल्याब उद्घाटन गरेलगत्तै मन्त्रीमा कोरोना संक्रमण पुष्टि

विराटनगर – विराटनगरका उद्योगी समूहले सञ्चालनमा ल्याएको एक प्रयोगशाला(ल्याब) उद्घाटनमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू कोभिड १९ बाट संक्रमित भएको उल्लेख गरेका छन्।

गत असोज २९ गते पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको उल्लेख गरेका मन्त्री कार्की बिहीबार विराटनगरमा उद्योगी तथा व्यापारीबाट सञ्चालित नीजि प्रयोगशाला उद्घाटन कार्यक्रममा सहभागि थिए।

सरकारी निकायका अस्पताल र प्रयोगशाला दसैँ र कर्मचारी अभावका कारण देखाउँदै पिसिआर नमूना संकलन परीक्षण गराउनपछि हटिरहँदा मन्त्री कार्की नीजि क्षेत्रबाट सञ्चालित प्रयोगशालाको उद्घाटनमा पुगेका हुन्।

यस विषयमा चर्को आलोचना सुरु भएको छ । सरकारी निकाय बन्दको अवस्थामा एकाएक प्रयोगशाला सञ्चालनका लागि अनुमति हासिल गर्नु आफैमा पनि आश्चर्यजनक भएको नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की बताउँछन् ।

उनले भने, ‘सरकारी मातहतका निकाय बन्द गरि सरकारकै जिम्मेवार व्यक्तिहरु नीजि क्षेत्रको प्रयोगशाला उद्घाटन गर्ने सन्र्दभ आफैमा मेल खाने विषय भएन। सरकारी निकाय बन्द गरि त्यहाँ प्रोत्साहन गर्न पुग्ने नै आफ्नो पदको गरिमा नबुझेको हो। त्यसरी पदमा बसिराख्न उहाँहरु लायक पनि हुनुहुन्न।’

जनताको पिसिआर रिपोर्ट आउन १० दिन बढिको समय लाग्ने अवस्थामा मन्त्रीको केही घण्टामै रिपोर्ट आएको भन्दै प्रमुख सचेतक कार्कीले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

यसले पनि मन्त्री पदमा आसिन ब्यक्ति जनताप्रति जिम्मेवार नदेखिएको प्रस्ट भएको उनले बताए। अर्कोतर्फ सामाजशास्त्री डा.चन्द्र तिम्सिनाले अत्यावश्यक सेवा नै बन्द गरि बिदामा बस्नुले तीन तहको सरकारको खिल्ली उडाएको बताए।

घरघरमा सिंहदबारको नारा दिएर संघीयता ल्याएको भन्दै ढाडस दिने जनप्रतिनिधिहरुले नै त्यसको खिल्ली उडाएको उनले बताए ।

अहिलेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त राख्नका लागि पहल गर्न सक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हिजो निर्वाचनका क्रममा म्यादी प्रहरी भर्ना गर्न सकिन्थ्यो भने, आजको अवस्थामा स्वास्थ्य निकायका व्यक्तिलाई अतिरिक्त सुविधा दिएर, स्वंयसेवकका रुपमा, सिफ्टका आधारमा खटाउन सकिन्थ्यो। तर तीन प्रदेश र स्थानीय दुवै सरकार यसमा जिम्मेवार भएनन् । अहिले सरकारले नैतिक बल गुमाएको महसुस भएको छ।’

महामारीको समयमा सरकारी प्रयोगशालाको सेवा बन्द गरेर जिम्मेवार मन्त्री निजी ल्याब उद्घाटन गर्न जानु लज्जाको विषय भएको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

‘महामारीमा सरकारी तहबाट हुने स्वाब संकलन र परीक्षण बन्द गरेर मन्त्री निजी उद्घाटनमा जानु लाजमर्दाे विषय हो’, उनले भने ‘यस्तो शैलीले सरकार जनताप्रति होइन। व्यापारीप्रति उत्तरदायी भएको देखाउँछ । सरकारको काम निरन्तर व्यापारी पोस्ने खालको छ ।प्रदेश र संघको कदमले जनतामा नैराश्यता बढाएको छ ।’

चाउचाउ र बिस्कुटको उद्योग सञ्चालन गर्दै आएका उद्योगी महेश जाजु, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र कोषाध्यक्ष अनिल शाहसंगै अन्य केही युवा ब्यवसायीले संयुक्त रुपमा सञ्चालन गरेको प्रयोगशालाको आन्तरिक मामिला मन्त्री कार्की उद्घाटन गरेका थिए।

उद्योगीहरुले ५ करोडको लगानीमा ‘बि सियोर’ ल्याब सञ्चालनमा ल्याएका हुन्। तर यस टोलीमा महानगरपालिकाका जनप्रतिनिधि, विराटनगर र सुनसरीका युवा व्यापारी समेत रहेको एक उद्योगीले जानकारी दिए।

उनका अनुसार प्रयोगशालाको अनुमतिका लागि विराटनगरका नेकपाका एक युवा नेताको प्रयोग भएको छ। ती उद्योगीका अनुसार हाल सञ्चालनमा आएको प्रयोगशालामा आवद्ध युवा व्यवसायी तथा नेकपाका केही युवा नेतालाई समेत विराटनगरमा निर्माण हुन गइरहेको कोभिड १९ केयर अस्पतालमा राख्न दबाव पर्दै गएको छ ।

 

कात्तिक ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्