चौरसियाको हत्यारालाई कारवाही गर्न माग गर्दै आफन्तजनद्वारा बिरोध प्रदर्शन, प्रहरीले जाहेरी पनि दर्ता गरेन

वीरगन्ज-  आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।
चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार दिउँसो पुगेका थिए।
उनीहरुले चौरसियाको सुनियोजित तरिकाले हत्या गरिएको भन्दै घटनामा संलगन रहेका बिरुद्ध तुरुन्तै जाहेरी दर्ता गरी कारवाही प्रक्रिया अघि बढाउन माग गरेका हुन्। प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेपछि चौरसियाका आफन्तजन तथा नेकपाका कार्यकर्ताहरुले धर्ना समेत दिएका थिए।
धर्ना दिँदै आफन्तजन तथा पार्टीका कार्यकर्ताहरुले दोषीलाई कारवाही गर, कानुनी राज्य कायम गर, अपराधीलाई कारवाही गरजस्ता नारा लगाएका थिए। धर्नाको क्रममा नेकपाका नेता मातृका यादव पनि पुगेका थिए। उनले पनि प्रहरीलाई जाहेरी दर्ता गर्न आफूले भनेको भए पनि प्रहरीले दर्ता गर्न नमानेको बताए। निवेदन दर्ता गरेर लास पोष्टमार्टम गर्न आग्रह गरेको भएपनि प्रहरीले नमानेको यादवले बताए।
‘हामीले के भन्यौँ भने दर्ता गर्नुस्, लासचाहिँ पोष्टमार्टम गराई दिनुस्,’ यादवले भने, ‘तर मानिरहनु भएको छैन।’
यादवले चौरसियाको मृत्यु भएको घटनाको बारेमा आफूले पार्टीका नेताहरुलाई रिपोर्ट गर्ने पनि जानकारी दिए। प्रहरीले कुटपिट गर्नेलाई पक्राउ गरेर ल्याएपनि किन निवेदन दर्ता गर्न नमानेको भन्ने रहस्य आफूले बुझ्न नसकेको यादवको भनाइ थियो।
जाहेरी दर्ता नभएपछि यादव भने जिल्ला प्रहरी कार्यालयबाट फर्किएका छन्। बिहीबार दिउँसो नेकपाका कार्यकर्ताहरुको आपसी विवाद हुदा झडपमा परी गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको छ।
बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाटा स्थित नव गठित नेकपाको गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएको थियो। सोही क्रममा विवाद भई झडप भएको थियो। झडपमा परी चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि न्युरो अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा संलगन रहेको आरोपमा प्रहरीले बिन्दबासिनी गाउँपालिका निवासी तीनजनालाइ पक्राउ पनि गरेको छ ।
यसैबीच नेकपा पर्साले चौरसियाको मृत्यु भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । नेकपा जिल्ला कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिन्दबासिनी गाउँपालिका कमिटी सचिव तथा जिल्ला सदस्य समेत रहेका मुकेश चौरसियाको हत्यामा संलगन रहेकाहरुलाई कारवाही गर्न माग गरेको हो । नेकपा पर्सा जिल्ला ईञ्चार्ज रामचन्द्र साह,अध्यक्ष प्रभु हजरा र सचिव विजय महतोद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमार्फत चौरसियालाई शहिद घोषणा गर्न, झडपमा परी घाइते भएकाहरुका निशुल्क उपचार र क्षतिपूर्ति दिन समेत माग गरिएको छ।
चौरसियाको शव भने आफन्तले अहिलेसम्म पनि बुझेका छैनन् । यता हालसम्म घटना बारे जाहेरी दर्ता नभएको पर्साका प्रहरी प्रवक्ता मनोजित कुवँरले बताए। उनले शव परीक्षण गर्न नारायणी अस्पतालमा शुक्रबार राति पठाइएको तथा जाहेरी भोलि दर्ता हुने जानकारी दिए। ‘शव आफन्तले बुझेका छैनन्। हामीले परीक्षणका लागि नारायणी अस्पतालमा पठाएका छौँ’, कुवँरले भने, ‘सम्भवत भोलि जाहेरी दर्ता हुन्छ।’
कात्तिक ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्