अमेरिकामा एकैदिन संक्रमित हुनेकाे संख्या अहिलेसम्मकै धेरै

अमेरिकामा कोरोना भाइरसको संक्रमण कम हुनुको साटो फेरि तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ । शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकामा शुक्रबार ८४ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै संख्या हो ।
महामारी विरुद्धको कमजोर प्रयासलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना हुँदै आएको छ ।

तर आफै पनि संक्रमित भएका ट्रम्पले भने अमेरिकामा संक्रमण चाँडै सकिने बताउन छोडेका छैनन् । उनले नेपाली समय अनुसार शुक्रबार बिहान भएको राष्ट्रपति उम्मेदवार जो बाइडेनसँगको टेलिभिजन डिबेटमा पनि संक्रमण चाँडै अन्त्य हुने दाबी गरे ।

आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार बाइडेनले चुनौति दिँदै छन् । चुनावमा महत्वपूर्ण मानिएका ओहायो, मिसिगन, नर्थ क्यारोलाइना, पेनसिलभेनिया र विस्कनसिनसहितका राज्यमा संक्रमण तीव्र गतिमा बढ्दो छ । बिहीबार अमेरिकामा ७६ हजार १९५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि गएको जुलाई १६ मा ७७ हजार २९९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो बेला अस्पताल भर्ना हुने संक्रमितको संख्या ४७ हजारसम्म पुगेको थियो । त्यसको दुई हप्तापछि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दैनिक औषत १२ सय भएको थियो ।

अहिले पनि संक्रमण बढ्दै जाँदा अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या बढ्न सक्ने भन्दै स्वास्थ्यविज्ञले चिन्ता व्यक्त गरेका छन् । अहिले अस्पताल भर्ना हुनेको संख्या ४१ हजार भन्दा धेरै छ र कोभिड–१९ बाट प्रतिदिन औषत ८०० जनाको ज्यान गएको छ ।

शुक्रबार अमेरिकाका १६ राज्यमा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भयो भने ११ राज्यमा अस्पताल भर्ना हुनेको संख्या अहिलेसम्मकै धेरै भयो ।

कात्तिक ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्