उत्तर कोरियाले भन्यो, ‘चीनबाट आउने हावामा कोरोना हुन सक्छ, घरबाहिर नकिस्कनू’

उत्तर कोरियाले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफ्ना नागरिकलाई घरभित्रै बस्न भनेको छ।

चीनबाट आउने मौसमी धुलोको कण (येल्लो डस्ट) मा कोरोना भाइरस हुन सक्ने चेतावनी दिँदै उत्तर कोरियाले आफ्ना नागरिकलाई घरभित्रै बस्न भनेको हो।

उत्तर कोरियाको सत्तारुढ पार्टीको आधिकारिक पत्रिका रोडोङ्ग सिनमुनमा उल्लेख छ, ‘कोरोना भाइरसको विश्वभर संक्रमण फैलिने क्रम जारी रहेका बेला हामीले येल्लो डस्टसँग जोगिन जान्नु पर्छ, किनकी सो कणमा कोरोना भाइरस आएको हुन सक्छ र अवस्था गम्भीर बन्न पनि सक्छ।’

१९ सय किलोमिटर पर रहेको गोबी मरुभूमिबाट आउने येल्लो डस्टमा कोरोना भाइरस हुन सक्ने उल्लेख सो पत्रिकामा गरी सर्वसाधारणलाई चेतावनी दिइएको छ।

सामान्यतया कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि ६ फिटको भौतिक दूरी कायम गर्नु पर्ने हुन्छ । तर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरस रहेको ओसिलो कण (छिटा) हावामा घण्टौँसम्म जीवित रहन सक्ने बताएको छ।

उत्तर कोरियाको पत्रिकाले आफ्ना नागरिकहरुलाई घर बाहिरका गतिविधि सकेसम्म सीमित गर्न र बाहिर जाँदा मास्क लगाउनेसहितका सावधानी अपनाउन भनेको छ।

उत्तर कोरियाले अहिलेसम्म आफ्ना कुनै पनि नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छैन। तर स्वास्थ्यविज्ञहरुले भने त्यसमा शंका व्यक्त गर्ने गरेका छन्।

कात्तिक ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्