अन्तर्वार्ता

नेताहरुले देशबासीको चित्त दुखाउनु हुँदैन: मनिषा कोइराला

काठमाडौँ– मन्डिखाटारको कोइराला निवास, गेटबाट भित्र छिर्ने बित्तिकै हरियो विरुवाको संसार। त्यही विरुवाको बीचको बाटोबाट पुगिने मूलद्वार। ढोकाको सिधा चश्मा लगाएको एक पुरुषको श्यामश्वेत तस्बिर छ, उनी नेपालको ठूलो इतिहास थिए, हुन् ! विश्वेश्वरप्रसाद कोइराला । बिपी।

मालाको फ्रेम भित्रको उनको शालिन अनुहारले २००७ सालको प्रजातन्त्र स्मरण गराउँथ्यो। अनि नेपाली साहित्यमा उनको याेगदान पनि। अवसानपछि पनि उनको नाम न नेपाली राजनीति, न त साहित्यमा रुचि राख्ने नयाँ पुस्ताले लिन छुटाउँदैन।

हामी भने उनकी नातिनी अभिनेत्री मनिषा कोइरालासँग केही समय कुराकानी गर्न गएका थियौँ। कोरोना महामारी भारतमा सुरु हुँदा उनी आफ्नो ‘प्रोजेक्ट’ गर्दै थिइन्। चाँडै सक्काउने उनको समूहको योजना सक्किन नपाउँदै लकडाउन भयो।

अरुलेझैँ उनले पनि सोचिनन्- लकडाउन यति लामो जान्छ। मनिषाका बुवा र आमा दुवैजना भारतमा नै थिए। ‘बाबा आमा ७० वर्षभन्दा माथि उमेरको हुनुहुन्छ, म आफैँ पनि स्वास्थ्य समस्याबाट गुज्रेर निको भएको मान्छे, सबैको स्वास्थ्यको ख्याल म आफैँले राख्नुपर्ने थियो’, मनिषाले भनिन्, ‘२ महिनापछि मलाई उकुसमुकुस हुन थाल्यो। काठमाडौँ आयौँ भने कम्तीमा यहाँ हरियाली त छ।’

उनले घर सम्झिइन्। भाइको सन्तान, बाबाको अन्य सन्तान, आमाको माइती अरु अरु यही भएकाले पनि मनिषालाई घर फर्कन मन लाग्यो। तर यो वर्ष उनी काठमाडौँको एयरपोर्टमा उत्रिनन्, पाको उमेरका बाबा–आमा बोकेर हिँडेकी मनिषा नेपाल आउँन पहिला गोरखपुरसम्म प्लेनमा गइन्, त्यसपछि गाडी चढेर काठमाडौँ।

 

मास्क, फेससिल्ड लगाइएको उनको तस्बिरले अहिले आफैलाई हाँसो लाग्छ। भन्छिन्, ‘स्वास्थ्यको बारेमा असाध्यै सचेत गराएको छ।’

अनि हामी कोभिडले चलचित्र क्षेत्रलाई कसरी प्रभाव पारिरहेको छ भन्ने विषयतर्फ लाग्यौँ।

‘गर्ने मान्छेले गरिराखेकै छन्। जुन तवरले अगाडि बढिरहेको थियो, त्यसलाई ब्रेक गरिदियो। तर भगवानलाई धन्यवाद नै भन्नुपर्छ, अनलाइन प्लेटफर्मले गर्दा मानिसले घर बसेर धेरै कुरा हेर्न पाएका छन्। थिएटरमा जान त समय नै लाग्छ। यसले ठूलो प्रभाव त पार्ला नै !’

तर भोलि के होला ?

उनी सकारात्मक सुनिइन्, ‘यो अवस्था सँधै नरहला।’

सिर्जना र विपदको विपरीत सम्बन्ध छ। जति समस्या पर्छ सिर्जना झन् मजबुत हुन्छन्। व्यापारिक पक्षलाई नकारात्मक प्रभाव पर्छ । म ‘अप्टिमेस्टिक’ छु। मेरो पनि सिनेमा रोकिएको छ। समस्या त छ, तर अहिले सबैभन्दा ठूलो ध्याने स्वास्थ्य हुनुपर्छ।’

उनले ‘अ मङ्क हु सोल्ड हिज फरारी भन्ने पुस्तक’ का लेखक रविन शर्माको उदाहरण दिँदै भनिन्, ‘उहाँले अर्को पुस्तक पनि लेखिसक्नुभयो रे।’

भारतमा लकडाउनकै समयमा चलचित्र ‘गुलाबो सिताबो’ अनलाइन प्लेटफर्ममा प्रदर्शनमा आयो’, उनी भन्छिन्, ‘परिस्थितिले मानिसलाई रोक्दैन, ऊ आफै रोकिन्छ।’

कोइराला यो समयलाई केही सिक्न चाहनेको लागि पनि उत्तम रहेको भन्दै आफूलाई के गर्न रुचि छ त्यो पहिचान गर्न सुझाव दिन्छिन्।

यो परिस्थितिले कसैलाई अत्याएको छ भने उनी भन्छिन्, ‘धैर्य गर्नुस् । सबै ठीक हुन्छ। किनकि हामीलाई थाहा छैन भोलि के हुन्छ ?’

‘जीवन भनेको त्यस्तो चिज हो जहाँ अगाडिको लागि गरिएको ‘प्रिपेरेशन’ हरु काम लाग्दैन। चकित पारिदिन्छ। धेरैले यसलाई स्विकार्न नसकिरहेको हुन्छौँ। म पनि आत्तिन्छु। तर हामी मानिसहरुमा त्यस्तो क्षमता हुन्छ कि आइपरेको परिस्थितिलाई हामीले सहन सक्छौँ। हामीले त्यो शक्तिमा विश्वास राख्नुपर्छ र अगाडि बढ्नुपर्छ। हामीले एकपल्ट इतिहासलाई पनि हेर्नुपर्छ। आफू बचेर हिँड्नुपर्छ।’

अहिले उनी घरमा रमाइरहेकी छन्। बाबाआमाको सेवा गरिरहेकी छन्। घर बाहिरको ठूलो बगैँचामा फूलका विरुवाहरु ढकमक्क छन्। तिनै विरुवालाई स्याहार गर्ने उनको दैनिकी छ। आँगन बढार्नलाई कुचो पनि उनले समातिन्, ‘मालीले दिदीलाई कुचो लगाउन आउँदैन रहेछ भनेर जिस्काए। मैले सिक्नको लागि एक साता मागेको छु।’

चरा चिरबिराएको आवाज आउने उनको घरको बगैँचा उनको लागि अहिले संसार भएको छ। उनलाई घर धेरै प्यारो छ। नेपालकी छोरी भएर भारतमा आफ्नो करियर बनाउने मनिषाको जन्मभूमिप्रतिको स्नेह र सम्मान बेला बखतमा सार्वजनिक हुन्छन्। कोरोना महामारीकै बीचमा उनले नेपालले जारी गरेको नयाँ नक्साको तारिफ गरेकी थिइन्।

हुन त यो अभिव्यक्तिले उनलाई केही आलोचना खेप्नु पर्‍यो। तर पनि उनी बोलिन्। बाल अवस्थाबाट नै कालापानी, लिम्पियाधुराको कुरा सुनिरहेको विषय थियो। लामो समयदेखि कुटनीतिक हिसाबले यो विषयलाई टुंगो लगाउन खोजिएको विषयमा जानकार थिइन्।

‘दुई ठूला विशाल देशको बीचमा रहेको हाम्रो देश नेपाल जहिले पनि भू राजनीतिले गर्दा प्रभावित भइरहेको हुन्छ। यसको दु:ख सुख नै अनौठो छ। हामीले धेरैजसो सीमाको मुद्दा सुन्ने गरेका छाैँ’, उनी भन्छिन्, ‘सन् २०१५ मा आएको भूकम्पपछि मेरो काका स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। सीमा सम्बन्धी केही सम्झौता हुँदा मैले उहाँसँग पनि कुरा गरेको थिए।’

त्यो बेलामा पनि उनको मन विचलित भयो। त्यसपछि भारतले नेपालको भूभागबाट चीनको बाटो खुलेको खबरपछि झन् नराम्रो लाग्यो। दुई महान राष्ट्रमध्ये भारतसँग नेपालको रितिरिवाज संस्कृति धेरै मिल्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालले गरेको स्वागत मनिषालाई याद छ । तर पछि सीमाको विषयमा दुई देशबीच विमति आयो।

भारतको नयाँ नक्सा सार्वजनिक भएको केही समयमा नै नेपालका प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार अनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेपछि मनिषाले यो कदमको प्रशंसा गरिन् ।

‘मलाई आश लागेको थियो कि नेपालीले आफ्नो कुरालाई आफ्नो भन्न सकेको थियो। झगडा दाजुभाइमा पनि हुन्छ, त्यसलाई झगडा गरेर टुंगाउनु पर्छ भन्ने त हैन। चाँडै समाधान नहोला तर प्रयास गर्नुपर्छ’, मनिषा भन्छिन्, ‘मलाई प्रधानमन्त्रीजीसँग त्यो बेलामा धेरै गर्व लागेको थियो। तर फेरि अर्कै अर्कै खबर आउछन्। उहाँ केका लागि के गर्नुहुन्छ, बुझ्नै सकिँदैन।’

उनी राजनीति ठीक छ, शक्ति अनि पद ठीक छ तर आफ्नो देश र देशबासीको चित्त दुखाउनुहुँदैन भन्छिन्। तर पछिल्लो परिस्थितिले नेपालका राजनीतिज्ञले प्राप्त गरेको राजनीतिक व्यवस्थाको सम्मान नगरिएको देखिएको मनिषाको बुझाइ छ।

भिडियो हेर्नुहोस्:

‘प्रजातन्त्र कसरी ल्याइयो, त्यसको महत्व कसरी बुझिन्छ। जुन मेहनत गरेर, बलिदान दिएर लागिपरेर पाएको कुरालाई महत्व गर्छ, तर मलाई यत्तिकै उपहार दियो भने मलाई त्यसको महत्व हुँदैन’, मनिषा भन्छिन्, ‘अब मान्छेले झुट बोलेर पत्याउँदैन। त्यसैले आफ्नो पदको सम्मान गर्नुहोस्। गणतन्त्र र आफ्नो पदलाई दुरुपयोग नगर्नुहोस्। जसले जिताएका छन्, उनीहरुप्रति आभार हुनपर्‍यो र काम गर्नुपर्‍यो। किनकी मानिसले सरकारबाट धेरै आशा गरेका छन्। म पनि सरकारलाई अझ धेरै सक्रिय देख्न चाहन्छु।’

मनिषा सरकारका समस्याको बारेमा आफू अनविज्ञ रहेको स्वीकार्छिन् तर नागरिकले सरकारबाट आशा राख्न त पाउने बताउँछिन्।

अझ झन विपतकाे बेलामा अभिभावकको भूमिका त झन् धेरै हुन्छ। मनिषाले भूकम्पको समय जतिबेला नेपाली कांग्रेसको सरकार थियो, नागरिकप्रति उत्तरदायी सरकार नभएको महशुस गरेकी थिइन्।

‘मलाई भूकम्पमा लागेको थियो, नागरिकसँग सरकार टाढा भयो कि क्या हो । मान्छेको दु:ख सुखसँग टाढा भएको महशुस भयो’, मनिषा भन्छिन्, ‘न्यूजिल्याण्डको हेड अफ स्टेट हेर्दा हामी किन त्यस्तो गर्न सक्दैनौँ जस्तो लाग्छ। मैले काका सुशील कोइरालालाई भनेको थिए, ‘तपाईँहरु भूकम्पले जसको घर टुटेको छ, उसकोमा रात बिताउनुस् । म पनि जान्छु, मलाई पनि बुझ्न मन छ।’

उनलाई सरकारको अनुपस्थिति सामाजिक विषयवस्तुमा पनि कम लागेको छ । मनिषा नेपाल आएपछि नै धेरै बालिकाहरु बलात्किृत भएको खबरहरु बाहिर आए।

‘मलाई मनुष्य भएको नाताले खबर सुन्दा मन सिरिङ्ग हुन्छ, दु:ख लाग्छ अनि रिस उठ्छ। मलाई हाम्रो देशमा बलियो कानुन नभएको अनुभूति हुन्छ। जब देश नियमन ढंगमा अगाडि बढ्दैन तब नसुनेको खबरहरु आउँछन्। बुढो, सानो शिशुमाथि बलात्कार भएको छ, यो हद भयो’, उनी भन्छिन्, ‘जबसम्म हामी बलियो उदाहरण दिँदैनौँ, जबसम्म अपराधीलाई कानुनको डर हुँदैन। तबसम्म यो अवस्था रहिरहन्छ। तर अहिले ती अपराधीहरु गुण्डाहरु, माफियाहरु नै शक्तिशाली भइरहेका छन्।’

उनको अनुसार यसले नै समाजको अनुशासनलाई तोड्छ। केही उदाहरणीय काम भएकै छैन भने अगाडि अपेक्षा गर्न सकिँदैन।

‘म अनुराधा दिदीसँग कुरा गर्दा अझ डराउँछु। मलाई माफ गर्नुहोस् तर मैले भन्नै पर्छ। हाम्रो देशमा माओवादी सत्तामा आइसकेपछि हामीले जे काम गरे पनि पछि हामी सत्तामा आउन सक्छौँ भन्ने उदाहरण स्थापित भएको छ। यसले कतै न कतै प्रभाव पारेको छ। एउटा छोरी भएर जन्मेपछि आफूलाई कसरी जोगाउने भन्ने जान्नु पर्छ। समाजमा हामी अनौठो किसिमले हुर्किरहेका छौँ, त्यसैले एक्लै नजाउँ। कोहीले नराम्रो भाव छोडिरहेका छन् भने त्यसमा सचेत हौँ’, उनी भन्छिन्।

उनी यस्ता खबर पहिला भारतमा हुँदा थाहा पाउँथिन् । अहिले नेपालमा बस्दा नै थाहा पाउँछिन् अझै बिस्तारमा । अहिले उनलाई फुर्सद पनि छ। कामबाट लामो छुट्टी पाएको बेला हो यो।

हुन त क्यान्सर उपचारको लागि पनि मनिषा लामो समय कामबाट अलग भएकी थिइन्। त्यो बेला स्वास्थ्यको धेरै चिन्ता थियो। अहिले आनन्द लिइरहेकी छन्।

‘म साथीभाइ कामलाई मिस गर्छु त्यो पक्का हो। फोनमा कुराकानी भइरहेको छ। परिस्थिति अनुसार आफूलाई ढाल्न सक्नुपर्ने रहेछ,’ कोइराला भन्छिन्, ‘आफूले सक्ने जति गर्नुपर्छ। र नयाँ नयाँ सीप सिक्न खोजिरहेछु। बगैँचा सुन्दर बनाउन सिकिरहेको छु।’

मनिषाको आमाले उनलाई ‘मेड इन नेपाल’ को नाम दिएकी छन्। त्यसैले नेपालकै माटोमा रमाइरहेकी छन्। घर पछाडिको सानो खाली जग्गामा सिमीका बोट हुर्किँदै थिए। त्यहाँ रायाे सागको विरुवा सारिएको थियो।

उनले भनिन्, ‘म घरलाई सब्जीमा आत्मनिर्भर बनाउने प्रयासमा छु।’

भिडियो हेर्नुहोस्:

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्