दाङ – सारङ्गी रेटेर विरहका गीत गाउँदै हिँड्ने गन्धर्व समुदायको पुर्ख्यौली पेशा हो। केही वर्षअघिसम्म दसैँ तिहारसहित अन्य बेलामा पनि सारङ्गी रेटेर गीत गाइरहेका गन्धर्व समुदायका व्यक्तिहरु गाउँघरमा प्रशस्तै भेटिन्थे।

सारङ्गी रेट्दै मुटु छुने गरी विरहका गीत गाउने र त्यसबाफत मानिसहरुले खुशी भएर दिने खाद्यान्न तथा केही रकम उनीहरुको आम्दानीको श्रोत थियो।

तर अब समय फेरिएको छ। गाउँघर तिर पनि यसरी गीत गाउँदै हिँड्ने गाइनेहरु भेट्न मुश्किल पर्छ। पछिल्लो समय विकास भएको प्रविधि र नयाँ पुस्ताको रुचि कम भएका कारण गन्धर्वहरुको पुर्ख्यौली पेशा संकटमा परेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिकाको  मज्गैस्थित हापुरका रामबहादुर गन्धर्वले सारङ्गी साथ त छाडेका छैनन् तर त्यसको प्रयोगमा केही फरकपन ल्याएका छन् ।

२० वर्षको उमेरदेखि नै सारङ्गी रेट्दै आएका उनी अहिले गाउँघरमा दसैँका बेला मात्रै सारङ्गी बजाउँछन् । काठमाडौँको सतुंगल बस्दै आएका उनी केही दिन अघि मात्रै दाङ पुगेका हुन् ।

काठमाडौँका रेकर्डिङ स्टुडियोहरुमा सारङ्गीको धुन बजाएबाफत एक पटककाे एक हजारसम्म पारिश्रमिक लिने गरेका उनी अहिले गाउँमा घरघरमा पुगेर नवरात्रको धुन सारङ्गीमार्फत सुनाइरहेका छन्।

‘म हरेह वर्ष दसैँका बेला गाउँमा आउने गरेको छु, दसैँका ९ दिनमा मात्रै गाउँघरमा सारङ्गी बजाउँछु’, उनले भने, ‘अरु समय काठमाडौँमै बित्ने गरेको छ।’

सारङ्गीको धुनसँगै जीवन गुजारिरहेका उनले यसैको कमाईबाट तीन छोरी, एक छोरा र श्रीमतीसहित परिवारको खर्च धानिरहेका छन्, छोराछोरीको शिक्षाका लागि पनि खर्चको जोहो भइरहेको उनी बताउँछन् ।

गाउँमा सारङ्गी बजाउने उनका निश्चित घरहरु छन् ।

‘पुर्खाहरुले सारङ्गी बजाउन जाने घरहरुमा म पनि निरन्तर २० वर्षदेखि गइरहेको छु’, उनले भने, ‘कसैले नगद त कसैले खाद्यान्न सहयोग गर्ने गरेका छन्।