म पृथ्वीको एउटा शून्याकाश हुँ

आकाश, अन्तरिक्ष, ‘स्पेस’ शब्दको के अर्थ लगाउनुहुन्छ तपाईँहरुले? हुन त यी शब्दको अर्थ खालि स्थान जनाउने नै हुन्छ।

हुनसक्छ तपाईँको मस्तिष्कमा सूर्य, चन्द्रमा वा अन्य कुनै ग्रह, क्षुद्रग्रह, उल्कापिण्ड रहेको स्थानको सम्झना पो आउँछ क़ि? दिनको समयमा देखिने सूर्य होस् अथवा रात्रिमा देखिने चन्द्रमा लगायत अर्बौंअर्ब तारा-ग्रह-नक्षत्र आदि जेसुकै हुन्, यी समस्त पिण्डहरु आकाशमा नै स्थित छन्। हामीले टेकेको पृथ्वी पनि आकाशमै सौर्य परिवारको नाइके सूर्यको परिक्रमा गर्छ।

आकाशको अर्थ खालि स्थान हो। त्यो खालि स्थान अणुभित्रदेखि लिएर तपाईँले टाउको माथि उठाएर हेर्ने सबै स्थानमा यत्रतत्र सर्वत्र हुन्छ। हातका औँला मजाले जोड्दा तिनका बीचमा पनि आकाश रहेको हुन्छ। तपाईँले हेर्दा एउटा स्याऊ एक ढिक्काको पूर्ण संरचना हुन्छ। तर के तपाईँलाई थाहा छ- स्याऊको संरचनामा रहेका अणुबीच खालि स्थान अर्थात आकाश रहेको हुन्छ। एउटा स्याऊ लिनुस्, त्यसलाई चक्कुले काट्नुस्, के तपाईँले स्याऊका अणु विभाजित गर्नुभयो?

विज्ञान यस कुरामा विश्वास गर्दैन, तपाईँले स्याऊका कुनै पनि अणु काट्न सक्नु हुन्न। स्याऊ काट्दा संयुक्त रहेका अणु परमात्र भएका हुन्। तपाईँले जतिपटक जति मिहीन पाराले स्याऊ काटे पनि प्रत्येक पटक संयुक्त रहेका अणु पर भइरहेका हुन्छन्। चक्कूले स्याऊको अणु काट्न सकिँदैन।

अब अणुकै कुरा गरौँ न! अणुभित्र पनि उत्तिकै खालि स्थान हुन्छ। कुनै पनि अणु ठोस संरचना होइन। तपाईँको प्राकृतिक आँखाले नदेखिने अणुभित्र आकाशरूपी पूर्ण ब्रह्माण्ड नै रहेको हुन्छ। एउटा विशाल क्रिकेट स्टेडियमको दृश्यावली आँखामा ल्याउनुस्। तपाईँ दर्शक दीर्घामा बस्नुभएको छ। खेलमैदानको बीचमा एउटा सर्स्यूको दाना जतिको बल छ। त्यो बल भनेको स्टेडियमरूपी अणुभित्रको न्यूक्लियस, प्रोटोन र न्यूट्रन रूपी संरचना हो। अब एउटा कोरोना भाइरसको चित्र मस्तिष्कमा ल्याउनुस्। यो कोरोना भाइरस यस बलसँग खेल्दै छ, यसको परिक्रमा गर्दै छ। यो भाइरस नै इलेक्ट्रोन हो। स्टेडियमरूपी अणुभित्र अरु बाँकी सबै स्थान खाली अर्थात आकाशका रूपमा रहेको छ। बुझ्नु भयो कति खालि स्थान हुन्छ अणुभित्र! अब यो इलेक्ट्रोनको आफ्नो महिमा हो यो जुन बेला पनि स्टेडियमरूपी अणुभित्र रहेको खालि स्थानमा जहाँ पनि हुन्छ। सबै खालि स्थानमा यसको उपस्थिति रहेको हुन्छ। विज्ञानले सबै कुरा पत्ता लाउन सके पनि अणुभित्र इलेक्ट्रोनको पोजिसन कहाँनिर छ भनेर पत्ता लाउन सक्दैन। किनकि यो अणुभित्र जुन बेला पनि सबै ठाउँमा हुन्छ।

विज्ञानले एउटा अणुको आकार १/१,०००,०००,०००,००० मिटर हुने गरेको पत्ता लाएको छ। यस आकारको एटमभित्र यसभन्दा हज़ारौँ गुना सानो अर्थात १/१०००,०००,०००,०००,००० मिटर आकारको प्रोटोन हुन्छ। र, प्रोटोनभन्दा अर्को १८०० गुना सानो आकारको इलेक्ट्रोन हुन्छ। एकपटक आफू इलेक्ट्रोन भएर कल्पना गरी हेर्नुस्- तपाईँ इलेक्ट्रोनरूपी प्राणीका लागि अणुभित्रको ब्रह्माण्डको आकार कत्रो हुन्छ? र, तपाईले किंचित विराम नगरी यस अणुभित्रको ब्रह्माण्डमा अनवरत परिक्रमा गरिरहनु छ।

गफै त हो नि अझै तन्काउँ… अणुभित्र हुने प्रोटोन र न्यूट्रोन अर्का सूक्ष्म कण क्वार्कबाट मिलेर बनेका हुन्छन्। विभिन्न क्वार्क कण हुन्छन्। प्रोटोन २ वटा ‘अप क्वार्क’ र १ वटा ‘डाउन क्वार्क’ बाट मिलेर बनेको हुन्छ र न्यूट्रोन २ वटा ‘डाउन क्वार्क’ र १ वटा ‘अप क्वार्क’ बाट बनेको हुन्छ। वास्तवमा क्वार्कको आकार के हुन्छ स्पष्ट थाहा छैन तर ‘पार्टिकल फिजिसिस्ट’का अनुसार क्वार्कको आकार प्रोटोन भन्दा २००० गुना सानो हुन्छ। अर्थात एउटा क्वार्क कणको आकार १/१,०००,०००,०००,०००, ०००, ००० मिटर हुन्छ। यस्ता तीनवटा क्वार्क जुटेर प्रोटोन र न्यूट्रोन बनाउँछन्। र क्वार्क विशुद्ध एनर्जीबाट बनेका हुन्छन्, विशुद्ध एनर्जी अर्थात आकाश!

क्वार्कभित्र पनि आकाश अर्थात खालि स्थान क्वार्क जुटेको मध्य पनि खालि स्थान, प्रोटोनभित्र खालि स्थान, अणु भित्र पनि ९९.९९९९९ प्रतिशत खालि स्थान अर्थात आकाश।

एउटा एटम ९९.९९९९९ प्रतिशत रिक्त रहेको हुन्छ तर पनि यसमा केही न केही वजन हुन्छ। यो वजन कहाँबाट आउँछ, केबाट आउँछ, केले गर्दा आउँछ? साँचो कुरा गर्दा यसबारे विज्ञानलाई यकिनसाथ केही थाहा छैन। नयाँ खोज अनुसार ‘अप क्वार्क’ को वजन २.०१ +/-०.१४ मेगाइलेक्ट्रोन-वोल्टस हुन्छ भने, एउटा ‘डाउन क्वार्क’ को वजन ४.७९ +/- ०.१६ मेगाइलेक्ट्रोन-वोल्टस हुन्छ। यहाँ वजनको गणना ग्राममा नभएर ‘मेगाइलेक्ट्रोन वोल्टस’मा भएको छ। अर्थात एनर्जीको तीव्रता नापिएको छ। यूरोपको लार्ज हैड्रन कोलाईडर (LHC) ‘पार्टिकल एक्सिलेटर’मा गरिएको अनुसन्धान अनुसार यो जुन क्वार्कको वजन अर्थात एनर्जीको तीव्रता हो, एउटा प्रोटोनको वजनमा यसको भूमिका जम्मा ०.२१४ % देखि ०.५१० % मात्रै हुन्छ। बाँकी प्रोटोनमा भएको वजन कहाँबाट आयो?

क्वार्क कण रिक्त छन्, ती पुरै खाली स्थान अर्थात आकाशले व्याप्त छन्। क्वार्कबाट मिलेर बनेको प्रोटोन पुरै रिक्त छन्। एटम ९९.९९९९९ प्रतिशत रिक्त अर्थात आकाशको गुणले सम्पन्न छन्। संसारको प्रत्येक कुरा एटमले मिलेर बनेको छ अर्थात ती सबै कुरा ९९.९९९९९ प्रतिशत रिक्त छन् अर्थात तिनमा ९९.९९९९९ प्रतिशत खालि स्थान अर्थात आकाश छ।

प्रोटोन र न्यूट्रोन जुन क्वार्कबाट मिलेर बनेका हुन्छन्, यी क्वार्कमा ‘मास’ हुँदैन। यी विभिन्न वोल्टको एनर्जीकै स्वरुप हुन्। एउटा प्रोटोन अथवा न्यूट्रोनको संरचनामा रहेका अप र डाउन क्वार्कलाई जोड़ने जुन अर्को कण अथवा शक्ति छ यसलाई ‘ग्लुआन’ (gluons) भनिन्छ, यो पनि पुरै ‘मास’ रहित हुन्छ। ‘गॉड पार्टिकल’ अर्थात हिग्स बोसानको खोजले एटममा वजन कहाँबाट आउँछ, पत्ता लाग्न सकेन। अब वैज्ञानिकहरु अनुमान गर्छन्- यो वजन आउने प्रक्रिया क्वार्क कणको काइनेटिक एनर्जी र ग्लुआनको ‘बाइंडिंग’ एनर्जीले गर्दा हो। अर्थात वजनको सारा खेल एनर्जीमा गएर समाहित भयो।

क्वार्क कण रिक्त छन्, ती पुरै खाली स्थान अर्थात आकाशले व्याप्त छन्। क्वार्कबाट मिलेर बनेको प्रोटोन पुरै रिक्त छन्। एटम ९९.९९९९९ प्रतिशत रिक्त अर्थात आकाशको गुणले सम्पन्न छन्। संसारको प्रत्येक कुरा एटमले मिलेर बनेको छ अर्थात ती सबै कुरा ९९.९९९९९ प्रतिशत रिक्त छन् अर्थात तिनमा ९९.९९९९९ प्रतिशत खालि स्थान अर्थात आकाश छ।

भनिन्छ- अध्यात्मको यात्रा अथवा अध्ययनले विषाद, वैराग्य र जगतको शून्यता/निस्सारताबारे बोध गराउँछ। आफू त जन्मेकै विदाको दिन! सबै कुरामा बुझाइ नै उल्टो छ। अध्यात्मले वैराग्य विषाद दिन्छ होला, जगतको निस्सारता बोध गराउँछ होला, मलाई यसमा सन्देह छैन। तर मलाई यो बोध विज्ञान अध्ययनले उपलब्ध गरायो। चाहे म खगोलशास्त्र पढ़ौँ, मानिसको संरचना सम्बन्धी जीनोमशास्त्र पढ़ौँ, चाहे ‘पार्टिकल फिजिक्स’को यात्रा गरौँ, सबैतिरबाट विषाद, वैराग्य र जगतको निस्सारता बोध हुन्छ। मलाई लाग्छ साँचो तंत्र नै विज्ञान हो।

अब विज्ञानले स्पष्ट रूपले प्रमाणित गरिसकेको छ, ब्रह्माण्ड अरु केही नभएर ‘भेवस फक्शन’ (wave function) र क्वान्टम फील्ड्स (quantum fields) मात्रै हो। मेरो लागि यही नै ब्रह्म सत्यम जगत मिथ्या हो।

कहिलेकाहिँ आफूलाई भ्रम हुन्छ, म त महत्वपूर्ण मानिस हो, मेरो संसारमा हुनुको कुनै खास प्रयोजन छ। सबै कुरा छाड़ी ‘सब एटमिक फिजिक्स’ पढ्छु। यसले मलाई मेरो साँचो हैसियतबोध तुरुन्तै गराइदिन्छ। म शून्याकाशबाट कुनै अज्ञात श्रृंखला अंतर्गत बनेका विभिन्न क्वार्क कणको समूह एटम र ती एटमबाट बनेको शून्य ब्रह्माण्डको शून्यताले भरिभराउ पृथ्वीको एउटा शून्याकाश हूँ। तपाईँ आफूलाई ठान्नुस् महत्वपूर्ण व्यक्ति, शक्तिशाली व्यक्ति, राष्ट्रपति, प्रधानमन्त्री, सबैभन्दा श्रेष्ठ, सबैभन्दा धनी, सबैभन्दा बुद्धिमान तर मलाई विज्ञानले मेरो असली हैसियतको बोध सधैँ गराइरहन्छ। विज्ञानको जुन सुकै शाखामा छिरौँ, मलाई विषादकै, वैराग्यकै, जगत निस्सारताकै बोध हुन्छ।

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्