दाङ– लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी जौवा चौधरी ५० वर्षका भए। उनले आँखा देख्दैनन्। उनकी श्रीमती जानकी चौधरी अर्काको घरमा भाँडा माझ्न गएकी छन्।

दसैँमा पनि यो परिवारमा उमङ्ग छैन। अर्काको घरमा काम गरेर साँझ बिहानको छाक जुटाउने मात्रै चिन्ता छ। ‘म आँखा देख्दिन। बुढी काम गर्न गएकी छे’, झजौवाले भने, ‘दसैँ के हो थाहा छैन। एक छाक खाने अन्न छैन। भान्सा रित्तो छ।’

जौवाका छोराछोरी छैनन्। दुईजनाको परिवार पाल्नसमेत गाह्रो छ। ‘यही पानी चुहिने घर छ,’ जौवाले भने, ‘अब त मागेर खानुपर्ने अवस्था आउन थाल्यो। श्रीमती बुढी हुन थाली। काम गर्न सक्दैन। म पनि सक्दैन।’

चाडपर्व आउँदा होस् या नआउँदा उनका लागि हरेक दिन एकैनास हुन्छ।

विपन्न परिवारलाई सहयोग

चाडपर्वको बेलमा समेत मिठोमसिनोको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गरिएको छ। लमही नगरपालिका वडा नम्बर ५ निवासी समाजसेवी सुधा खड्काले जौवा चौधरीसहित १० घर परिवारलाई दाल, चामल, तेल, नुन, विस्कुट सहयोग गरेकी छन्।

‘चाडपर्व सबैका लागि समान हुन्। सबैको भावना एउटै हुन्छ। अहिले कोरोना भाइरसले गर्दा चाडपर्वहरु खल्लो भएको छ। विपन्न परिवारमा खुसी छर्न जरुरी ठानेर सानो सहयोग लिएर घरघरमा पुगेकी हुँ,’ खड्काले भनिन्।

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्