विजयादशमीमा टीका कुन बेला लगाउने, कसरी लगाउने?

काठमाडौँ- दसैँको दसौँ दिन अर्थात विजयादशमी यसपल्ट सोमबार परेको छ।

घटस्थापनाको दिन कलश राखेर जमरा रोपी नौ दिनसम्म गरिएको पूजाआजाको विसर्जन यही दिन गर्ने प्रचलन छ।

त्यस्तै, विजयादशमीका दिन टीका लगाउने गरिन्छ। टीकाको साइत हेरेर पहिलो टीका लगाउनु उपयुक्त हुने विज्ञहरु बताउँछन्। यद्यपि विजयादशमीको दिन जुनसुकै बेला पनि टीका लगाउन मिल्ने विज्ञहरु बताउँछन्। टीका लगाउने तरिका पनि जान्नुपर्ने विज्ञहरु बताउँछन्।

पञ्चाङ्ग निर्णायक समितिका डा. माधव भट्टराईका अनुसार यस वर्ष १० बजेर १९ मिनेटमा टीकाको साइत छ।

त्यसअघि ९ दिनसम्म पूजा गरेको देवीको विर्सजनका लागि १० बजेर ११ मिनेटको साइत उपयुक्त हुने भट्टराई बताउँछन्।

टीकाको दिन चन्द्रमाको अवस्थितिअनुसार लगाइदिने मानिस पूर्व र लगाउने मानिस पश्चिम फर्कनुपर्ने पनि उनी बताउँछन्।

मान्यजनहरुबाट विजयादशमीका दिन मन्त्रसहित टीका थाप्नुपर्छ। टीका लगाउँदा जमरा अनिवार्य मानिन्छ। त्यस्तै, दहीमा मुछेर रङ हालेर चामलको अक्षता लगाउने चलन छ। देवीलाई रातो रङ उपयुक्त हुने पनि भट्टराई बतााउँछन्।

यस्तो छ दसैँमा पढिने मन्त्र:

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

त्यस्तै,  महिलाका लागि यो मन्त्र पनि पढ्ने गरिन्छ:

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

भिडियो पनि हेर्नुहोस्:

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्