परम्परा पछ्याउँदै थारु समुदायले मनाए सामूहिक दसैँ (तस्बिरसहित)

दाङ– लमही नगरपालिका– ६ निवासी घनश्याम चौधरी जमरा, टीका र सुगन (लोकल रक्सी) बोकेर गाउँको मरुवा  (देवताको थान)मा पुगे। गाउँका अगुवाबाट टीका थापे। त्यहाँ चढाएको टीका, जमरा र सगुन बोकेर घर फर्किए।

अनि घरमा रहेको देवताको थानमा चढाउने छन् र घर परिवारमा टीका लगाउन खुल्ला हुनेछ। अझै पनि थारु समुदायमा सामूहिक रुपमा दसैँ मनाउने परम्परा छ। कोराना भाइरसले गर्दा टिका थाप्ने ठाउँमा भिडभाड भने थिएन। पालैपालो आउने र टीका थाप्ने व्यवस्था मिलाइएको लमही नगरपालिका वडा नम्बर ६ का थारु अगुवा केवलप्रसाद चौधरीले जानकारी दिए।

‘कोरोनाले गर्दा त्यति भिडभाड नगर्ने भनेका छौँ,’ उनले भने, ‘घरका मुली मान्छे यहाँ आउने टीका थाप्ने र घर जाने। त्यसपछि घरमा टीका लगाउन खुल्ला हुने पुरानो परस्परा छ।’

गाउँका रामपुजन चौधरीको घरमा गाउँभरीका देवताको थान छ। यस वर्ष उनै रामपुजनले सबैलाई टीका र जमरा लगाइदिएका हुन्।

थारु समुदायमा दसैँलाई पितृको सम्झना गर्ने गरिन्छ। घरमा पूजापाठ गरेर पितृको सम्झना गर्दछन्। पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री, रक्सी चढाउने परम्परा छ।

कात्तिक १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्