सत्ताको नानीदेखि लागेको बानी

हामीले दिनहुँजसो गर्ने व्यवहार वा क्रिया जुन नियमित हुन्छ वा बारम्बार दोहोरिन्छ, सोही क्रिया अवचेतनमा पनि प्रकट हुनुलाई नै बानी भनिन्छ। प्राय: बानि- व्यवहार मानिस ध्यानपूर्वक नभई अविछिन्न गरिरहन्छ किनकि उसले आफ्नो कर्मको समीक्षा गर्दैन। अर्थात्, उसले आत्म- समीक्षा गर्नुपर्ने जरुरी ठान्दैन। कहिलेकाहीं बानी, ठिक वा बेठिक जे भए पनि, अनिवार्य भइदिन्छ।

विलियम जेम्स भन्छन्, ‘हाम्रो सम्पूर्ण जीवन, एक निश्चित रूप भएतापनि , यो बानीहरूको एक पुञ्ज हो।’ हामीले गर्ने हरेक चुनाव, एक विचारित निर्णय प्रक्रियाबाट भए झैँ लाग्छ, तर यो त फगत हाम्रो बानीबाट प्रेरित भएको हुन्छ।

सन् २००६मा  ड्युक विश्वविद्यालयबाट प्रकाशित एक शोधपत्रका अनुसार, मानिसले हरेक दिन गर्ने ४० प्रतिशत भन्दा बढी कर्म वास्तवमा निर्णय हुँदैनन्, यो त् बरु उनीहरुको बानीको परिणाम हुन्छ।

प्राविधिक दृष्टिकोणबाट भन्नु पर्दा, बानी एक छनौट हो, जुन हामी सबैले जानाजानी कुनै बिन्दुमा अपनाउँछौं र त्यसपछि यसको बारेमा सोच्न छाडिदिन्छौँ  तर गर्न जारी राख्छौँ।

पुराना बानीहरु त्यागेर, नयाँ बानी अपनाउन ज्यादै कठिन हुन्छ किनकि बारम्बार उही कार्य गरिरहँदा यसका व्यवहारिक ढाँचा मस्तिस्कमा छापिएर बसेको हुन्छ। परन्तु, पुनरावृत्तिको माध्यमबाट नयाँ बानी बसाल्न  सम्भवचाहिँ छ।

एउटा घटना घट्यो :

वर्षको सुरुवातमै वीर अस्पताल परिसरमा एकजना बिरामी देखा पर्‍यो। उमेरले ७०को आसपास, दुइ- तिहाइ ज्यान भएको, आकांक्षाले अग्लो, सेतो फुलेको  तर बाक्लो सिद्धान्तको कपाल अनि शरीरमा गणतन्त्रको अत्तर लगाएको, जग नै मग-मगाउने गरी।

उसको नाम सत्ता रहेछ। त्यो वीर अस्पतालको गमनमा अर्धाङ्ग कर्मचारीतन्त्रले हातमा समाएर डोहोर्‍याउँदै चिकित्सकको कक्षमा लग्दै गरेको दृश्य थियो।

करिब ३० बर्ष पहिले बहुदलको भर्‍याङमा चिप्लिएर, दलाल- पुँजीवादको भुइँमा पछारिँदा, सत्ताको टाउकोमा गहिरो चोट परेको रहेछ।

यसले गर्दा सत्ताको मस्तिस्कको मध्य भागमा, जसलाई अंग्रेजीमा ‘बेसल गंग्लिया’ भनिन्छ, अतुलनीय क्षति पुर्‍याएको रहेछ। बुझ्नेगरी भन्दा यो भागमा हुने समस्या पार्किन्सन, अलजाइमर जस्ता रोगको कारण पनि बन्न सक्दछ। फलस्वरूप, सत्तालाई घरी बुरुक्क, घरी थचक्क बस्न मन लाग्ने रहेछ। यसको ‘साइड -इफेक्ट’ भोग्नुपर्ने जनतालाई भने छिन्-छिन्मै हाँस्न अनि छिन्-छिन्मै रुन मन लाग्ने रहेछ।

अनि पो त चुनाव अगाडि गरेका भाषण, चुनावपछि बिर्सिने। बिहान गरेका वाचा बेलुका भुल्ने, योजना बनाउने तर कार्यान्वन गर्ने बेला अल्मलिने भएको रहेछ। विचरा जनता पर्खिबसेँ नौलो बिहान आउला भनी, अब उठ्ने पालो हो।

बिर्सिने बानीले कर्मचारीतन्त्र पनि दिक्क मान्छन् रे।  एउटै फाइल दिनमा चार-चोटि माग्यो अनि बारम्बार उही प्रश्न गर्‍यो, यो कताको फाइल हो? पहिला पहिला त एक खेप खाँदा हुन्थ्यो, अहिले त्  छाकमै ४-५ चोटी घुस मागेर हैरान पारिसके भन्छन्। कुशासनको मोटोपना भयो भने ? बिर्सेर हो कि लत लागेको हो ?

ए साँच्चि सत्तालाई यो रोग लागेदेखि! अब – सर वादीहरु एक, वर्ग दुई, सरकार तीन र भ्रष्ट चार हुने गज्जब मौका मिलेको छ।

यसो टहलाउन बाहिर निकाल्यो खालि, सुशासन,समृद्धि र रुपान्तरणको भाषण छाँटेर, जनतालाई मात्र हैन आफैलाई पनि भ्रममा राख्न लालायीत छन्। फेरि भाषण सम्झिदिए त हुन्थ्यो नि, अहिले भन्यो भरे बिर्स्यो।

अरु त अरु भए, आफ्नै जनतालाई पनि नचिन्ने कस्तो रोग लागेछ बरै। मत हाल्ने बेला यी तिम्रा जनता हुन्, यिनीहरुको तिमीले ख्याल राख्नु पर्छ भनेर सम्झायो, मत परिणाम आएको भोलिपल्ट जनतालाई, ‘तिमी को हो?’ भन्छन्।

अझै जनता उपचार आफै गर भन्यो, छाक आफै टार भन्यो, सुरक्षा आफै गर भन्यो, कर चाहिँ बारम्बार माग्यो भन्दै गुनासाको डोको बिसाउँछन्। बिचरा भुलक्कड सत्तालाई!

डाक्टरहरुले पहिला नै जनतालाई सावधान गराएका रहेछन्। उनीहरुले भनेका रहेछन्, ‘सत्ताको बिर्सिने बानी छ, एकदम होसियार रहेर लगातार निरीक्षण गर्नू।’

अब त पहिलाभन्दा अलि सम्झना राख्ने भएका छन्, विस्मृति धेरै समय रहँदैन भनेर कुर्सीमा एक्लै छोडेर आफ्नो नित्य कर्ममा जनता गए। तर एक बिहान दुई -तिहाइको झोला बोकेर किनमेल गर्न बजार हिँडेका सत्ता अझै घर फर्केका छैनन्।

बानीको चरम चक्र :

बहुदलको भर्‍याङमा लड्ने बित्तिकै दलाल शोधकर्ताहरुको समूहले सत्ताको “बेसल गंग्लिया” मा हानि भएको हो कि हैन? अनि “बेसल गंग्लिया” नै बानी विकास गर्ने अभिन्न अंग हो? भन्ने शीर्षकमा बृहत खोज गरेछन्। किनकि उनीहरुलाई जानकारी थियो कि यस्ता प्रकृतिका बिरामीहरु अचानक पहिले सिकेका दर्शन, विचार र क्रान्ति बिर्सिन्छन्।

त्यसपश्चात, उनीहरूले नयाँ सुक्ष्म प्रविधिको प्रयोग गरेर, सत्ताको टाउकोभित्र भइरहेको क्रियाकलाप विस्तारमा अध्ययन गरे। यस निरीक्षणबाट आएको परिणामले उत्साहित हुँदै, उनीहरुले आफूले चाहेको शिलशिला  स्थापना गर्ने निधो गरे। यसको लागि जरुरी थियो, मस्तिस्कमा एउटा नितान्त नयाँ बानीको विकास गर्न।

यस खातिर दलाल शोधकर्ताहरुले सत्ताको मस्तिस्कमा नव- उदारवाद धातुको पातलो डोरो सामिल गराए। पछि सत्तालाई टी-आकृत खुला अर्थतन्त्रको भुलभुलैयामा राखे, जसको एक छेउमा लोकतन्त्रको मिठाइ राखिएको थियो।

भुलभुलैयाको निर्माण यस्तो भयो कि जसमा सत्तालाई  एक बाधाअगाडि  राखियो र त्यो बाधा मात्र विदेशीको इशारामा खुल्ने खालको थियो।

सुरुवातमा, जब सत्ताले विदेशीको इशारा सुन्थ्यो र बाधा हटेको देख्थ्यो, ऊ त्यो भुलभुलैयामा यता-उता भौतारिँदै इनाम ( लोकतन्त्रको मिठाइ) खोज्न थाल्थ्यो। ठ्याक्कै टी-आकृतको टुप्पोमा पुगेपछि, दायाँ- बायाँ गर्न थाल्थ्यो। अन्त्यमा, प्राय सबैचोटी सत्ताले इनाम प्राप्त गर्थ्यो।

यद्यपि लोकतन्त्रको इनाममा बिदेशी स्वार्थको जलप लगाएको सत्ताले पत्तै पाएन। थाहा पाउञ्जेल सत्ताले आफ्नो यस बानीको विकास गरिसकेको थियो। यो सत्ता बानीको चरम चक्रमा अभ्यस्त भइसकेको अवस्था थियो।

यो परीक्षण दलाल शोधकर्ताहरुले लगातार, कहिले एउटा प्रजातिको सत्तामा त कहिले अर्को प्रजातिको सत्तामा, जारी नै राखे। उनीहरुले प्रत्यक सत्ताको मस्तिष्कको गतिविधि परिवर्तन हुन्छ कि हुँदैन भन्ने हेतुले समान मार्गमा सबै सत्तालाई धेरैपटक, अनेक प्रकारले दौडाए।

फलत: एक शृंखला क्रमैसँग देखा पर्न थाल्यो। अब सत्ताहरू छेउ- कुना सुँघ्न छाडे र अलि- अलि बाँकी सत्यको मार्ग पनि त्याग्दै इनामतिर सिधै बढ्ने भए। अब त सत्तालाई पहिलाजस्तो समय पनि नलाग्ने भयो, लत जो बसिसकेको थियो।

यहीबीचमा, सत्ताको मस्तिष्कमा नचिताएको परिणाम देखियो: प्रत्येक सत्ताले भूलभुलैया पार गर्न सिकेसँगै, यिनको मानसिक गतिविधिमा कमी आयो। जति- जति मार्ग स्वचालित हुन थाल्यो, प्रत्येक सत्ता जनताका बारे  कम- कम सोच्न थाले।

यो बानीको बिकास जटिल र अन्योन्यास्रित हुदै गयो। सत्ताको  मार्ग पुरा गर्ने सुरमा महत्वपूर्ण चिज अर्थात जनताको चासो पहिल्याउन सक्ने सामर्थ्यमा ह्रास आउँदै गयो। ऊ बानीको चरम चक्रब्युको पासोमा उठ्नै नसक्ने गरी गाडियो।

असर:

न झाडीमा लुकेका प्रतिगामी सिकारी देख्छ, न परदेशी हावाको दबाबको मतलब गर्छ। बस जे उसको प्रणालीमा स्थापित छ, ऊ त्यही नै गर्छ।

बरु सत्ता निश्चिन्त छ, चिन्तित छैन। उसले कहिले अर्धाङ्ग कर्मचारीतन्त्रलाइ सोधेन कि, “ऊ किन अस्पतालमा छ?”  ऊ अनिश्चितताका बीच ढुक्क छ।

सत्ताले आफ्नो स्मरण गुमाएको लगभग ३० बर्ष भयो। उसलाई नहुनुपर्ने काम भइरहेको जानकारी पनि छ तर ऊ यो अवस्थामा ठिक छ।

बानी मस्तिष्कमा यस्तरी टाँसियो कि सत्ता चाहेर पनि आफूलाई सहयोग गर्न सकिरहेको छैन। बारम्बार त्यही क्रिया गर्ने हुँदा बानी सत्ताको अनुमतिबिना नै प्रकट अनि चिरस्थापित भएको छ।

हामी जनतालाई चाहिँ हानि भइरहँदा, सत्ताको चाहिँ नानीदेखि लागेको बानी भएको छ।

कात्तिक १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्