काठमाडौँ – हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

सोमबार कोरोना संक्रमण पुष्टि भए पनि आफू अघिल्लो बिहीबारदेखि नै होम आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्। उनले आफूमा कडा खालका कुनै लक्षण नरहेको बताएका छन्।

संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने भएकोले सचेत रहन उनको आग्रह छ ।

उनले आफूले छिट्टै कोरोनालाई परास्त गर्ने विश्वास लिएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ’, उनले भनेका छन्।

कात्तिक ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्