चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँग अन्तर्वार्ता

‘कम्तीमा तीन महिना अनुसन्धान गरेरमात्र फिल्म बनाउन आउनुहोला’

काठमाडाैँ – कोरोना महामारीले प्रभाव पारेका धेरै क्षेत्रमध्ये चलचित्र क्षेत्र पनि एक हो।

कोरोना महामारी सुरु भएपछि बन्द भएको चलचित्र क्षेत्र अझै खुलिसकेको छैन। चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र कलाकार संघ लगायत विभिन्न संघ संस्थाहरुले चलचित्र क्षेत्र खोल्नको लागि प्रयास गरि राखे।

यही प्रक्रियामा जोडिएको एक नाम हो चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी। ‘क्रोध’ चलचित्रमा अभिनय गरी चलचित्र क्षेत्रमा आएका अधिकारी निर्देशक, निर्माता भए। पछिल्लो तीन वर्षदेखि चलचित्र निर्माता संघको अध्यक्षको पद सम्हालेका अधिकारीको कार्यकाल सकिनै लागेको छ। एफएनसीसिआईको सदस्य समेत रहेका अधिकारीसँग देशसञ्चारकी सुजाता खत्रीले चलचित्र क्षेत्रमा निर्माताको आर्थिक सुरक्षा र यस क्षेत्रको अन्तराष्ट्रिय व्यवसायिकरणको विषयमा कुराकानी गरेकी छन्।

कोभिड १९ महामारीको अनुभव कस्तो छ?

पहिलो कुरा कोभिड १९ बाट कसरी जोगिने र अरुलाई जोगाउने भन्ने छ र दाेस्रो, यसबाट परेको आर्थिक समस्यालाई कसरी समाधान गर्ने भन्ने हो। मलाई यो समस्याबाट आफू अनि सिंगो चलचित्र क्षेत्रलाई कसरी माथि उचाल्ने भन्ने छ।

पछिल्लो चैतदेखि चलचित्र क्षेत्र बन्द छन्, तपाईँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। चलचित्र क्षेत्रमा लगानी गर्ने र यस क्षेत्रमा आश्रित जनसमुदायको लागि के-के गरिराख्नुभएको छ?

 मैले लकडाउन सुरु भएदेखि नै चलचित्र क्षेत्रको भविष्यका लागि काम गरिरहे। यो वर्षको बजेटमा चलचित्र क्षेत्रलाई बजेटमा समेटियोस् भनेर माग पेश गरेँ। जसमा १७ बुँदे फिचर चलचित्रको लागि छन्, ९ बुँदा चाँही तत्काल कोभिडबाट निम्तिएका समस्या र समाधान के हो । बजेटले धेरै समेटेन ।

मैले आफ्नो देशलाई चिनाउन सक्ने चलचित्रलाई ग्रान्ट दिने व्यवस्थाको लागि माग गरेको थिए, त्यो कुरा पर्‍यो। यसलाई आगामी दिनमा चलचित्र विकास बोर्डले समन्वय गर्छ। हामीले यो क्षेत्र अति प्रभावित हो भनेर राष्ट्रबैंकको मौद्रिक नीतिमा समेट्न पहल गर्‍यौँ। सूचिमा पर्‍यो तर कार्यान्वयन राम्ररी भइसकेको छैन।

अनि सिसिएमसीमा सिनेमा क्षेत्र खोल्न र चलचित्र छायांकनमा जानको लागि अनुमति मागेका छौँ। हामीले डब्लुएचओको मापदण्ड अनुसरण गर्ने र सावधानी अपनाउने मापदण्ड सहित प्रस्तुतिकरण गरिसकेका छौँ।

चलचित्र क्षेत्र अझैँ किन नखुलेका होलान् ?

दुईओटा कुरा हुन्छन्, मनोरञ्जन क्षेत्रलाई राज्यले अहिलेसम्म अति आवश्यकको सूचिमा राखिसकेको छैन। म चलचित्र निर्माता संघको अध्यक्ष भइसकेपछि संघ र चलचित्र क्षेत्रका अन्य संग संगठनको प्रयास अनि नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा राष्ट्रिय मान्यता प्राप्त उद्योगमा आयौँ, त्यो भन्दा अगाडि हामी सेवामूलक उद्योगमा मात्रै थियौँ। राज्यलाई लाग्छ मान्छे यो क्षेत्र नभए पनि बाँच्छ।

तर हामीले ३२ देखि ३४ हजार प्रत्यक्ष श्रमजीविहरु र उनीहरुसँग आश्रितको व्यक्तिका लागि चलचित्र क्षेत्र खोलिदिनुस् भनेर आग्रह गरेका छौँ। हामीले क्रमबद्ध रुपमा लैजाने भनेका छौँ। पहिला छायांकन, दोस्रो एक सिट खाली गरेर हल खोल्नको लागि माग गरिरहेका छौँ।

यातायातमा क्षेत्र पनि जोर बिजोर, एक सिट छोडेर बसिरहेका छन् नि !

हल मालिकहरु यो सर्त मानेर हल खोल्न तयार छन् त ?

सहज त नहोला तर हामीले केही सहुलियतका विषयहरु उठाएका छौँ। जस्तो हल साहुले चलचित्र चलाएबापत निश्चित रुपैयाँ तिर्नैपर्ने भन्ने छ हामीले २ वर्षसम्म विद्युत छुट मागेका छौँ। यस्तै हामीले छायांकनको लागि केही सहुलियत मागेका छौँ। यो बेलामा राज्यले गर्नै पर्छ। नत्र विदेश पलायन हुने अवस्था आउँछ।

हुन न प्रयास गर्नेलाई केहीले छेक्दैन, एउटा तथ्यांकले भन्छ, ‘लकडाउनको अवधिमा नेपालमा ४ हजार म्यूजिक भिडियो सार्वजनिक भयो रे। सिरिज बनेका छन्, सर्ट फिल्म पनि बनेका छन्। यो सँगै हामी डिजिटल प्लेटफर्म पनि खुलेका छन्। यहाँबाट पनि बच्न सक्छौँ।

चलचित्र निर्माता संघमा आउनुहुन्छ भने हामी सल्लाह दिन सक्छौँ। अनि केही व्यवस्था मिलाउन पर्ने छ। सरकारले गर्छु भन्दा पनि उचित नीतिनियम नबनेकोले गर्दा हात बाँधिएको छ। चलचित्र क्षेत्रमा केही विषय अझै गञ्जागोल छन् ।

तपाईँ नै भनिदिनुस् के–के गञ्जागोल छन् ?

हामीसँग चलचित्र निर्माणका लागि २०२६ सालको नीति तथा ऐन छ। त्यो बेला र अहिलेको व्यवस्थालाई हेर्दा पनि त्यसलाई परिवर्तन गर्न जरुरी छ। यसको लागि चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई के के आवश्यकता छ भनेर बुझाइसकेको छ। उहाँहरुले काम गरिराख्नु भएको छ । चाँडै आउँछ होला।

तपाईँको कार्यकाल सकिनै लागेकाे छ, यो समयमा तपाईँले आँटेको सबै पूरा भयो त ?

केही दिर्घकालिन र केही तत्काल नाफाको काम भएको छ। म आएपछि मैले चलचित्रको बिमाको व्यवस्था गरेको छु। बिमा संस्थानमा नीति छैन भनेका थिए, हामीले नेपाल चलचित्र प्राविधिकको सिफारिस हुने बित्तिकै १ प्रतिशत प्रिमियममा बिमा गर्ने व्यवस्था गरेको छु। नत्र ५ प्रतिशत छ।

यस्तै साउथ एसिया फिल्म प्रड्युसर एशोसियसनमा नेपालको प्रतिनिधित्व भएको छ। नेपाली सिनेमा बाहिर देशमा पुर्‍याउन प्रयास भए।

नेपाली चलचित्र क्षेत्र यो वर्षदेखि राष्ट्रिय मान्यत प्राप्त उद्योग भएको छ। चलचित्र भवन र निर्माताबीचमा शेयर बाँडफाँडमा साढे २ प्रतिशत दिने व्यवस्था भएको छ।

निर्माता संघमा तपाईँको कार्यअवधिमा गर्न बाँकी रहेको काम के–के होलान् ?

बाँकीका कुराहरु भनेको चलचित्र क्षेत्रमा जुन निर्मातालाई सहयोग हातहरु हुन्छन् नि, उहाँहरुको क्षमता अभिवृद्धि गर्न सेमिनार गोष्ठि हुन आवश्यक छ। गरणस्तीय चलचित्र बन्नुपर्छ। लगानी गरेर एउटामात्र डुब्ने स्थिति हुन भएन। चलचित्रहरु एकसेएक बन्नुपर्‍यो।

चलचित्र क्षेत्रमा नयाँ लगानीकर्ताको लगानी सुरक्षित छ ?

हामीले नेपाल राष्ट्र बैंकमा चलचित्र बन्ने बजेटको आधा रकम ऋण दिन मिल्ने व्यवस्था बनाउन खोजेका छौँ। हामीले प्रोजेक्ट इन्सुरेन्स भन्ने ल्याएका छौँ।

चलचित्र बनुन्जेलसम्मको लागि यो इन्सुरेन्स हुन्छ। यो सम्भव भएका यदि हामीले ५० लाखको इन्सुरेन्स ल्यायौँ भने ६० लाखको इन्सुरेन्स गर्न मिल्छ । चलचित्र हलबाट जम्मा भएन भने इन्सुरेन्सबाट सुरक्षित हुन्छ। यो व्यवस्था लागू गर्नको लागि प्रयास भइरहेको छ।

त्यसो हो भने निर्माताको पैसा डुब्यो भन्ने समस्या अब समाधान हुन्छ त ?

यो फरक कुरा हो। चलचित्र क्षेत्रमा विश्वासको आधारमा भनेर काम गर्नु हुँदैन। व्यापारका हिसाबले कोही पनि चलचित्र क्षेत्रमा आइराखेको छैन। नत्र भने हिसाब पारदर्शी हुनुपर्छ।

चलचित्र चल्छ भने प्रर्दशन भएपछिको एक सातामा पैसा जम्मा हुन्छन्। त्यही पैसा हलवालाले निर्मातालाई बुझाउने हुन्। हामीले संस्था मार्फत सम्झौता गर्ने व्यवस्था गरेका छौँ, यहाँबाट आएनन् भने डुब्छ।

निर्माता जसले हलबाट पहिला नै एडभान्स लिएका हुन्छन्, उनीहरुको चलचित्र घाटामा गयो भने पनि निर्माताले पैसा फिर्ता नगर्ने गरेको देखिन्छ। कालो र सेतो पन्नामा लेखिनुपर्छ।

निर्माता संघको अन्तर्गत सम्झौता गरिएको छ भने पैसा फिर्ता नआउँदा संघले कारवाही गर्छ। हामीले मध्यस्त गर्ने हो ।

नयाँ लगानीकर्तालाई भित्र आउँन के सुझाव दिनुहुन्छ ?

म सबै नव निर्मातालाई भन्छु कि तपाईँले सानो पसल खोल्न चाहनुभएको छ भने त्यसको लागि केही दिन अनुसन्धान गर्छौँ, बास्तुशास्त्र समेत हेछौँ। तर सिनेमामा लाखौँ करोडौँ लगानी गर्ने बेलामा अनुसन्धान नगर्ने त ?

त्यो लगानीकर्ताको गल्ति हो। हो एउटा चलचित्रले बक्स अफिसमा कति कमायो भनेर देखिने मापदण्ड केही छैन, तर बाटो छ। तपाईँ लगानी गर्दै हुनुहुन्छ भने कम्तीमा ३ महिना अनुसन्धान गर्नुपर्छ। कहिले आफ्नो खल्तीको खर्च गर्ने र कहिले दर्शकको गाेजीबाट झिकेर लिने भन्ने बारेमा चनाखो हुनुपर्छ। हुन त यो बाटो भनेजस्तो सिधा भने छैन।

हाम्रोमा चलचित्र खिचेर ल्याएपछि काम सक्कियो भन्ने मान्यता छ, तर सबैभन्दा धेरै काम पोस्ट प्रडक्सनमा हुन्छ। निर्माताले चलचित्र निर्माणको प्रक्रिया बुझेर आउनुपर्छ। नत्र भने ‘तपाईँ खुवाउन आउनुहुन्छ भने, अरुले खाइदिन्छ।’ किनकी यो क्षेत्रमा लगानीकर्तालाई फसाउने प्रवृतिका व्यक्तिहरु पनि छन्। किनकी यो व्यापार हो। सबै क्षेत्रमा गलत मान्छे हुन्छ। उनीहरुको लागि कानुन छ। तर सबैभन्दा अगाडि सम्झौतामा काम हुनुपर्छ।

अगाडि ?

मैले तिहार पछाडि चलचित्र बनाउने घोषणा गरिसकेको छु। म आफू धेरै पछि अभिनयमा फर्किँदैछु। संस्थामा धेरै समय बस्ने हैन। मलाई राजनीति गरेर अगाडि नेतृत्वमा पुगौँला भन्ने पनि छैन। कलाकारिता क्षेत्रमा नै सँधै लागिरहन चाहन्छु।

बरु ठूला ठूला अवार्डहरु प्राप्त गर्ने ठूलो धोको छ। त्यसको लागि समय दिनुपर्छ। एफएनसिसिआईको माध्यमबाट मैले केही गरेको छुु। अझै अगाडि केही गर्न चाहन्छु। मलाई चलचित्रलाई विदेशमा लैजानु छ।

मेरा केही ड्रिम प्रोजेक्टहरु छन्, मैले लगभग २०५७ देखि अनुसन्धान गर्न थालेको अहिलेसम्म गर्दैछु। बहुपति प्रथाको बारेमा बन्न लागेको छ। मैले आँटेको पुग्यो भने दश वर्षमा आकाश अधिकारीलाई अन्तराष्ट्रिय रुपमा चिनिन्छ।

भिडियो हेर्नुहोस्:

कात्तिक १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्