कोभिड महामारीको साप्ताहिक विश्लेषण (१७ अक्टोबर- २३ अक्टोबर)

काठमाडौँका कोरोना हटस्पटहरु सिल गर्नुपर्छ

संसारमा कुनै पनि रोगको प्रकोप मापन गर्ने विभिन्न तरिकाहरु हुन्छन् जसको आधारमा त्यस रोगसम्बन्धी विविध जानकारी हासिल गर्न सकिने मात्र होइन, त्यस रोगको नियन्त्रण तथा निर्मूलीकरणको लागि पनि विभिन्न उपयोगी योजनाहरु बनाउन सकिन्छ। विश्वमा कोरोनाको प्यान्डेमिकको सुरुवात भएदेखि यसको मापन पनि विभिन्न मापदण्डहरुको आधारमा गरिँदै आएको छ जस्तै संक्रमितको संख्या, संक्रमणको वृद्धिदर, संक्रमणको परीक्षणदर, परीक्षणको जम्मा पोजिटिभ दर आदि। यी मध्ये सबैभन्दा  महत्वपूर्ण मापदण्डमध्ये एक हो परीक्षणको जम्मा पोजिटिभिटी दर (Positivity Rate)। यी सबै मापदण्डहरुको बिस्तृत छलफल तथा विश्लेषण यो सानो लेखको सीमाभित्र पर्दैन। तर त्यसमध्ये केही महत्वपूर्ण मापदण्डहरुको आधारमा नेपालको कोभिड प्यान्डेमिक कुन दिशातिर लम्किरहेको छ र यस प्यान्डेमिकको नियन्त्रणको लागि के गर्नुपर्ला भनी सरल तरिकाले  साप्ताहिक रुपमा सामान्य विश्लेषण गर्नु हो । गएको हप्ता नेपालमा कोभिड प्यान्डेमिकले कस्तो रुप लियो भन्ने विश्लेषण तल प्रस्तुत गरिएको छ।

कुनै  पनि तथ्यांकको विश्लेषण गर्दा केवल संख्या मात्रको कुनै अर्थ हुँदैन, संख्याभन्दा पनि त्यसको दर र अनुपात केलाउने कोशिश गर्नुपर्दछ। त्यस्तै तथ्यांकलाई  केलाउँदा पहिले देखिको एकमुष्ट  डाटा (Cumulative Figure) लाई लिनुभन्दा दैनिक तथ्यांकलाई लिएर गरेको विश्लेषण अझ पारदर्शी र प्रष्ट हुन्छ । यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न स्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्व विद्यालय (John Hopkins University), WHO, ओर्ल्डोमिटर (Worldometer) आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सही रुपमा पस्किनु हो न कि बढाइचौढाइ गर्नु। यस लेखलाई राम्ररी पढी कोरोनाका बारेमा चिन्तन मनन गर्नु जरुरी छ न कि चिन्ता गरी तनावपूर्ण हुनु।

निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो- केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमित केस

यो हरेक दिन नेपालमा देखिएको या देखिने नयाँ संक्रमितहरुको संख्या हो । गएको हप्ताको पहिलोदेखि सातौँ दिनसम्मको नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या यहाँ प्रस्तुत गरिएको छ । गएको हप्ता नेपाल र काठमाडौँ उपत्यकामा नया संक्रमितको संख्या विगतमा जस्तै उच्च स्थानमा कायम रह्यो र प्यान्डेमिक नियन्त्रणको कुनै लक्षण देखिएन । तथ्यांक अनुसार गएको हप्तामा नेपालमा प्यान्डेमिकको क्रमिक वृद्धि चरण (Exponential Phase) निरन्तर रह्यो ।

चित्र न. १ मा देखाइएजस्तै हरेक दिन नेपाल र काठमाडौँ उपत्यकामा नया संक्रमित दैनिक बढ्दै गई औसत मा करीब ३८३९ नयाँ संक्रमित प्रतिदिन देखा परे  जुन त्यसभन्दा पहिलाको हप्ता प्रतिदिन करिब ३६३७ थियो । गएको हप्ता जम्मा २६८७१ नयाँ संक्रमित देखा परे भने त्यसभन्दा पहिलाको हप्ताभरि जम्मा २५४६१ नयाँ संक्रमित देखिएका थिए ।

त्यस्तै बिगत चार हप्ताको नेपाल र काठमाडौँ उपत्यकामा देखिएका जम्मा संक्रमितको औसत अनुपात केलाउने हो भने चित्र नम्बर २ मा देखिएजस्तै सिंगो देशको अनुपातमा काठमाडौँको संक्रमित  पहिलो हप्ता भन्दा दोस्रो हप्तामा धेरै देखियो अर्थात् पहिलो हप्ता काठमाडौँमा मात्र सिंगो देशको ५७.२० % संक्रमित देखियो भने दोस्रो हप्ता करीब ६१.४९%। यो वृद्धि सायद निषेधाज्ञा क्रमसँग खुकुलो भएपछि काठमाडौँमा आउने मानिसहरु धेरै वृद्धि भएर हुन सक्छ। त्यस्तै दोस्रोदेखि चौथो हप्ता अर्थात् गएको हप्तासम्म आइपुग्दा यो अनुपात ६१.४९% बाट घट्दै गई क्रमश ५६.७९% र ५५.४४% मा घट्यो। सायद यसको कारण चाडपर्बको मौसम भएकाले क्रमश मानिसहरु काठमाडौँबाट बाहिर गएर हुन सक्दछ। यसले के पनि देखाउँछ  भने यदि नेपालमा प्यान्डेमिक राम्ररी नियन्त्रण गरिएन भने कोभिड संक्रमण क्रमश: काठमाडौँबाट काठमाडौँबाहिर अन्यत्र सर्दै गई नयाँनयाँ संक्रमण केन्द्र  बन्न सक्दछ । चित्रमा निलो रंगको  बारले नेपालभरिको १००% संक्रमण देखाउँछ भने हरियो रंगको बारले काठमाडौँको प्रतिशत।

दैनिक पोजिटिभिटी दर 

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबै भन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएको मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भनी देखाउँछ। यो एक दर हो अंकमात्र होइन  र यो दैनिक रुपमा (Daily Figure) हिसाब गर्न सकिन्छ नकि सुरु देखिको समग्ररुपमा (Cumulative Figure)  जसले गर्दा प्यान्डेमिक दैनिक कुन अवस्थामा छ भनी विश्लेषण गर्न सकिन्छ । त्यति मात्र नभई यस दरले परीक्षणको मात्रा पर्याप्त छ कि छैन भन्ने पनि देखाउँछ। WHOका अनुसार पोजिटीभिटी ५%भन्दा कम भएमा प्यान्डेमिक राम्ररी नियन्त्रणमा आएको मानिन्छ। यदि ५ भन्दा धेरै भएमा प्यान्डेमिक नियन्त्रण प्रभावकारी नभएको मानिन्छ। यदि पोजिटिभिटी १२%भन्दा धेरै भएमा प्यान्डेमिक निकै कडा, अनियन्त्रित तथा नाजुक भएको भन्ने बुझिन्छ। त्यति मात्र नभई परीक्षणको दर पनि निकै कम भएको बुझिन्छ।

नेपालको गएको हप्ताको दैनिक प्यान्डेमिक पोजिटिभिटी दर पहिलो दिनदेखि सातौँ दिनसम्म चित्र न. ३ मा देखाइएको छ। साताको दोस्रो दिन बाहेक सबै दिनहरुमा पोजिटिभिटी २०% भन्दा धेरै माथि छ र सबैभन्दा उच्च २८.५ %सम्म पुगेको छ जुन अति उच्च पोजिटिभिटी दर हो । त्यसको अर्थ १०० जनामा परीक्षण गरियो भने २८ जनामा पोजिटिभ आउनु हो । दुई हप्ताअघिको पोजिटिभिटी १६.६६% देखि २७.८५% काबीच रही हप्ताको औसत दर २३.०% रह्यो भने गएको हप्ता १९.७८% देखि २८.५% काबीच रही हप्ताको औसत दर  २३.६७% रह्यो।

विश्वका केही देश हरुका गएको हप्ताको औसत पोजिटिभिटी हेर्ने हो भने अमेरिकाको ५.७५%, भारतको ४.५२% र नेपालको २३.७८% रह्यो जसले पनि नेपालको पोजिटिभिटी अत्यधिक छ भन्ने प्रष्ट देखाउँछ।

दैनिक वृद्धि दर 

यो कुनै पनि रोग दैनिक रुपमा कति बढ्दै गएको या घट्दै गएको  छ भनी देखाउने दर हो। यो  दर अघिल्लो दिन भन्दा  + भए बढ्दै गएको र – भए घट्दै गएको भन्ने बुझिन्छ। उदाहरणको लागि यो दर +१% भए अघिल्लो दिन भन्दा सो दिन १%ले बढेछ भन्ने बुझिन्छ। तर यो दर दैनिक देखिएको संक्रमितको संख्यामा मात्र, नकि दैनिक गरिने परीक्षणको मात्रामा,  भर पर्ने हुनाले पोजिटिभिटी दर जत्तिको भर पर्दो हुँदैन। दैनिक गरिने परीक्षणको मात्रा समान भएमा यस दरले अझ सही रुपले वृद्धि दर देखाउँछ। तर नेपालमा हरेक दिन गरिने पिसीआर परीक्षणको मात्रा समान छैन। नेपालको गएको हप्ताको पहिलो दिनदेखि सातौँ दिनसम्मको पछिल्लो औसत वृद्धि दर चित्र न. ४ मा देखाइए जस्तै क्रमश बढ्दै गई प्रत्येक दिन २.२७ % देखि ४.१२% का बीच रही उच्च बिन्दुमा पुगेको देखिन्छ। विभिन्न देशमा गएको हप्ताको पछिल्लो औसत वृद्धि दर हेर्ने हो भने नेपालको ३.०२%, भारतको ०.६९%, अमेरिकाको ०.९२% र विश्वको १.१५% रह्यो। यसबाट पनि वर्तमान अवस्थामा नेपालमा प्यान्डेमिकको असर गहिरो छ भन्ने कुरा स्पष्ट देखिन्छ । प्यान्डेमिक वृद्धि दर १% वा सो भन्दा कम भएमा प्यान्डेमिक केही नियन्त्रण भएको मानिन्छ ।

यस्तो अवस्थामा नेपाल सरकारले प्यान्डेमिकले विश्व र विश्वका अरु देशहरुलाई कसरी असर पारेको छ राम्ररी अध्ययन गरी त्यही अनुसार नियन्त्रणका उपायहरु अपनाउनु पर्ने देखिन्छ । WHOका अनुसार एक जना नयाँ संक्रमित देखिएमा त्यस वरिपरिका करीब १० देखि ३० जनाको परीक्षण गर्नु पर्दछ जसलाई मास ट्रेसिङ (Mass Tracing)  भनिन्छ । नेपालमा मास ट्रेसिङ कति भएको छ त्यसको जानकारी छैन। एक अपुष्ट रिपोर्टका अनुसार नेपालमा यो दर २-३ भन्दा धेरै छैन । त्यस्तै हाल काठमाडौँ उपत्यका कोभिड प्यान्डेमिकको केन्द्र बन्दै गएको अवस्थामा काठमाडौँभित्र कोरोना हट स्पट (Hot Spot) पत्ता लगाई त्यस क्षेत्रहरुलाई सिल गरी कडाइका साथ क्वारेन्टाइनमा (Quarantine) राख्नु पर्दछ। अहिले नेपाल सरकारले भारतको नक्कल गर्दै त्यहाँ जे जे गर्‍यो, जे जे खोल्यो त्यही त्यही खोल्दै गइरहेको छ। त्यसरी नक्कल मात्र गरेर हुँदैन। आफ्नो समस्या आफ्नै ज्ञान, शिप, अध्ययन र अनुभवको आधारमा गर्दै जानु पर्दछ।

(डा. श्रेष्ठ कन्सल्टेन्ट न्यूरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)

कात्तिक १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्