ओलीद्वारा प्रचण्डलाई फकाउने प्रयास तीव्र, तर प्रचण्ड भन्छन्,‘अब झुक्दिनँ’

फाइल तस्बिर।

काठमाडौँ – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका निर्णयहरु एकपछि अर्को गर्दै उल्लंघन गरेपछि असन्तुष्ट बनेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उत्पन्न संवादहिनताको अवस्थालाई तोड्न कसरत तीव्र  पारेका छन्।

तर प्रचण्ड सचिवालय स्रोतका अनुसार प्रचण्ड भने पहिल्यै जस्तै हतारमा अब बालुवाटार पुगेर ओलीसँग एक्लै सम्झौता गर्ने पक्षमा छैनन्। अर्थात प्रचण्डले अब ओलीसँग नझुक्ने मनस्थिति बनाएका छन्।

ओलीबाट पटक–पटक पार्टी निर्णय उल्लंघन भइरहने र आफू उल्टै बालुवाटार धाएर उनीसँग सम्झौता गरेर विवादमा तानिन प्रचण्डले नचाहेको उनको सचिवालय स्रोत बताउँछ।

ओलीले ४ कार्तिकपछि आफूसँग प्रत्यक्ष संवाद नगरेका प्रचण्डलाई छलफलका लागि आउन आग्रह गर्दै यो बीचमा ६ पटक फोन गरिसकेका छन्।

तर प्रचण्डले ओलीबाट पार्टी निर्णयहरु उल्लंघन गर्ने कार्य बन्द र हालसम्म एकलौटीढंगबाट गरिएका कामकारवाही र निर्णयहरु फिर्ता भएपछि मात्रै उनीसँग छलफलका लागि बस्ने जबाफ दिएका थिए।

केही सिप नलागेपछि ओलीले हिजो बुधबार आफ्ना विश्वासपात्र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई आफ्ना विशेष दूतकारुपमा प्रचण्डलाई फकाउन खुमलटार पठाएका थिए।

पौडेल र नेम्वाङलाई पनि सोही किसिमको जबाफ दिएर प्रचण्डले पठाएको बुझिएको छ।

‘पार्टीमा भएको निर्णय इमान्दारितापूर्वक कार्यान्वयन गरेर अघि बढ्नु पर्‍याे । ओली यसमा फेरि पनि चुक्नु भयो। सहमति कार्यान्वयनका लागि मेरो ठाउँबाट भरपुर पहल र पर्यत्न गरेकै छु। जति गर्दा पनि नलागेपछि के गर्ने? मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन, पर्सा हत्या काण्डलगायत विषयमा स्पष्ट धारणा चाहिन्छ,’प्रचण्डको भनाई उद्धृत गर्दै उनको सचिवालय स्रोत भन्छ।

तर नेता नेम्वाङले पछिल्लो समय दुई अध्यक्षबीच केही विषयमा ‘मिस अन्डरस्ट्यानिङ’ भएको, संवादका लागि दुवै जना तयार भइरहेका बेला नेता जर्नादन शर्मालाई कोरोना संक्रमण देखिएको र प्रचण्ड पनि आइसोलसनमा बसेका कारण रोकिएको संवाद बुधबारबाट सुरु भएको बताउँछन्। प्रचण्ड निवासमा डिनर खाएको केही दिनपछि शर्मामा कोरोना संक्रमण पुष्टी भएको थियो।

नेम्वाङ आफूले एकपछि अर्को गर्दै दुवै अध्यक्षलाई भेटेको र त्यसबाट संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको निष्कर्षसमेत सुनाउँछन्।

उनी भन्छन्,‘मैले दुवै अध्यक्षलाई भेटेँ। असहमतिलाई टुंग्याउन सकिने तर त्यसका लागि छलफल र संवाद नै मुख्य माध्यम भएकाले त्यसतर्फ अघि बढ्नु पर्ने सुझाव दुबै अध्यक्षसमक्ष राखेको छु। उहाँहरु सकारामत्क हुनुहुन्छ। केही दिनमै उहाँहरुबीच भेटघाट हुनेमा म आशावादी छु,’ नेम्वाङले देशसञ्चारसँग भने।

नेम्वाङका अनुसार प्रचण्डले मन्त्रीपरिषद् हेरफेर, कर्णाली विवादलगायत विषयमा आफ्ना केही असहमति रहेको सुनाएका थिए। तर बाहिर आएजस्तो प्रचण्डले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्रीसँगको भेटलाई लिएर आफूसँग कुनै असन्तुष्टि नपोखेको दाबी गर्छन्।

तर प्रचण्डले प्रधानमन्त्री ओली र गोयलबीचको भेटलाई कुटनीतिक मर्यादाविपरीत र मुलुकको सार्वभौमसत्तामाथि प्रहारको रुपमा लिएको उनको सचिवालय स्रोतले कार्तिक ६ गते नै भनेको थियो।

कार्तिक ५ गते राती प्रधानमन्त्री ओलीले गोयललाई बालुवाटारमा करिव २ घण्टा भेटेका थिए। त्यसलाई लिएर व्यापक विरोध भएपनि ओली निकट मन्त्रीहरुले त्यसको बचाउ गरिरहेका छन्। उनीहरुले गोयल संवादका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएर प्रधानमन्त्री ओलीलाई भेटेको भन्दै विरोधको खण्डन गर्दै आएका छन्।

‘अरु विषयसँगै गोयलले प्रधानमन्त्रीलगायत नेताहरुलाई भेटेको मामिालामा असहमति नै छ। तर अरुले जसरी सार्वजनिक रुपमा बोल्न मिल्ने अवस्था अहिले छैन। अब बैठकमै आधिकारिकरुपमै बिरोध गर्ने हो,’प्रचण्डको भनाई उद्धृत गर्दै उनको सचिवालय स्रोत भन्छ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउने प्रयासँगै आफूसँग असन्तुष्ट अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि संवादको हात अघि बढाएका छन्।

उनले दसैँको भोलिपल्ट मगंलबार नेपाललाई बालुवाटार बोलाएर करिव १ घण्टा छलफल गरेको नेपाल निकट एक नेता बताउँछन्।

तर ओली र नेपालबीचको छलफलले कुनै ठोष रुप नलिएको ति नेताको भनाई छ। पार्टी निर्णयहरुलाई पटक–पटक उल्लंघन गर्ने प्रवृत्ति ओलीमा झाँगिएपछि प्रचण्डजस्तै नेपाल पनि उनीसँग असन्तुष्ट छन्।

यसअघि ओलीले मन्त्रिपरिषद् हेरफेर र कर्णाली विवादलाई लिएर प्रचण्डसँग असमझदारी कायमै रहेका बेला ओलीले कार्तिक ४ गते दिउँसो नेपालसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका थिए। त्यसअघि ओली र नेपालले गत साउन ९ गते मध्यरातमा भेटेका थिए।

एकलौटी कार्यशैली, पार्टी निर्णय उल्लंघनको निरन्तरता दिँदै आएका ओलीले गत असार १४ गते आफूलाई हटाउन भारतीय पक्ष जुटेको आरोप लगाएपछि उनी पाटीभित्र पुनः अल्पमतमा परेका थिए।

प्रचण्डलगायत नेताहरुले ओलीले दुवै पदबाट राजीनामा गर्नुपर्ने माग चर्कोरुपमा उठेको थियो । खासगरी कार्यविभाजनलाई लिएर ओली र दाहालको कटुता झाँगिएपछि पार्टी विभाजनको डिलमै पुगेपछि ३० साउन समस्या समाधान सुझाव कार्यदल गठन गरिएको थियो।

कार्यदलले ओली र दाहालको कार्यविभाजनसहित प्रतिवेदन तयार पारी भदौ ६ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। त्यसलाई परिमार्जन गरी २५ भदौँको स्थायी कमिटी बैठकले पारित गरेसँगै नेकपामा युद्धविराम भएको थियो।

तर त्यसको एक महिना नपुग्दै ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत असोज १५ गते राजदूतहरु नियुक्त गरेका थिए।

त्यसको १० दिनपछि प्रचण्ड निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षका ८ जना, नेपाल पक्षका ७ जना र प्रचण्ड पक्षका ३ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उक्त विवादको असर ओली र दाहालमा परेको थियो।

विवाद यथावत राखी छलफलका लागि काठमाडौँ आउन दुवै पक्षका नेताहरुलाई ओली र दाहालले संयुक्तरुपमा लिखित निर्देशन दिएका थिए। कर्णालीका नेताहरुलाई दुवै अध्यक्षसँग बसेर छलपल गरी समस्या समाधान गर्ने सूचना दिइएको थियो।

तर कर्णालीका नेताहरु काठमाडौँ आइनपुग्दै ओलीले असोज २८ गते आफूखुशी मन्त्रिपरिषद्मा हेरफेर, नियुक्ति र कार्यविभाजन गरेपछि आक्रोशित बनेका प्रचण्ड कर्णालीका नेताहरुसँग छलफल गर्दा ओलीसँगै बसेनन्।

दुई अध्यक्षको मनमुटावका कारण कर्णालीका नेताहरुले दुई अध्यक्षसँग फरक फरक दिन छुट्टछुट्टै बसेर आफ्ना गुनासा पोखेका थिए। अन्ततः ओली र दाहालले कर्णाली विवाद समाधान सहमतिमा गर्नुको साटो छुट्टा छुटटै प्रेस नोट र निर्देशन जारी गरेर आफूहरुबीचको मतभिन्नता छताछुल्ल पारेका थिए।

यो बीचमा ओलीपक्षका नेताहरुको आक्रमणबाट नेकपा पर्सा विन्दवासिनी गाउँपालिका कमिटी सचिव उमेश चौरसियाको मृत्यु भएको भन्दै त्यसमा संलग्न दोषीमाथि कारवाहीको माग दाहालले ओली नेतृत्वको सरकारसँग सार्वजनिक रुपमै गरेका छन्।

प्रचण्डले हत्याकाविरुद्ध प्रहरीले जाहेरीसमेत दर्ता नगर्नु बिडम्बना भएको बताएका छन्।

नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘यी सबै विषयबारे ओलीको धारणा अब कस्तो आउँछ त्यो सुन्ने प्रतिक्षामा प्रचण्ड हुनुहुन्छ। तर त्यो भन्दा पहिले प्रचण्डले ओलीलाई आफ्ना गल्ति सच्चाउने मौका दिनुहुन्छ या ओलीविरुद्धको पुरानै गठबन्दनलाई बलियो बनाउनुहुन्छ त्यो एकदुई दिनमा थाहा होला।’

 

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्