कोरोना संक्रमितको उपचारमा जिम्मेवार बन्न सरकारलाई आग्रह

विराटनगर – कोरोना भाइरस कोभिड १९ संक्रमणको उपचारमा सरकार जिम्मेवार ढंगबाट प्रस्तुत हुन नसकेकोमा नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले आपत्ति जनाएको छ ।

कार्यसमितिले विराटनगरमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा कार्यवहाक सभापति अरुण न्यौपानेले कोरोना संक्रमित बिरामीको उपचारमा नीजि क्षेत्रका अस्पतालहरुले चर्को शुल्क लिइरहेको आरोप लगाए।

न्यौपानेले सरकारले नीजि क्षेत्रका अस्पताललाई संक्रमित बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको रकम नदिने घोषणा गरेपछि जनतामा थप आर्थिक भार बढेको बताए ।

उपचारका नाममा अत्याधिक रकम असुल्दै आएको आरोप लगाएका न्यौपानेले सरकारको गैह्र जिम्मेवार उपस्थितिले जनताको स्वास्थ्य उपचार गर्ने नैसर्गिक अधिकारमा समेत हनन् भएको बताए ।

हाल कोभिड संक्रमतिको उपचारका लागि नीजि अस्पताल भर्ना हुनुपर्दा घरबार जायजेथा सबै बिक्री गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

अस्पतालमा ३ देखि ४ लाख उपचार भर्ना शुल्क लिन थालेको बताएका न्यौपानेले संक्रमितका परिवारले बिरामी उपचारका क्रममा दैनिक आइसियूमा ३५ हजार, भेन्टिलेटरमा ५० हजारसहित विभिन्न शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए ।

केन्द्र र प्रदेश सरकार जनताको स्वास्थ्यमा गम्भीर हुन नसकेको बताउँदै उनले महँगो उपचार खर्च र स्वास्थ्य उपचारका अभावमा जनताले घरमै मृत्युवरण गर्नु परिरहेको गुनासो गरे।

भर्ना हुने बेला बिरामीसँग अग्रिम शुल्क माग गर्ने अस्पताललाई कार्वाही गर्न माग पनि गरिएको छ । त्यसैगरि, नीजि अस्पताल तथा शिक्षण अस्पतालहरुमा लिइने अत्याधिक महँगो शुल्क घटाउन समेत माग गरिएको महानगर कार्यसमितिका सचिव प्रकाश दाहालले बताए।

अर्कोतर्फ कोभिड १९ बिरामीको उपचारमा लापार्वाही भइरहेको गुनासो बढिरहेकोले कोभिड अस्पताल तथा शिक्षण अस्पतालहको नियमित रुपमा अनुमगन तथा निरीक्षण गर्न माग गरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्