गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन

भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ। पटेलको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहीबार विहान उनलाई सास फेर्न गाह्रो भएपछि अहमदावादको एक अस्पताल लगिएको थियो। उनको अस्पतालमै निधन भएको हो।

उनलाई केही समयअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनी कोरोनामुक्त भइसकेका थिए।

सन् १९९५ मा र सन् १९९८ देखि २००१ सम्म पटेल गुजरातको मुख्यमन्त्री बनेका थिए। ६ पटक गुजरात विधानसभा सदस्य बनेका उनले सन् २०१२ मा भारतीय जनता पार्टी (भाजपा) छोडेका थिए। उनले भाजपा छोडेपछि ‘गुजरात परिवर्तन पार्टी’ बनाएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटेलको निधनप्रति दुःख व्यक्त गरका छन्।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्