भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालयको पत्र

एक साताअघि सार्वजनिक गरेको र्‍यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ।

भिटेनले एक साताअघि सार्वजनिक गरेको ‘पारा’ शीर्षकको भिडियो अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको हो।

साइबर ब्युरोका प्रमुख एसएसपी नबिन्द अर्यालले देशसञ्चारसँग कुरा गर्दै प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भइसकेकाले त्यसमा कारबाही गर्न प्रक्रिया सुरु गरिसकेको जानकारी दिए।

‘पत्र प्राप्त भएको छ। हामी त्यो भिडियो र अश्लील शब्दबारे छानबिन गर्दैछौँ,’  उनले भने।

गत वर्ष पनि उनको एउटा र्‍यापका कारण अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको थियो।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्