मेयरकै अगाडि सांघातिक आक्रमण, तीनजना घाइते

घाइतेहरु।

जनकपुरधाम– महोत्तरीको मटिहानी नगरपालिकाका मेयरकै संलग्नतामा सांघातिक आक्रमण गराइएको घटना बाहिरिएको छ। उक्त आक्रमणमा परी तीनजना घाइतेसमेत भएका छन्।

मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजयादशमीका राति भएको सो सांघातिक आक्रमणमा परी तीनजना घाइते भएका हुन्।

घाइते हुनेहरुमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका नेकपाका प्रत्यासी मटिहानी नगरपालिका वडा नम्बर ८ का ५७ वर्षिय विजय चौधरी, मटिहानी नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय जितेन्द्र चौधरी र मटिहानी नगरपालिका वडा नम्बर ७ का ५३ वर्षीय गणेश प्रसाद साह रहेका छन्।

घाइते भएकाहरु मध्ये विजय चौधरी दुई दिनको उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भीर रहेकोले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गत कार्तिक १० गते विजया दशमीका राति मटिहानी नगरपालिका वडा नम्बर ७ स्थित दुई पक्षबीच विवाद भएको थियो। विवाद उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली  पुगेको थियो। प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीयहरुले बताएका छन्। लाठीचार्जमा परी दूबै पक्षका केही घाइते भएको स्थानीयले बताए पनि प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ।

घाइते मध्येका एक विजय चौधरी दुई दिनको उपचारपछि घर फर्किसकेका छन्। उनका अनुसार नगर प्रमुख हरि मण्डलकै उपस्थिति तथा प्रत्यक्ष संलग्नतामा यो सबै घटना भएको आरोप लगाएका छन्।

चौधरीले नगरप्रमुख मण्डल पक्षधर र अर्को गुटबीच विजय दशमीका राति ९ बजे भएको विवादको क्रममा प्रहरीको लाठीचार्जमा परी दुबै पक्षबाट केही व्यक्ति घाइते भएको बताए।

उनले भने, ‘घाइते भएका व्यक्तिहरुलाई सान्त्वना दिन सोही राति साढे १० बजे पुगेको थिएँ, फर्किँदै गर्दा हामीमाथि नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो।’

उनले अगाडी भने, ‘घटनास्थलबाट घर फर्किँदै गर्दा नगर प्रमुखसहित २०/२५ जनाको समूहमा गाडीबाट आएर एकाएक गालामा थप्पड लगाए। शैलेन्द्र मण्डल भन्ने व्यक्तिले मेरो घाँटीमा छुरा प्रहार गरे।’

छुरा घाँटीको छेउमा मात्रै लागेकोले आफू बाँचेको उनले बताए। बाँकी दुईजनाको शरीरमा छुरा प्रहार भएकोले उनीहरु सिकिस्त रहेको चौधरीले बताए।

नगरप्रमुखसँग कुनै व्यक्तिगत रिसइबी थियो कि? प्रश्नमा चौधरीले आफू राजनीतिक व्यक्ति भएकोले कुनै पनि प्रकारको व्यक्तिगत रिसइबी नरहेको बताए। तर केही दिनयता नगरमा भएको विकास तथा कामहरुको प्रगतिबारे वडा–वडामा गएर जागरण अभियान चलाएकोले नगर प्रमुखको मनमा डरले घर बनाएको हुनसक्ने भएकोले गुण्डा लगाएर आक्रमण गराएको उनको आरोप छ।

तर सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको नगर प्रमुख मण्डलले दावी गरे। उनले आफ्नो पक्ष र अर्को पक्षबीच विवाद भएको स्वीकार गर्दै घटनामा कुनै संलग्नता नरहेको बताए।

‘नगरमा भएको सो घटनामा आफ्नो संलग्नता नरहे पनि विपक्षीहरु राजनीतिक प्रतिशोधका कारण आफ्नो नाम उचालिरहेका छन्।’ उनले भने, ‘उल्टै मेरै पक्षका ६ जना घाइते भएका छन्, अनि मेरै उपस्थितिमा सांघातिक आक्रमण गराइएको भन्नु हास्यास्पद रहेको छ।’

नगर प्रमुख मण्डलले दुई पक्षबीच हात हालाहाल मात्रै भएको तर छुरा प्रहार भएको कुरोमा कुनै सत्यता नरहेको दावी गरे।

उनले भने, ‘सांघातिक आक्रमण भएको कुरो झुठो छ, घटनामा न मेरो उपस्थिति छ, न कसैमाथि छुरा प्रहार नै भएको छ।’

सो घटनाको ढाकछोप गर्न प्रहरी नै सक्रिय भएको स्थानीयको आरोप छ। विवाद मिलाउने क्रममा केही प्रहरीहरु नै घाइते भएको कुरो बाहिरिए पनि प्रहरीले भने त्यसबारे बोल्न चाहेन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीसँग घटनाबारे जानकारी लिन खोज्दा घटनाबारे अनुसन्धान भइरहेको बताए।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्