विगतमा जस्तो छैन दसैँपछि काठमाडौँ फर्किनेको संख्या

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकाल।

काठमाडौँ– गत वर्षको दसैँको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ। कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दसैँ तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो।

गत वर्ष दसैँअघि उपत्यकाबाट ११/१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यकाबाट बाहिरिएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष एक लाखले मात्रै उपत्यका छोडेका छन्। लकडाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दसैँ तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उनले बताए।

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भिड नभएको पनि उनले बताए।

ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोरबिजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भिडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारवाही गरिरहेको जनाएको छ। दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरुमा तोकिएभन्दा बढी भाडा लिए/नलिएको अनुगमन गरिरहेको उनले बताए।

अहिलेसम्म बढी भाडा लिने २ सय १५ वटा सर्वाजनिक सवारीलाई कारवाही गरिएको पनि उनले बताए।

ट्राफिक व्यवस्थापनसँगै सर्वसाधारणलाई कोभिडबाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ। उपत्यकामा ६६ ठाउँमा नियमित रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाई गरिएको प्रमुख ढकालले बताए।

दसैँको अवधिमा ३ हजार १ सय १५ सवारी चालकलाई कारवाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दसैँको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताए।

गत वर्ष दसैँ अवधिमा ४ सय ३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३ सय २० वटा दुर्घटना भएका छन्। लकडाउन अघि यो वर्ष दुर्घटनामा परी १ सय ४ जनाले ज्यान गुमाएकालेमा लकडाउनपछिको अवस्थामा ६४ जनाको निधन भएको छ। सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमि आएको उनले बताए।

 

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्