दसैँपछि काठमाडौँमा कोरोना संक्रमण बढ्ने चिन्ता

‘हाइ डिपेन्डेन्सी युनिट धमाधम बढाइरहेका छौँ’

काठमाडौँ– दसैँ मनाएर फर्कनेहरुबाट काठमाडौँ उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन गरिएको छ।

यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समुदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनु पर्ने बताएका छन्।

दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका आउनेहरु संख्या बढेको छ। उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो। विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ।

सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरुमा अझ बढी संक्रमण हुनसक्ने सम्भावना पनि छ। यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए।

हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए। यसैले व्यक्ति स्वयंले पनि काठमाडौँ फर्किसकेपछि कम्तिमा एक हप्ता क्वारेन्टिनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दसैँमा घरबाट फर्किएर काठमाडौँ आउनेहरुबाट संक्रमण फैलनेभन्दा उपत्यकाभित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए। गाउँभन्दा काठमाडौँ उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए।

काठमाडौँमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दूरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ। जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनु पर्ने उनको भनाइ छ। जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घर भित्रै पनि अनिवार्य मास्क लगाउनु पर्नेमा उनले जोड दिए। आफू बाहेक अरु सबै संक्रमित छन् भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ।

यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए। जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघाखोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाइ छ।

युरोपियन मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई हेरेर पनि सरकार र जनताले सतर्कता अपनाउनु पर्ने विज्ञहरुको भनाइ छ।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्