कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बढेको तिक्तता हटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका योद्धाहरुलाई प्रदेशबाट झिकाएका छन्।

असहमतिका विषयहरुको चाङ लाग्न थालेपछि विगत ९ दिनयता आफूसँग प्रत्यक्ष संवाद नगरेका प्रचण्डलाई मनाएर पुरानै अवस्थामा फर्काउन ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काठमाडौँ झिकाई वार्ताका लागि परिचालनसमेत गरेका छन्।

ओली आफैले फोनमार्फत छलफलका लागि बालुवाटार आउन पटकपटक गरेको आग्रह अस्वीकार गरेका प्रचण्डलाई मनाउन उनले आफ्ना विश्वास पात्रहरुलाई पहिलेझैँ यसपालि काठमाडौँ बोलाएर खटाएका हुन्।

मुख्यमन्त्री पोखरेल यसअघिको ओली र प्रचण्डबीचको विवाद मिलाउन साउन ३० गते गठित महासचिव विष्णु पौडेलेको संयोजकत्वको ‘समस्या समाधान सुझाव कार्यदल’मासमेत सामेल थिए।

पौडेल र पोखरेलले ओलीकातर्फबाट प्रचण्ड पक्षका तर्फबाट कार्यदलमा सामेल जनार्दन शर्मा र पम्फा भुसाल, अर्का नेता माधवकुमार नेपालका तर्फबाट सामेल भीम रावल र सुरेन्द्र पाण्डेसँग लगातार छलफल गरी सहमति बिन्दु पहिचान गरेका थिए।

००

नेकपा उच्च स्रोतका अनुसार बिहीबार नेता पोखरेल ओलीको विशेष दूतकारुपमा प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई मनाउने प्रयास गरेका छन्। त्यसक्रममा पोखरेलले पार्टीको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नै गरेर अघि बढ्न ओली तयार रहेको प्रचण्डलाई बताएका थिए।

तर प्रचण्डले भने पार्टीका निर्णय एकपछि अर्को गर्दै ओलीले उल्लंंघन गर्दा आफू र आफनो सिंगो पार्टीलाई अपमान महशुस भएको पोखरेलसमक्ष राखेका थिए।

‘ओलीकोे एकलौटी निर्णय गर्ने र पार्टीभित्र भएका निर्णय उल्लंघनको कार्यशैली फेरि दाहोरियो। पटकपटक उहाँ चुक्नु भयो। अब आफ्ना गल्तीको पहिचान उहाँ आफैले गर्नुपर्ने हुन्छ। अनि मात्रै छलफल अघि बढ्ला’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने।

यता प्रचण्डसँगको लामो छलफलपछि उनको सन्देश बोकेर पोखरेल प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबार हानिएका थिए जहाँ पोखरेल, अर्का मुख्यमन्त्री गुरुङ, उपप्रधामन्त्री ईश्वर पोखरेललगायत नेताहरु र प्रधानमन्त्रीका सल्लाहकारहरुहरुले ओली र प्रचण्डलाई मिलाउने उपायहरुमाथि छलफल गरेका थिए।

छलफलमा सामेल एक नेताका अनुसार आन्तरिक समीक्षामा ओली र प्रचण्ड दुबैका ससाना गल्तीका कारण पार्टीमा पुनः गम्भीर समस्या उत्पन्न भएको र यसको बेलैमा समस्या समाधान नगरिए पार्टी विभाजन हुने निश्चित भएको निष्कर्ष निकालिएको थियो।

‘ओली र दाहालबीच तत्काल वार्ता अघि बढाउन आवश्यक छ। वार्ता अघि नबढेको खण्डमा षड्यन्त्रका अनेक तानाबाना बुनेर पार्टी एकता भाड्ने काम हुनेछ। यसको संवाद नै एक मात्र विकल्प हो,’ छलफलमा सहभागि एक नेताले भने।

आन्तरिक समीक्षामा उनीहरुले प्रचण्डलाई मनाउन सबैभन्दा पहिले उनको चाहना अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनु पर्ने सुझाव बालुवाटारलाई दिन उपयुक्त हुने निष्कर्षसमेत निकालेका छन्।

उनले भने, ‘पछिल्लो पटक ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर तिक्तता बढेको हो। त्यसपछि अन्य विषय थपिए। अब प्रचण्डको इच्छा अनुसार मन्त्रीमण्डलमा हेरफेर गरेमा प्रचण्ड मान्नुहुन्छ भन्नेमा हामीलाई विश्वास छ।’

तर ती नेताका अनुसार पछिल्लो पटक ओलीले प्रचण्डकै सहमतिमा आफ्नो मन्त्रिमण्डलमा तीन नयाँ सदस्य थपेको दाबी गरे।

कर्णाली विवाद चर्किरहेका बेला ओलीले असोज २८ गते लामो समय रिक्त अर्थमन्त्रीमा आफ्ना विश्वास पात्र विष्णु पौडेललाई नियुक्त गरेका थिए भने कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिला श्रेष्ठलाई महिला मन्त्री बनाएका थिए। तर प्रचण्ड पक्षले त्यसमा आफ्नो असहमति रहेको बताउँदै आएको छ।

प्रचण्डले केही महत्वपूर्ण सिनियर मन्त्रीहरुलाई राखेर बाँकी सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्ने अडान लिइरहेका बेला ओलीले आफूखुसी मन्त्रीहरु नियुक्त गरेको बताउँदै आएका छन्।

तर ओली निकट एक स्थायी कमिटी सदस्यले भने, ‘प्रचण्डले सहमतिमा मन्त्रिपरिषद्‌मा हेरफेर गरौँ भन्ने तर नामसमेत दिन नसक्ने भइरहेको थियो। अर्को कुरा, मन्त्रिपरिषद् हेरफेरको निर्णय गर्दा प्रधानमन्त्रीले आफ्नो विशेषाधिकार प्रयोग गर्न पनि त पाउनुपर्‍यो। त्यसमा किन बिरोध?’

ती सदस्यका अनुसार पछिल्लो पटक ओलीले बनाएका तीन मन्त्रीमा प्रचण्डको पनि सहमति थियो तर ओलीको छवि बिगार्ने रणनीतिका साथ सार्वजनिकरुपमा आफूसँग सहमति नभएको प्रचार खुमलटारले गर्‍यो।

यता प्रचण्ड निकट एक नेताका अनुसार प्रचण्डले अब ओलीपक्षबाट प्रस्ताव हुने उधारो सहमति नमान्ने मनस्थिति बनाएका छन्।

‘मलाई पटक पटक ओलीबाट धोका भइसकेको छ। पार्टीको निर्णयसमेत उहाँले मान्नु भएन। अब म उधारोमा सहमति गर्ने छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले बताए।

                                                                                ००

सत्ता र शक्तिलाई लिएर ओली र प्रचण्डबीच उत्पन्न कलहले पार्टी विभाजनको डिलमा पुग्नै लागेपछि त्यसलाई बचाउन भन्दै नेकपामा गत साउन ३० गते महासचिव पौडेलेको संयोजकत्वमा ‘विवाद समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो।

कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्व्य गर्ने प्रस्ताव गरेको थियो।

पार्टी एकताका अन्य निर्णयसमेत गरेर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन ओली र दाहालसमक्ष पेश गरेकोमा उनीहरुले त्यसमा सहमति जनाउँदै २५ भदौको स्थायी कमिटी बैठकमा पेश गरेका थिए।

स्थायी कमिटी बैठकले पनि त्यसलाई अनुमोदन गरेपछि नेकपामा ‘युद्धविराम’ भएको ठानिएको थियो।

तर ‘युद्धविराम’ भएको भनिएको एक महिना नपुग्दै ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् हेरफेर गरेको, आफू निकट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा वार्ता ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगरेको भन्दै प्रचण्डले ओलीसँगको संवादविच्छेद गरेका थिए।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्