डेमोक्रेटिक लयर्स एसोसिएसनका पाँच हस्तीहरु निष्काशित

काठमाडौँ- डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए) ले नेपाल बार एसोसिएसनको निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको भन्दै डीएलएकै पूर्वअध्यक्षसहित केही वरिष्ठ अधिवक्तालाई संगठनबाट निष्कासन गरेको छ।

डीएलएको अनुशासन समितिले संस्थाका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, प्रेमबहादुर खड्कासहित अधिवक्ताहरु विजयप्रसाद मिश्र र श्रीराम दवाडीलाई निष्कासन गरेको हो।

नेपाल बार एसोसियनको डेढवर्षअघि भएको निर्वाचनमा डीएलएको नेतृत्वमा बनेको वृहत्तर लोकतान्त्रिक समूहका २५ मध्ये २२ जना उम्मेदवार पराजित भएका थिए। यसबारे छानबिन गर्न डीएलएले समिति गठन गरेको थियो।

उक्त समितिको प्रतिवेदनअनुसार डीएलए नेतृत्वको समूहका उम्मेदवार पराजित हुनुको कारण बुझ्न यी पाँच जनासँग १५ दिने स्पष्टीकरण मागिए पनि उनीहरुले स्पष्टीकरण दिएका थिएनन्। उनीहरुले संस्थाको वैधानिकतालाई चुनौती दिएको र मौन रहेर जवाफ नदिएकाले आरोप पुष्टि भएको भन्दै संगठनबाट निष्कासन गरिएको अनुशासन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन्।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्