‘एउटा पानीले मानिसको जीवनमा धेरै परिवर्तन ल्याउँदो रहेछ’

दाङ – कमानसिंग ओली हरेक वर्ष कुटो कोदालो बोकेर कुलोमा पुग्नुपर्थ्याे । कच्ची कुलो भएकाले आधा पानी कुलोबाट चुहेर जान्थ्यो ।

कुलोको डिल बाँधेर घर पुग्दा पानी पुग्दैनथ्यो । फेरि कुलोको डिल बाध्न आधा एक घण्टा हिँडेर बाँधमा पुग्नुपथ्र्याे । तर, अचेल एक दिन पनि कुलोको डिल बुझ्न जानु परेको छैन । पक्की कुलो बनेपछि कमानसिंग ओलीलाई सुविधा भएको छ ।

‘हिउँदमा गहुँ, तोरी चार्ने पानी पुग्दैनथ्यो । तर, अहिले पानी प्रशस्त पुगेको छ’ओलीले भने,‘पक्की कुलोले गर्दा पानीले सिँचाइ गर्न पुग्यो ।’

खेमसिंग रानाले तोरी छरेका छन् । तोरीमा पानी चार्न गाउँमा झगडा नै पर्थ्याे । पानीले कलह थप्ने गरेको थियो । तर, अहिले पानीको विषयले झगडा नभएर मिलाप बढेको छ । ‘पानी नपुग्दा विगतमा झगडा नै हुन्थ्यो । अहिले पानी पुगेपछि झगडा भन्दा मेलमिलाप बढेको छ’रानाले भने,‘एउटा पानीले मानिसको जीवनमा धेरै परिवर्तन ल्याउँदो रहेछ । अहिले उत्पादन पनि बढेको छ ।’

तालीखोला गाउँमा कच्ची कुलो थियो । हरेक दिन जसो कुटो, कोदालो बोकेर कुलो सोर्न तालिखोला तुरतुरे सिँचाइ आयोजनामा पुग्नुपर्थ्याे । सिँचाइको लागि पानी पुग्दैनथ्यो । कुलोबाट पानी चुहिने समस्याले गर्दा आधा पानी कुलोमै हराउथ्यो । तर, अहिले त्यस्तो छैन ।

सिँचाइको लागि प्रशस्त पानी पुगेको छ । शिवम ओलीको परिवारले कागती खेती गरेको छ । कागतीमा पानी चार्न पुगेको छ । खेती गर्दा पानीको अभाव थियो । एक बर्षको अवधिमा पक्कि कुलो बनेपछि कागतीको लागि पनि पानी पुगेको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन दाङबाट तालिखोला तुरतुरे सिँचाइ आयोजनामा पक्की कुलो निर्माण गर्न १७ लाख रुपैयाँ बजेट विनियोजन भयो । जस बाट ३७५ मिटर लामो पक्की कुलो बन्यो । अहिले कुलोबाट पानी चुहिने समस्या अन्त्य भएको छ । किसानले हिउँदमा समेत तोरी, मकै, गहुँ, कागती, तरकारी सिँचाइ गर्न पाउँदा खुशी भएका छन्।

प्रदेश सरकार जलस्रोत तथा सिँचाई डिभिजनको बजेटबाट बनेको पक्की कुलोको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्मासहितको एक टोलीले स्थलगत अनुमगन गरेको छ ।

सिँचाइ कुलो निर्माण गर्ने कार्य अझै बाँकी रहेको र थप बजेटको व्यवस्था गर्न आवश्यक रहेको स्थानीय अगुवा हर्क अधिकारीले माग राखे।

प्रदेशसभा सदस्य शर्माले यो वर्ष पनि सिँचाइ कुलो निर्माणको लागि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे।

कात्तिक १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्