भारतीयलाई नागरिकता दिन सिफारिस गरेकाे आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी – मापदण्ड विपरीत भारतीय नागरिकलाई नागरिता दिन सिफारिश गरेको भन्दै धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा धनगढी उप–महानगरपालिका–१२ का वडाध्यक्ष गणेश प्रसाद जोशी पक्राउ परेका हुन्।

वडा नम्बर १२ स्थित मुक्तकमैया शिविरका एक व्यक्तिलाई नक्कली बुवा बनाएर भारतीय नागरिकले नागरिकताका लागि निवेदन दिएकोमा वडाध्यक्ष जोशीले ती व्यक्तिलाई नागरिकता उपलब्ध गराउन सिफारिस गरेको उजुरी परेको र त्यही आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताए।

उनका अनुसार नक्कली बुवा बन्ने पुनिराम चौधरी फरार रहेका छन् भने उनका दाजु खुशीराम चौधरीलाई छानबिनका लागि नियन्त्रणमा लिइएको छ।

मुक्त कमैयाँ शिविरका चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस लिएका थिए।

नागरिकताका लागि निवेदन माग गर्ने अन्सारी टीकापुर नगरपालिका– ७ मा बस्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष जिल्ला प्रहरी कार्यालयमै रहेको र यसबारे थप अध्ययन भैरहेको प्रहरी प्रमुख देउवाले बताए ।

कात्तिक १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्