आज ‘ब्ल्यू मून’ तर चन्द्रमा भने रातै देखिन्छ

नेपालीहरुको दसैँको पूर्णता अथवा समापन पूर्णिमा (फूल मून) मा दिन हुन्छ। यसलाई कोजाग्रत पूर्णिमा भन्ने चलन रहेको छ।  यस वर्षको दसैँको समापन आज शनिबार अर्थात कात्तिक १५ गते तदनुसार ३१ अक्टोबरका दिन हुँदैछ।

जस्तो कि तपाईँलाई थाहा छ- प्रत्येक २९.५  दिनमा पृथ्वीबाट ‘फूल मून’  (पूर्णिमा ) देखिन्छ, मोटामोटी भनौँ प्रत्येक महिनामा एकपटक ‘फूल मून’ हुन्छ। तर यसपटक यो चलिरहेको अक्टोबर महिनाको अन्तिम दिन ३१ अक्टोबरका दिन पूर्णिमा पर्दैछ भने हिसाब गरी हेर्नुस् आजभन्दा २९ .५  दिन पहिला पनि पूर्णिमा थियो। गत  १ अक्टोबरका दिन पूर्णिमा परेको थियो। यसरी एक महिनामा दुइवटा ‘फूल मून’ हुँदा पश्चिमा परम्परामा दोश्रो ‘फूल मून’लाई ‘ब्ल्यू मून’ भन्ने चलन छ।

के हो ब्ल्यूमून ?

पृथ्वीले सूर्यको परिक्रमा गर्छ।  सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीलाई ३६५.२५ दिनको समय लाग्छ। यही एउटा परिक्रमामा लागेको समय नै हामी पृथ्वीवासीले मानेको एक वर्षको समयावधि हो।  यसभन्दा छुट्टै वर्ष भन्ने समय यूनिटको अर्को कुनै अस्तित्व  छैन। धेरै पटकको प्रयास र सुधारपछि पृथ्वीको क्यालेन्डरलाई १२ महिनामा बाँधिएको हो।  एक वर्ष अर्थात १२ महिना। अब हिसाब गरी हेर्नुस्- वर्षमा ३६५.२५ दिन हुन्छन् र यस समयावधिलाई १२ महीनामा विभाजित गरियो। तपाईँलाई भन्नु परी रहेन, कुनै पनि हिसाबले ३६५.२५ दिनको अवधि १२ महीनामा समान रूपले विभाजित हुन्नन्। खगोलविदहरुले यसको हल निकाले, जनवरीलाई ३१ दिन दिए,  यसैगरी मार्च ३१, मई ३१, जुलाई ३१, अगस्त ३१, अक्टोबर ३१ र दिसम्बरलाई ३१ दिन दिए। अप्रिललाई ३० दिन, यसैगरी जून ३०, सेप्टेम्बर ३० र नोभेम्बर लाई ३० दिन दिए। बाँड़दाबाँडदै  सातवटा महीनालाई ३१ दिन, चारवटा महीनालाई ३० दिन दिदा ३३७ दिन सकिए।  बाँकी रहन आए २८ दिन, फेब्रुअरीलाई यिनै २८ दिन प्राप्त भए।  ३६५ दिनको  हिसाब त मिलान भयो। वर्षमा जुन एक चौथाइ दिनको समय बढी थियो, त्यसको प्रत्येक चार वर्षमा हिसाब गरी अन्यायमा परेको फेब्रुअरीलाई दिइयो। प्रत्येक चौथो वर्षको फेब्रुअरीमा २९ दिन हुन्छन्। तपाईँहरुलाई बुझ्न केही गाह्रो भएन होला- प्रत्येक चार वर्षमा पृथ्वीको क्यालेन्डरमा ३६५ को सट्टा ३६६ दिन हुन्छन्। यसलाई नै ‘लिप इयर’ भनिन्छ।

पूर्णिमाको सम्बन्ध चन्द्रमासँग छ।  पृथ्वीले सूर्यको परिक्रमा गरेझैँ चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ।  पृथ्वीबाट औसत ३ लाख ८४ हज़ार किमी टाढा रहेको चन्द्रमाले पृथ्वीको एक परिक्रमा पूरा गर्न २७.३ दिन (पृथ्वी दिन) को समय लगाउँछ। यस हिसाबले पूर्णिमा प्रत्येक २७.३ दिनमा हुनु पर्ने हो तर यस्तो हुँदैन। पृथ्वीले सूर्यको परिक्रमा ‘क्लाक वाइज’ गर्छ ,चन्द्रमाले पनि पृथ्वीको परिक्रमा ‘क्लाक वाइज’ नै गर्छ।  यस कारणले गर्दा चन्द्रमाले पृथ्वीको एक परिक्रमा पूरा गर्दा पृथ्वीले आफ्नो परिक्रमा पथमा सूर्य को १/१३ भाग परिक्रमा पूरा गरिसकेको हुन्छ। भनौँ पृथ्वी चन्द्रमाको परिक्रमा पूरा हुँदा २७ डिग्री पूर्वमा अगाडि बढिसकेको हुन्छ। र, चन्द्रमालाई पृथ्वीको सामुन्ने आउन  थप २.२ दिनको समय लाग्छ। २७.३ मा २.२ दिन थप्दा एउटा पूर्णिमादेखि अर्को पूर्णिमाका बीच २९.५ दिनको अन्तराल हुन आउँछ।

चन्द्रमाले पृथ्वीको एउटा परिक्रमा गर्न लाएको २७.३ दिनलाई नै एक ‘सिडेरिअल मन्थ’ (sidereal month )र पूर्णिमा देखि पूर्णिमा को २९.५ दिनको समयलाई एउटा  ‘साइनोडिक मन्थ’ (Synodic month) भनिन्छ।

अब कुरा स्पष्ट भयो- पृथ्वीको एक वर्ष  अर्थात ३६५.२५ दिनको समयमा चन्द्रमा पृथ्वीको सामुन्ने आउने अर्थात पूर्णिमा हुने अवसर हुन आए ३६५.२५/२५.५  = १२.३८।  पृथ्वीबाट एक वर्षमा १२ पटक पूर्णिमाको दृश्य देखिन्छ।  तर यो १२ वटा पूर्णिमा त २९.५ *१२ = ३५४ दिनमै सम्पन्न हुन्छन्, बाँकी रहेका ११.२५ दिन खप्टिँदा  खप्टिँदा अढ़ाइ वर्षभन्दा केही बढीको समयपछि २९.५ दिनको समय हुन आउँछ अर्थात एउटा थप पूर्णिमा हुन आउँछ।  त्यो वर्ष १२ को सट्टा १३ वटा पूर्णिमा हुन्छन्।

संक्षेपमा पुनः लेख्छु- सामान्यतया: वर्षमा १२ वटा पूर्णिमा हुन्छन् तर २.५ वर्षपछि आउने वर्षमा  १२ को सट्टा १३ वटा पूर्णिमा हुन्छन्। यो हुनुको कारण खगोलीय पिण्ड पृथ्वी र चन्द्रमाको गतिले गर्दा भएको हो।

यसरी अढ़ाई वर्षपछि जुन महीनामा दुइवटा पूर्णिमा हुन्छन्- त्यसमध्ये दोश्रो पूर्णिमालाई पश्चिमा परम्परामा ‘ब्ल्यू मून’ भन्ने चलन रहेको छ।  यसभन्दा पहिला (आज ३१ अक्टोबर २०२०) ३१  मार्च २०१८ मा ‘ब्ल्यू मून’ भएको थियो।

कैयौँ मित्रहरुले सोधे- के ३१ अक्टोबरको साँझ देखिने चन्द्रमा ‘ब्ल्यू’ हुन्छ? मैले सबैलाई हाँसेर जवाफ फर्काएँ- ‘ब्ल्यू मून’को अर्थ बुझाए । तर एउटा अर्को जानकारी यहाँनिर प्रस्तुत गर्न आवश्यक हुन्छ। एक महिनामा हुने दोश्रो पूर्णिमालाई ‘ब्ल्यु मुन’ भन्ने चलन पछि थपिएको हो । पहिलाको चलनमा, पश्चिमा पद्धतिअनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन्। प्रत्येक ऋतु तीन–तीन महिनामा बाँडिएका  छन्। यस हिसाबले प्रत्येक ऋतुमा तीनपटक पूर्णिमा हुने गर्छ र  वर्षमा  हुने चारवटा ऋतु  अनुसार १२ वटा पूर्णिमा हुन्छन्। तर कुनै वर्ष (वर्ष गणना १ जनवरी देखि ३१ डिसेम्बर) १३ वटा पूर्णिमा पर्न जान्छन्। जस्तो कि चलिरहेको वर्ष २०२०  मा १३ वटा पूर्णिमा हुने भएका छन्।

हिसाब लगाएर नै हेरौँ- यस वर्षको  पहिलो पूर्णिमा जनवरी १० (हिन्दू परम्परा जस्तै पाश्चात्य परम्परामा पनि प्रत्येक पूर्णिमालाई विशेष नामले बोलाइन्छ। जनवरीको पूर्णिमालाई wolf moon  भनिन्छ) , दोस्रो फेब्रुअरी ९ (snow  moon), तेस्रो मार्च ७  (warm  moon – super  moon) ,चौथो अप्रिल ७  (pink  moon – super  moon), पाँचौ मे ७  (flower  moon- super  moon), छैठौं जून  ५  (strawberry  moon), सातौँ जुलाई ५  (buck  moon),  आठौँ अगस्ट ३  (sturgeon  moon), नवौँ सेप्टेम्बर २ (corn  moon), दशौँ अक्टोबर १  (harvest moon ) एघारौं अक्टोबर ३१ (blue  moon), बाह्रौं नोभेम्वर ३० (beaver  moon) ,तेह्रौ डिसेम्बर २२ (cold  moon) हुने भएका छन्।

पुरानो पश्चिमा मान्यतामा जुन ऋतुमा यो बढेको अर्थात तेह्रौँ पूणिमा पर्छ, भनाइको अर्थ जुन ऋतुमा चारवटा पूर्णिमा पर्छन्, यी चार पूर्णिमा मध्येको तेस्रो पूर्णिमालाई ‘सिजनल ब्ल्यू मून’ भन्ने गरिन्थ्यो। तर अब आएर एउटै महिनामा पर्ने दोश्रो पूर्णिमालाई ‘मन्थ्ली ब्ल्यू मून’ भन्ने चलन छ। र, एउटै सिजनमा पर्ने चारवटा पूर्णिमामध्ये तेश्रोलाई ‘सिजनल ब्ल्यू मून’ भनिन्छ। आजको ‘ब्ल्यू  मून’ मन्थ्ली क्याटागोरीको को ‘ब्ल्यू मून’ हो।

‘सिजनल ब्ल्यू मून’ हुने सम्भावना ‘मन्थ्ली ब्ल्यू मून’ को अपेक्षा कम हुन्छ। सन् १५५० देखि २६५० सम्मको ११०० वर्षे अवधिमा ४०८ वटा सिजनल ‘ब्ल्यू मून’ हुन्छन् भने ४५६ वटा ‘मन्थ्ली ब्ल्यू मून’ हुनेछन्। गत ‘सिजनल ब्ल्यु मुन’  मार्च ३१  सन् २०१८  मा भएको थियो।  सन् २०१६ को मे  २१ मा पनि ‘सिजनल ‘ब्ल्यू मून’ नै थियो। यसैगरी सन २०२१ को २२ अगस्तमा हुने ‘ब्ल्यू मून पनि सिजनल’ हुने छ।

एउटा रमाइलो प्रसंग- के तपाईँ भन्न सक्नु हुन्छ कुन अंग्रेजी महिनामा ‘ब्ल्यू मून’ हुँदैन?

कुनै प्रकारको पनि पूर्णिमामा चन्द्रमाको रंग बदलिन्न। किनकि चन्द्रमाको भौतिक अवस्थामा  कुनै परिवर्तन हुन्न । फरक रंग देखिनको कारण चन्द्रमा र पृथ्वी बीचको वायुमण्डलमा हुने परिवर्तनका कारण मात्र हुन्छ।

पश्चिमा परम्परामा ३१ अक्टोबरका दिनलाई ‘हलोविन’ (Halloween) का रूपमा मनाउने चलन छ। यस पटक ‘हलोविन’का दिन नै ‘फुल मून’ पर्दैछ र त्यो पनि ‘ब्ल्यू मून’का रूपमा। यो दुर्लभ खगोलीय संयोग नै हो।

अब अर्को पटक ‘हलोविन’का दिन पूर्णिमा पर्ने संयोग सन २०३९ को ३१ अक्टोबरका दिन मात्रै हुनेछ।  सन २०३९ मा अक्टोबर महिनाको २ तारिखमा पहिलो ‘फुल मून’ र ३१ अक्टोबरका दिन दोस्रो ‘फुल मून’ अर्थात ‘ब्ल्यू मून’ हुनेछ।

कात्तिक १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्