नेपालगञ्ज – कोरोनाका कारण दाङका ७० वर्षीय वृद्धको शनिबार बिहान बाँकेको कोहलपुरमा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ७० वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ११ गते कोहलपुरको आइसीयु युनिटमा भर्ना गरिएको थियो । कोरोना आशंकामा भोलिपल्ट स्वाब लिएर जाँच गर्दा त्यही दिन बेलुका ५ बजे कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका दाङका ७० वर्षीय पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यसैबीच, बाँकेमा शनिबार ३८ जनाले कोरोनालाई जितेका छन् । कात्तिक ५ गते कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेशनमा बसेका उनीहरु शनिबार डिस्चार्ज भएका हुन् । जिल्लामा अहिलेसम्म दुई हजार ८ सय २४ जना डिस्चार्ज भएका छन् । २ सय ५६ जना आइसोलेशनमा रहेका छन् ।

कात्तिक १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्