हामी सधैँ सम्झिरहनेछौँ- १

यी प्रधान सम्पादक जो आफै पत्रिका बोकेर घर-घर पुग्थे

काभ्रेको विकट पोखरीचौरीमा जन्मिएका विष्णु चौलागाई प्रधान सम्पादक र प्रकाशकको हैसियतमा दुई दशकभन्दा बढी समय नेपाली पत्रकारितामा रहे पनि सधैँ ‘लो प्रोफाइल’मा रहे।

चौलागाईसँग करियरको सुरुवातमा सँगै काम गरेका आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष भीम गौतम सम्झन्छन्- उहाँको झोलामा सँधै काभ्रे पोष्टका केही प्रति हुन्थे। कसैलाई भेट्ने बित्तिकै झोलाबाट पत्रिका निकालेर पढ्न दिन्थे। ग्राहक आफै बनाउने र आफै पत्रिका पुर्‍याउन घरघर पुर्‍याउने उहाँको मिहेनत उदाहरणीय थियो।

काठमाडौँको साँधमा जन्मिएर पनि चौलागाईले पत्रकारिता गर्न काभ्रै नै रोजे। उनको पत्रकारिता मूलत काभ्रेमै केन्द्रित रह्यो। दुई दशकअघि चौलागाईले आफै सम्पादक/प्रकाशक भएर काभ्रे पोष्ट निकाल्दा काभ्रेमा औँलामा गन्न सकिने मात्र साप्ताहिक पत्रिकाहरु थिए। उनले काभ्रेका ‘लाेकल इस्यु’हरुलाई पस्किए। हरेक साता पत्रिका निकाल्नु नै चुनौतीपूर्ण थियो। चौलागाई त्यसका लागि तयार थिए।  काठमाडौं उपत्यकाबाहिर बसेर पनि पत्रकारिता गर्न सकिन्छ भन्ने उदाहरण बनाए।

‘उहाँ काम गर्न कहिल्यै लजाउनु भएन। कुरा काट्ने र गिज्याउनेको पछि लाग्नु भएन। आफ्नो काममा निरन्तर खटिरहनु भयो’, गौतम सम्झन्छन्। खासगरी नेपालमा ५० को दशकमा सुरु भएको व्यावशायिक पत्रकारिताका लागि धेरै पत्रकार साप्ताहिक पृष्ठभूमिबाट जन्मिएका थिए। पत्रकारिता लोभलाग्दो बन्दै जाँदा यस क्षेत्रमा आकर्षण पनि बढ्दो थियो। त्यति बेला काभ्रे पोष्ट धेरै पत्रकारलाई पत्रकारिता सिक्ने र व्यावशायिक पत्रकारितामा प्रवेश गर्ने ‘गेट वे’ बन्यो।

एसएलएसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका चौलागाईले केही समय ज्वाला साप्ताहिकमा काम गरेका थिए। सँगै उनी शिक्षण पेशामा आबद्ध भए। तर पत्रकारितामा उनको रस यति भिजेको थियो कि त्यसबाट बाहिर रहन सकेनन्। अब आफै पत्रिका निकाल्ने निर्णयमा पुगे। सरकारी जागिरसँगै पत्रकारितालाई निरन्तरता दिनु सजिलो थिएन। उनले छुट्टीको दिन काम गर्न सजिलो होस् भनेर काभ्रे पोष्ट हरेक आइतबार प्रकाशन गर्ने गरी दर्ता गरेका थिए। त्यसका लागि काठमाडौँ-काभ्रे यात्रा नियमितजस्तै गर्नुपर्थ्यो।

‘२०५५ साल तिर म पत्रकारिता पढिरहेको थिएँ। एक दिन नयाँ बानेश्वरमा विष्णु दाईसँग भेट भयो। उहाँले तपाई पत्रकारिता पढिरहेको मान्छे, समाचार लेख्नू न भनेपछि उहाँसँग लामो समय सहकार्य भयो। त्यहीबीचमा उहाँबाट धेरै कुरा सिक्ने अवसर पाएँ’, गौतम भन्छन्। उनलाई नजिकबाट चिन्नेहरु सत्ता र पावरको नजिक रहन चाहने पत्रकार भन्छन्।

शाही कालमा उनले गोरखा दक्षिण बाहु पाएका थिए। त्यसपछि कहिले कांग्रेस त कहिले कम्युनिष्ट बन्ने लहरले उनका आलोचकहरु प्रसस्त्रै रहे।

‘मोफसललाई बेस बनाएर  २१ वर्षदेखि निरन्तर पत्रिका निकाल्नु पक्कै पनि गाह्रो थियो’, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिम्सिना भन्छन्। पत्रिका निकाल्न पछिल्लो समय परिवारका अन्य सदस्यले पनि चौलागाईलाई साथ दिएका थिए।

चौलागाईको शुक्रबार बिहान ओम अस्पतालमा ५१ वर्षको उमेरमा निधन भएको छ। उनमा श्वास प्रश्वास सम्बन्धी समस्या र निमोनिया थियो। त्यसअघि उनी कोरोना संक्रमण भई त्यसबाट केही दिनअघि मात्र मुक्त भएका थिए। निमोनियाको पुरानो समस्या र कोरोनाको संक्रमणपछि उनले फोक्सो निकै कमजोर बनेको थियो।

चौलागाईका श्रीमती, एक छोरा र एक छोरी छन्। उनीहरु राजधानीको चाबहिलमा बस्छन्। चौलागाई राजधानीको एक प्रावि स्कुलका प्रधानाध्यापकसमेत रहेका थिए।

कात्तिक १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्