‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु अनिष्टको पूर्वसंकेतः अर्जुननरसिंह केसी

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय अनिष्टको पूर्व संकेत भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा केसीले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय सरकारकाे निर्णयलाई अनिष्टकाे संकेत भनेका हुन् ।

उनले यस्तो निर्णयको आवश्यकता अहिले अहिले किन परेको हो भनेर पनि प्रश्न गरेका छन्। नेता केसीले यो निर्णय नेपालको संविधानको धारा ४ को नग्न उल्लंघन रहेको पनि दाबी गरेका छन्।

‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ नलेख्न र अंग्रेजी वा नेपालीमा नेपाल मात्र लेख्ने मन्त्रिपरिषदको निर्णयको कानून मन्त्रालयको पत्र र निर्देशन अहिले किन आवश्यक पर्‍याे ? यो नेपालको संविधानको धारा ४ को नग्न उलंघन र अनिष्टको पूर्व संकेत हो’, नेता केसीले भनेका छन्।

संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय मन्त्रीपरिषदले गरी सोही अनुसारको परिपत्र गरिएको हो।

सत्ता भित्रैबाट संघीयता बोझिलो भएको आवाज आइरहेको तथा देशका विभिन्न स्थानमा राजसंस्था पुनर्स्थापनाका पक्षमा प्रदर्शन भएका बेला सरकारले औपचारिक सम्बोधनबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता ल्याउन भन्दै सो निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषदको अशोज ११ गतेको बैठकले गरेको निर्णय अनुसार नेपालको नाम प्रयोग गर्न भनेको हो ।

मन्त्रिपरिषद बैठकले विभिन्न कूटनीतिक नियोगलाई पनि नेपालको नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ प्रयोग भन्ने निर्णय गरेको हो ।

कात्तिक १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्