कोरोना संक्रमणबाट मृत्यु भएको पाँच महिनापछि शव निकालेर दाहसंस्कार

बुटवल– अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका एकजनाको शव गाडेको पाँच महिनापछि उत्खनन् गरेर हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ।

मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो। मृत्युपछि उनमा कोरोना संक्रमण देखिएको थियो।

उनको शव करीब पाँच महिनापछि उत्खनन् गरेर अन्तिम  दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए।

कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो।

त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन्। अहिले पाँच महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको खनालले बताए।

कात्तिक १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्