अमेरिकी चुनावः केही राज्यमा मतदान टुंगियो, नजर नतिजामा

दशक यताकै सबैभन्दा विभाजित राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन् । पूर्व क्षेत्रका केही राज्यमा मतदान केन्द्रहरु बन्द हुन थालेका छन् । यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् ।

मंगलबार (नेपाली समय अनुसार मंगलबार राति) भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् । त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए ।

अहिलेसम्म जर्जा, इन्डियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मान्ट र भर्जिनियामा मतदान सकिएको छ । यी राज्यमा क्रमशः १६, ११, ८, ९, ३ र १३ इलेक्ट्रोल कलेज भोट रहेका छन् । सबै राज्यमा मतदान टुंगिएर नतिजा आउन भने समय लाग्ने छ ।

कात्तिक १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्