काठमाडौँ– बुधबार नेपाल आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कुमारीको दर्शनका लागि वसन्तपुर पुगेका छन्। इण्डियन एयर फोर्सको विमानबाट बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी कुमारीको दर्शन गर्नुका साथै वसन्तपुर क्षेत्रको अवलोकन गर्नेछन्। उनी श्रीमतीसहित वसन्तपुर पुगेका हुन्।
नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने कार्यक्रम छ।
भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध महारथी उपाधि ग्रहण गर्ने गर्छन्। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार बुधबार नवरणेको कुनै औपचारिक कार्यक्रम छैन। बिहीबार भने उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि ग्रहण गर्नेछन्।