काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेलगत्तै  बुधबार अपरान्ह कुमारीको दर्शन गर्न बसन्तपुर दरबार स्क्वायर पुगेका छन्।

पत्नी बिनासहित पुगेका नरवणेले कडा सुरक्षा व्यवस्थाबीच त्यहाँ केही समय बिताएका थिए। नरवणेको बुधबार कुनै औपचारिक कार्यक्रम छैन। वसन्तपुर जाने कार्यक्रम यसअघि सार्वजनिक गरिएको थिएन।

श्रीमती बिना र अन्य दुई जना अधिकारीका साथ इन्डियन एयर फोर्सको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएका नरवणे सिधै सोल्टी होटल पुगेका थिए।

नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने कार्यक्रम छ। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध महारथी उपाधि ग्रहण गर्ने गर्छन्। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो।

नेपाली सेनाका अनुसार नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने छन्। त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको भेटघाट हुने छ। बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्ध महारथीको उपाधि ग्रहण गर्नेछन्।

शुक्रबार स्वदेश फर्कनुअघि बिहान उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। नरवणेले आफ्नो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरेका छन्।