काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेको पहिलो दिन बुधबार महत्वपूर्ण दुई धार्मिक र सांस्कृतिक सम्पदाको दर्शन तथा अवलोकन गर्न पुगे।
अपरान्ह कुमारीको दर्शन गर्न बसन्तपुर दरबार स्क्वायर पुगेका नरवणे साँझ पशुपतिनाथ पुगे। उनले बन्द रहेको पशुपतिनाथको बाहिरबाटै दर्शन गरे भने मृगस्थलीबाट साँझको आरती अवलोकन गरे। उनको साथमा पत्नी विना पनि थिइन्।
बुधबार मध्यान्ह काठमाडौँ आईपुगेका नरवणेको तीन दिने भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम थिएन।
नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने कार्यक्रम छ। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध महारथी उपाधि ग्रहण गर्ने गर्छन्।
त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो।
नेपाली सेनाका अनुसार नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने छन्।
त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको भेटघाट हुने छ। बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्ध महारथीको उपाधि ग्रहण गर्नेछन्।