च्याम्पियन्स लिगः युभेन्टसको शानदार जित, रोनाल्डोले गोल गरेनन्

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए ।

मोराटाले सात र ६० औँ मिनेटमा गोल गरेका हुन् । डिबालाले ७२ औँ मिनेटमा गोल गरे भने डिभालीले ८१ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् ।

९० औँ मिनेटमा बोलीले एक गोल फर्काएका हुन् । बुधबार रातिको खेलमा क्रिष्टियानो रोनाल्डोले मोराटाको ६० औँ मिनेटको गोलका लागि सहयोग गरे ।

जितपछि तीन खेलबाट ६ अंकसहित युभेन्टस समूहको दोस्रो स्थानमा रहेको छ ।

बुधबार राति भएका अरु खेलमा समूह ई को चेल्सीले रिनेसलाई ३–० ले पराजित गरेको छ । यस्तै सोही समूहको सेभिल्लाले एफके क्रास्नोडरलाई ३–२ ले पराजित गरेको छ ।

समूह एफ को खेलमा बोरुसिया डर्टमुण्डले क्लब ब्रूगलाई ३–० ले पराजित गर्दा जेनिट सेन्ट–पिटर्सबर्ग र लाजिओले १–१ को बराबरी खेलेका छन् ।

कात्तिक २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्