अमेरिकी राष्ट्रपति चुनावमा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ‘हरेक मत गणना हुनु पर्ने’ बताएका छन् ।
ब्याटलग्राउण्ड स्टेटमा मतगणना जारी छ र ती राज्यमा बाइडेन वा राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रता निकै साँघुरो रहेको छ ।
पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’
ट्रम्पको चुनावी अभियानले मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै उजुरी गर्ने घोषणा गरेको छ ।
सम्बोधनको क्रममा बाइडेनले आफू जितको दिशामा रहेको बताए । त्यसपछि उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए । उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए ।
उनले आफू विभाजित देशलाई एकीकृत गर्नका लागि चुनावी प्रतिस्पर्धामा आएको बताउँदै आएका थिए र बिहीबार बिहानको सम्बोधनमा पनि उनले सो कुरालाई जोड दिए ।
२७० इलेक्टोरल कलेज मतको यात्रा
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।
उनले विस्कनसिन र मिसिगन साँघुरो जित हाँसिल गर्ने पक्का भएको छ । न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।
अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।
नेभाडा र एरिजोनामा क्रमश ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।
यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।
ती राज्यमा अहिले गणना भइरहेका अधिकांश मत अग्रिम रुपमा हुलाक मार्फत खसालिएका मत रहेको र त्यसमा ट्रम्प भन्दा बाइडेनको पकड राम्रो देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पको अग्रता रहेको नर्थ क्यारोलाइनामा झण्डै पाँच प्रतिशत मत गणना हुन बाँकी छ । मतान्तर कम रहेको र बाँकी मत हुलाक मार्फत खसालिएका अधिक रहेकाले त्यहाँ पनि बाइडेनले अन्तर थप कम गर्ने सम्भावना रहेको उल्लेख छ ।
अलास्कामा पनि मतगणना जारी छ, तर त्यहाँ ट्रम्प सहज अग्रतामा छन् ।
हडबडीमा ट्रम्प
मतगणना जारी रहँदै गलत रुपमा आफू विजयी भएको घोषणा गरेका ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउने क्रम जारी राखेका छन् ।
उनले बुधबार ह्वाइट हाउस मार्फत सम्बोधन गरि आफू विजयी भएको र आफू हार्ने एकमात्र कारण धाँधली रहेको आरोप लगाएका थिए । उनले त्यसपछि ट्वीट गरेर लगातार चुनावमा धाँधली गरेर आफूलाई पराजित गर्न खोजिएको आरोप लगाइरहेका छन् ।
ट्रम्पको टिप्पणी प्रजातान्त्रिक प्रक्रियामाथिको आक्रमण रहेको भन्दै रिपब्लिकन पार्टीकै धेरै नेताले विमत्ति जनाइरहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पले पछिल्लो २४ घण्टामा गरेका ६ ट्वीटमा ट्वीटरले सावधानी पूर्ण नोटिफिकेसन राख्दै हाइड गरेको छ ।
उनका टिप्पणी भ्रामक र अप्रमाणित रहेको जानकारी ट्वीटरले राखेको छ । यस्तै ट्रम्पको चुनावी अभियानको आधिकारिक एकाउन्ट, ह्वाइट हाउसकी प्रवक्ता केली म्याकनेनी र ट्रम्पका छोरा एरिकले गरेका पोस्टमा पनि ट्वीटरले सोही प्रक्रिया अपनाएको छ ।
स्पष्ट रुपमा विभाजित अमेरिका
ट्रम्पले लगाएको धाँधलीको आरोप तथा बाइडेनले लिइरहेको साँघुरो अग्रताले अमेरिका इतिहासमै स्पष्ट रुपमा सबैभन्दा बढी विभाजित देखिएको विश्लेषकले बताएका छन् ।
डेमोक्र्याट र रिपब्लिकन बिचमा स्पष्ट रुपले देखिएको विभाजनको अवस्थामा राष्ट्रपतिका रुपमा आउने व्यक्ति सामु देशलाई एकीकृत गर्ने जिम्मेवारी र चुनौति रहेको उनीहरुको भनाई छ ।
बाइडेनले गरेको बिहीबार बिहानको सम्बोधनले उनी त्यसका लागि तयार रहेको देखिए पनि सजिलो नरहेको विश्लेषण गरिएका छन् ।