आइसीयू बेड नपाएरै गयो शिक्षण अस्पतालमा कार्यरत उनको ज्यान

फाइल तस्बिर

काठमाडौँ – दसैँ मनाउन उनी श्रीमतीसँग धादिङ्ग गए। कोरोना संक्रमितको संख्या ‘दिन दुई गुना रात चौगुना’ बढिरहेका बेला उनलाई बाइकमा यात्रा गर्न उपयुक्त लाग्यो। श्रीमतीलाई बाइक पछाडि राखे र आफ्नो गाउँ लागे।

दसैँ मनाए। अनि काठमाडौँ फर्किए। काठमाडौँ फर्किए पनि काममा भने फर्किन सकेनन्, ४५ वर्षीय राजाराम इटनी। इटनी ३० वर्षदेखि महाराजगञ्ज स्थित शिक्षण अस्पताल लेखा अधिकृतका रुपमा कार्यरत थिए।

उनले आफूलाई सन्चो नभएको भन्दै केही दिन बिदा थपे। घरमै आराम गरे। बिदा सक्काएर काममा फर्किनु पर्ने उनी अस्पातल भर्ना हुन आफैले काम गर्ने अस्पतालमा सोमबार राती पुगे।

अस्पताल पुग्दा उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो। उनलाई आइसीयूमै भर्ना गर्नु पर्ने थियो। तर अस्पतालमा आइसीयू बेड खाली थिएनन्।

जसरी पनि उनलाई आइसीयूमा राख्नै पर्ने भएका कारण उनको परिवार आइसीयू बेड खोज्न लाग्यो। काठमाडौँका अन्य अस्पतालमा बेड नभेटिए पनि उनको परिवारले बुढानिलकण्ढस्थित करुणा अस्पतालमा बेड पायो र उनलाई उतै लगे। आइसीयूमा भर्ना गरे।

शिक्षण अस्पतालमै हुँदा उनको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक थियो। उनको परिवारले उनलाई अस्पताल त पुर्‍यायो। तर उनको ज्यान भने जोगाउन सकेन। आइसीयूमा भर्ना भएको केही बेरमै उनले संसार छोडे।

उनी ३० वर्षसम्म अस्पतालमै काम गरे। तर आफैले काम गरेको अस्पतालमा उनले उपचारका लागि बेड पाउँन सकेनन्।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका अस्पतालका आइसीयू, भेन्टिलेर भरिभराउ छन्। संक्रमणका कारण स्वास्थ्य स्थिती जटिल भए पनि बेड अभाव भएका कारण धेरैले ज्यान गुमाउनु परेको छ।

अहिले अस्पतालका आइसीयू भेन्टिलेटर भरिएका कारण उनलाई भर्ना गर्न नसिकएको अस्पतालका प्रवक्ता डा. राम विक्रम अधिकारले बताए। उनले भने, ‘उहाँ अस्पतालको कर्मचारी हुनुहुन्थ्यो। आफ्नो कर्मचारीलाई त्यही अनुसारको सेवा सुविधा दिनु पर्छ। तर डाक्टरहरुका अनुसार आइसीयू बेड खाली नै थिएन। अर्को अस्पताल लेगेपछि उहाँ बित्नु भयो।’

डा. अधिकारीका अनुसार उनी मृत्यु के कारणले भएको पुष्टि भएको छैन। उनले भने, ‘उहाँको पीसीआर टेस्ट गरिएको छैन। तर उहाँको मृत्यु पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने संका गरिएको हो।

पहिला उहाँलाई दमको समस्या थियो। जसले गर्दा श्वास प्रश्वासमा समस्या थियो। त्यसैले गर्दा कोरोना भाइरसको संक्रमणका कराण नै मृत्यु भएको हुन सक्ने अनुमान लगाइएको छ।’

इटनी २०४७ सालदेखि शिक्षण अस्पतालमा कार्यरत थिए।

कात्तिक २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्