‘अब दुई अध्यक्षले मात्रै छलफल गरेर हुन्न, कमिटी बैठक नै डाकिनुपर्छ’

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उत्पन्न विवादले संकटमा भासिएको आफ्नो पार्टी एकता रक्षा अब ओली र प्रचण्ड मात्रै बसेर सम्भव नहुने भएकाले पार्टी कमिटी बैठक नै आवश्यक पर्ने धारणा अघि सारेका छन्।
ओली पक्षले पहिले दुई अध्यक्षबीच छलफल र समझदारी बनेपछि मात्रै कमिटी बैठक बोलाउने अडान लिइरहेका बेला रायमाझीेले प्रचण्ड पक्षको अडानअनुसार दुई अध्यक्षबीच नभई पार्टी कमिटी बैठकमा छलफल आवश्य भएको बताएका हुन्।
यस्तै उनले पार्टीमा दुई अध्यक्षकै कारण पार्टी बन्धक भइरहने स्थितिको पनि अब अन्त्य गर्न आवश्यक भएको र त्यसमा दोस्रो तहका नेताहरुको हस्तक्षेप आवश्यक भएको बताएका छन्। नेता रायमाझीसँग देशसञ्चारले लिएको अन्तर्वार्ताको संक्षिप्त अंश:
पार्टीमा फेरि बिग्रह आउनुको कारण के देख्नुहुन्छ तपाईँ?
अन्तरद्वन्द्व कम्युनिष्ट पार्टीमा स्वाभाविक मानिन्छ। द्वन्द्व निरन्तर हुन्छ। तर एकता सापेक्ष हुन्छ। अन्तरविरोध निरपेक्ष हुन्छ। तर फेरि एउटै विषयमा एकै व्यक्तिहरुबीच द्वन्द्व चलिरहेमा त्यसलाई स्वाभाविक मानिँदैन। अहिलेको विवाद अस्वाभाविक हो।
अहिले नेकपामा चलेको द्वन्द्व विचार, योजना, विधि, राष्ट्र, विकास, महामारीका लागि चलेको छैन। मुख्यगरी यो ‘पावर सेयरिङ’सँग बढी केन्द्रीत भएको छ। अर्थात् शक्ति सन्तुलनका लागि नेकपामा अहिले द्वन्द्व भएको हो।
यसले सरकार र पार्टीका कामकारबाहीमा प्रभाव पारेको छ। यो निरन्तर हरेमा पार्टीलाई नै गम्भीररुपमा क्षति पुर्याउँछ।
यसमा तपाईँ निष्पक्षका साथ भन्न सक्नुहुन्छ यो विवादमा ओली कि प्रचण्ड बढी दोषी छन्?
यो विवादमा को दोषी भन्ने छट्ट्याउने बेला होइन। एकले अर्कालाई दोष लगाउने अवस्था पनि छैन। समस्या के हो? त्यो कति गम्भीर छ भन्ने कुरा स्पष्टरुपमा पहिचान हुनुपर्छ। त्यसमा सुक्ष्मरुपमा अध्ययनको पनि आवश्यकता छ।
प्रचण्ड पक्षबाट ओलीले पार्टी कमिटी निर्णय उल्लंघन गरेको भन्ने निष्कर्ष निकालिसकेको छ। तपाईँले किन स्पष्ट भन्न नसकेको?
मैले अहिले फलानोको गल्ती छ, उहाँ सच्चिनुपर्छ भनेर उपदेश दिनुको कुनै अर्थ छैन। प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन भन्ने गुनासो गर्नुहुन्छ।
प्रचण्डले पनि आफ्नो अधिकारअनुसार काम गर्न दिइएन भन्नु गुनासो गर्नुहुन्छ। भूमिकाविहीन बनाइयो भन्ने छ उहाँको मुख्यतयाः अनुभव र धारणा। अन्य नेताहरुमा आआफ्नै गुनासा छन्, यतिबेला।
त्यसैले कमिटीमा छलफल नगरी कुनै व्यक्ति विशेषलाई दोष दिन नमिल्ला। समस्यामाथि बहस नगरी यसै भन्नसक्ने अवस्था छैन।
मैले फलानो नेता गलत हुनुहुन्छ भनेर दोष लगाउँदैमा समस्याको समाधान हुँदैन। समस्या समाधानका लागि कमिटी बैठकनै आवश्यक पर्छ।
पहिले दुई अध्यक्ष बसेर छलफल गरेपछि मात्रै कमिटी बैठक डाकिन्छ, हैन भने यो बिग्रह निम्ताउने माध्यम मात्रै हुन्छ भन्ने अडान बालुवाटारबाट आइसकेको अवस्थामा तपाईँले भने जस्तो कसरी होला?
अब दुई अध्यक्ष मात्र बसेर छलफल गर्नुको कुनै अर्थ छैन। यस्तो अवसर उहाँहरुले धेरै पटक प्राप्त गर्नु भएको हो। जबजब विवाद आउँछ तब उहाँहरु दुई अध्यक्ष बस्नुहुन्छ। उहाँहरुले के छलफल गर्नुभयो? के गोप्य सहमति गर्नु भयो? अनि किन एकले अर्कालाई दोष लगाइरहनु भएको छ भन्ने हामीलाई थाहा हुन्न ।
दुई अध्यक्षलाई जिम्मा त दिइएकै हो। तर अब दुई अध्यक्षबीचमात्रै छलफल गरेर नेकपाको रोग निको हुन्न। अब सचिवालयको बैठक बस्नु पर्यो। स्थायी कमिटी बैठक बस्नु पर्यो। केन्द्रीय कमिटी बैठकको बस्नु पर्यो।
अनि उहाँहरुलाई पनि सँगसँगै राखेर छलफल गर्नुपर्यो। कुनै एउटा विवाद समाधान गर्दा उहाँहरु सँगसँगै बस्ने अवस्था आएन। त्यो त दुखदपूर्ण कुरा हो। अब कमिटी बैठकमा उहाँहरुले आआफ्ना गुनासा राख्नुहुन्छ।
त्यो सुनिकसेपछि मात्रै हामीले आआफ्नो धारणा बनाउँदा उपयुक्त हुन्छ। अहिले हामीले आआफ्नो धारणा बनाउने मौकानै पाएका छैनौँ।
त्यसो भए तपाईँहरु अन्यौलग्रस्त बनेको हो?
वास्तवमा हामी दोधारमा छौँ। खुमलटारको आफ्नै धारणाहरु छन्। बालुवाटारका आफ्नै धारणा छन्। खुमलटारको कुरा सुन्यो भने त्यो सत्य हो जस्तो लाग्छ। बालुवाटारको कुरा सुन्यो भने त्यही सत्य जस्तो लाग्छ। हामी स्पष्ट हुनका लागि कमिटी बैठक बोलाउन पर्छ।
अहिले वरिष्ठ नेताहरुको पनि गुनासा छन्। स्थायी कमिटी सदस्यहरुको पनि गुनासो छन् होला। त्यसैले संस्थागतरुपमा छलफल गर्न आवश्यक छ। समस्याबारे जानकारी हुन्छ। अनि कसरी समाधान गर्ने भन्नेबारे पनि छलफल हुन्छ।
भनेपछि दुई अध्यक्षबीचको मात्र छलफलले अब निकास निकाल्दैन?
म फेरि पनि भन्छु, उहाँहरुलाई हामीले पटकपटक त्यो जिम्मेवारी दिएको हो। तर उहाँहरु सहमति गर्नुहुन्छ अनि फेरि विवाद गर्नुहुन्छ। उहाँहरुले के सहमति गर्नुभयो?
के कुरामा विवाद भयो भन्नेबारे हामीलाई जानकारी दिनुहुन्न। अनि हामीले कसरी भन्ने कि अब तपाईँहरु मात्रै छुट्टै बसेर सहमति गर्नुहोस् या मिल्नुहोस्।
अब संस्थागतरुपमा मात्रै छलफल हुनुपर्छ। उहाँहरुबीच हुने सहमति र विमतिबारे हामीलाई औपचारिकरुपमा जानकारी दिनुपर्छ। त्यो हाम्रो अधिकार पनि हो।
दुई अध्यक्षबीच सम्भव छैन भने आआफ्ना विश्वासपात्रलाई राखेर छलफल गर्न सकिने विकल्प पनि बालुवाटारबाट आएका छन्। यसमा तपाईँको धारणा के छ?
त्यो पनि एउटा विकल्प हो। दुई वटा अध्यक्षबीच अब छलफल भएर फेरि पनि सहमति भयो भने फेरि विवाद हुने निश्चित छ। यसले नेकपाको एकतालाई कमजोर बनाउने काम मात्र गर्छ।
बरु आआफ्ना नेताहरुलाई राखेर सानो समूहमा पनि पहिले छलफल गर्न सक्नुहुन्छ। समस्या हल भएन भने अरुलाई राखेपनि बैठक बस्नुपर्छ।
ओली र प्रचण्डकै कारण पार्टी एकता भएको र भत्काउन पनि उनीहरु मात्रै सक्छन् भन्ने दाबी बालुवाटारबाट आइरहेको छ। त्यसो भए तपाईँहरुको भूमिका के थियो? के हुन्छ?
त्यस्तो थिएन र हुन्न। हामीले पार्टी एकताका लागि वातावरण बनाएको हो। हामीले पनि आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेको हो।
निर्णय गर्दा दुई अध्यक्षले गर्नुभयो। त्यसलाई हामीले सम्मान गरेकै छौँ। तर अब उहाँहरुकै कारण पार्टी फुट्दैन र हामी फुट्न पनि दिन्नौँ।
पार्टी एकता भएदेखिनै विवादको केन्द्रमा दुई अध्यक्ष परेका छन्। पार्टीका राष्ट्रका निम्ति गरिएका प्रतिवद्धता कागजमै सिमित छ। यस्तो गम्भीर मोड आउँदा पनि तपाईँहरु चाहिँ किन मौन?
अब दुई अध्यक्षले त्यसो गर्न मिल्दैन। पार्टी एकताका अधुरा काम पनि पुरा हुनुपर्छ र राष्ट्रका लागि गरिएका प्रतिबद्धता पनि पुरा हुनुपर्छ। सरकारले लिएको जिम्मेवारी पनि पुरा हुनुपर्छ।
पार्टीले लिएको जिम्मेवारी पनि पुरा हुनुपर्छ। सरकारका कामकारवाही निरन्तर छन्। तर आवश्यकताका आधारमा काम भएका छैन। पार्टीको अन्तरसंघर्षले त्यसलाई प्रभाव पारेका छन्। अब त्यसो हुन नदिने। पुरानै विषयमा संघर्ष गरिरहने, समाधान नगर्ने प्रवृति अन्त्य हुनुपर्छ।
ओली पक्षले कचिङ्गल जारी रहन भन्दा सल्लाहमा अलअलग हुनुपर्ने धारणा स्पष्टरुपमा अघि ल्याइसकेको छ। यसमा तपाईँको धारणा के हो?
पार्टी फुटाउने छुट कसैलाई पनि छैन। न बालुवाटार, न खुमलटार। पार्टी फुटाउने कुरा व्यक्तिगत पनि होइन। पार्टी फुटाउँदै हिँड्छु भन्नेका पछि नेता, कार्यकर्ता र जनता लाग्दैनन्।
हामी पार्टी एकताका लागि सहकार्य गछौँ। नेतृत्वले पार्टीलाई संकटमा पारिरहने हो भने हामी पनि चुप लाग्दैनौँ। दोस्रो तहका नेताहरु जुरमुराउन आवश्यक छ।
बारम्बार संघर्ष गर्ने, सहमति नगर्नेहरुलाई दोस्रो तहका नेताले पनि अध्ययन गरेका छन्। गलत कुरा अब मान्न तयार छैनन् दोस्रो तहका नेताहरु।
एकताको आधार भत्काउने कोशिशले निरन्तरता पाए, जबजमा दह्रोसँग खुट्टा समात्नुपर्छ भनेर कडा निर्देशन दिनेक्रम जारी छ। यसमा यहाँको धारणा के हो?
पार्टीमा स्वार्थ बाझिँदा विभिन्न कुराहरु आउँछन्। तर अब कोही पूर्वएमालेतिर फर्कने, कोही पूर्वमाओवादीतर्फ फर्किने भन्ने हुन्न।
यो पश्चगमन हो। हामी अग्रमगनतर्फ जाने हो। नेकपालाई अझ बलियो र सुदृढ गर्नुपर्छ। विधि, प्रक्रिया र मापदण्डका आधारमा अघि बढ्नुपर्छ। मुलुकमा आइपरेको समस्यामा पनि त्यत्तिनै गम्भीर हुन आवश्यक छ।
कोही २१ औँ शताब्दी भन्ने? कोही जबज भन्ने? यसरी हामी अघि बढ्न सक्दैनौँ। यो दुबै कार्य गलत छ। म पश्चगमनको पक्षमा छैन। अगाडि बढ्ने कुरा क्रान्तिकारी हुन्छ।
तपाईँको व्यक्तिगत कुरा गरौँ, तपाई खुमलटारबाट टाढिएर बालुवाटारसँग नजिकएको भनिन्छ। बहुमतमा जानु पर्ने भयो भने कता जाने?
म कतै नजिक र कतै टाढा छैन। म सबै नेताहरुसँग नजिक छु। र, नजिक हुन मन पराउँछु। म सबै नेतासँग सहकार्य गर्न तयार छु। बहुमतमा जाने स्थिति आउने छैन। त्यसबारे सोचेको छैन। पार्टी एकता बचाउनुपर्छ भनेर खुमलटार र बालुवाटार दुबैतिर धाइरहेको छु।