हामी सधैँ सम्झिरहनेछौँ- २

राजनीतिमा रमाएका ती भुपू लाहुरे

‘धरानमा वर्ष दिनअघि स्थानीय तहको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरका प्रतिस्पर्धी हुँदै खानेपानी समस्या निराकरण गर्ने अठोटसहित जनताको घरघरमा भोट माग्दै हिँडेका थिए ६३ वर्षीय गजेन्द्र इश्वो लिम्बू। नतिजा सोचेजस्तो भएन, तर पनि उनी निरन्तर रुपमा सक्रिय थिए धरानको विकास अनि राजनीतिमा।

लामो समय ब्रिटिस गोर्खा सेवामा समय बिताएका इश्वो करिब २३ वर्षअघि स्वदेश फर्किएका थिए, धरानको विकासमा काम गर्न भन्दै। यसक्रममा उनले धरानमा अधिकांश सामाजिक कार्यमा समय दिए भ्याए, नयाँ स्वरुप दिन तम्तयार भएर खटिए।

‘उनको सपना र खटाइलाई स्थानीय तहको उप निर्वाचनमा साथ नमिले पनि आफ्नो लगन र विकास निर्माणको कार्यमा उनी कहिले पछि हटेनन्,’ ६४ वर्षीया श्रीमती प्रमिला नेम्वाङ सम्झिन्छिन्।

दुई दशकअघि विवाहबन्धनमा बाँधिएकी प्रमिलालाई राजनीतिमा लागिकन इश्वोले समयमा खाना आएको याद छैन। उनी भन्छिन्, ‘सधैँ सामाजिक कार्य, ब्रिटिस गोर्खाका लागि दौडधूपमै समय बित्थ्यो। उहाँलाई परिवारसँग बसेर खाना खाने समय समेत निकै कम रहन्थ्यो। सामाजिक कार्यमा अति चासो राख्ने।’

उनको सक्रियतामा धरानको भानुचोकमा गोर्खा कम्प्लेक्स, गोर्खा सैनिक भवन, विष्णुपादुकामा गोर्खा स्मृति पार्क लगायतले पूर्णता पाएको छ। यसका कारण पनि उनलाई धरानवासीले सम्झिरहने विश्वास परिवारले लिएको छ।

लाहुरे जीवनमा दुरुस्त रहेका इश्वो पछिल्लोसमय रक्त क्यान्सरबाट पीडित थिए। उनको उपचार चल्दै थियो। काठमाडौंस्थित एक अस्पतालमा छैटौँ तथा अन्तिम किमोथेरापी सकेर उनी केही दिनअघि धरान फर्किएका थिए।

३१ वर्षीय छोरा रविले भने, ‘काठमाडौंबाट फर्कँदै गर्दा उहाँमा ज्वरोसहित कोरोनाको लक्षण देखिएको थियो। त्यसपछि हामीले ढिला नगरी बिपीमै पिसिआर गर्‍यौँ र नतिजा सोचेजस्तै पोजिटिभ आयो।’

‘काठमाडौंबाट फर्कँदै गर्दा उहाँमा ज्वरोसहित कोरोनाको लक्षण देखिएको थियो। त्यसपछि हामीले ढिला नगरी बिपीमै पिसिआर गर्‍यौँ र नतिजा सोचेजस्तै पोजिटिभ आयो।’

त्यसपछि बुबा गजेन्द्र इश्वोलाई संक्रमण देखिएसँगै प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको उनले बताए। करिब ४ दिनको प्रतिष्ठानको उपचारपछि एकाएक बुबाले अस्पताल परिवर्तन गर्न र निजी अस्पतालमा लैजान परिवारसमक्ष सल्लाह गरे। पारिवारिक सल्लाह अनुसार प्रतिष्ठानबाट स्वास्थ्यमा सहज महसुस गरेका उनी करिब दुई दिन धरान १५ स्थित घरमै बसे। घरमा बसिरहँदा पुनः उनको श्वासप्रश्वासमा समस्या थपियो। अक्सिजनको मात्रा घट्दै गएको र स्वास्थ्यमा असहजपन महसुस भएको गजेन्द्रले परिवारलाई सुनाए। परिवारले तत्कालै विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गर्‍यो। घरबाट अस्पताल जाने क्रममा उनको अक्सिजन घरि ७० पुग्ने गरेको त, घरि ८० सम्म पुग्ने गरेको छोरा रविले बताए।

न्यूरोमा भर्ना गरेको छैटौँ दिन कार्तिक १८ गते उनको उपचारका क्रममा मृत्यु हुनपुग्यो।

१६ वर्ष ब्रिटिस सेना र त्यसपछि ब्रुनाईमा बढुवा हुदै तेस्रो जिआरमा कार्य गर्दासम्म शत्रुसँग कहिले नहारेका इश्वो अन्ततः कोरोनासँग पराजित हुन पुगे। यसमा उनलाई शरीरले समेत साथ दिएन ।

कोरोनालाई हेल्चेक्र्याइँका रुपमा लिन नहुने बताएका छोरा रवि केही लक्षण देखिनेबित्तिकै चिकित्सकको सरसल्लाह र अस्पतालमा समयमै पुग्न सुझाव दिन्छन्। उनका भदा पंकजविक्रम नेम्वाङ न्यूरोमा राखेको अन्तिम दिनमात्र यसबारे जानकारी पाएको बताउँछन्।

ब्रिटिस लाहुरे र राजनीतिमा सक्रिय उनको कार्यशैली निकै सरल र सौम्य रहेको नेम्वाङ बताउँछन्। धरानमा केन्द्रविन्दु बनाएर राजनीति सुरु गरे पनि उनको ध्यान किरात, पिछडिएका र विपन्न वर्गको उत्थान कसरी गर्न सकिन्छ भन्ने विषयमा नै रहने गरेको नेम्वाङ बताउँछन्।

२०३४ सालबाट बेलायतमा १६ वर्ष पसिना बगाएका इश्वो त्यसपछि केही वर्ष ब्रुनाइमा जमे। त्यसपछि करिब २३ वर्षअघि धरानमा स्थायी रुपमा बसोबास थालेका इश्वो सामाजिक कार्यमा तल्लीन भए। यसबीच धरानमा हुने अधिकांश कार्यक्रममा उनको उपस्थिति बाक्लिँदै गयो। उनमा सामाजिक कार्यसँगै राजनीतिको असर झाँगिदै गयो। तत्कालीन समय एमालेमा उनले समय खर्चिए। अशोक राईसँगै एमालेको स्थानीय राजनीतिमा रमाउँदै धरानको विकासमा जोडिँदै गए। त्यसपछि एमालेबाट उनी समाजवादी पार्टी नेपालको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष पनि रहे। संघीयतामा विश्वास राख्ने गरेको इश्वोले संघीयतामा प्रत्येक जात, धर्म, लिंगले समानताको अवसर पाउने र आफ्नो समुदायको उत्थान हुनेमा विश्वास गर्ने छोरा रवि बताउँछन्।

तेह्रथुमको खाम्लालुङमा जन्मिएका इश्वो करिब डेढ घण्टाको पैदल हिँडाइपछि पुगिने आठराई गाउँपालिकास्थित श्री मोहन उच्चमाविमा पढाइ गरेका थिए। इश्वो परिवारमा श्रीमती प्रमिला, छोरा रवि र छोरी विनु छन्। रविले १२ वर्षको उमेरमा आफ्नो आमा गुमाएका थिए। त्यसपछि इश्वोले इलामकी प्रमिलालाई जीवनसंगिनी बनाएका थिए। यद्धपि उनको देहावसानपछि पार्टीगत रुपमा कसैले नसम्झिएको गुनासो इश्वो परिवारमा छ।

(कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकाहरु फगत संख्या होइनन्। उनीहरुको रिक्तता परिवार र समाजमा सधैँ खट्किरहनेछ। कोरोना महामारीमा ज्यान गुमाएकाहरुबारे हामी नियमित लेखिरहनेछौँ।)

कात्तिक २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्