हामी सधैँ सम्झिरहनेछौँ- ३

जो बालुवाटारमै पनि खेतीपातीमै रमाइरहिन्

काठमाडौँ – बुधबार बिहान पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भयो। केही दिनदेखि अस्वस्थ रहँदै आएकी सीताको काठमाडौँको सुविधा सम्पन्न नर्भिक अस्पतालमा कोरोनाकै कारणले मृत्यु हुन पुग्यो।

यस वर्षको दसैँ मनाउन रोल्पाको मेबाङ गाउँ पुगे पनि अस्वस्थ भएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल झारियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

उनी माइस्थेनिया नामक रोगबाट समेत प्रभावित थिइन्। सीता नेपालमा कोरोनाको कारणबाट मृत्यु हुने एक हजार भन्दा बढीको सूचीमा परिन्। पछिल्लो एक वर्ष बाहेक नेपाली राजनीतिमा २०४६ पछि सधैँ शक्ति र चर्चामा रहेका महराकी पत्नी भए पनि सीताको नाम उनका परिवार तथा आफन्तभन्दा बाहिर सुनिएन।

किनकि उनी शक्तिशाली नेताकी श्रीमती भए पनि शक्ति अभ्यासमा लागिनन्, सरल सहज र सामान्य जीवनमा नै व्यस्त रहिन्। २०१८ साउन १६ गते रोल्पाको गजुल धौलेगाउँ जन्मिएकी सीताको कृष्णबहादुर महरासँग १७ वर्षकै उमेर विवाह भयो।

महराले २०४८ सालमै राष्ट्रिय जनमोर्चाबाट चुनाव जितेर सांसद बनेर काठमाडौँ छिरे। सामान्य लेखपढ गर्न जानेकी सीता रोल्पाकै रोल्पा मेबाङ गाउँमा खेतीपातीमै रमाइन्। २०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्‍यो।

त्यसपछि कृष्णबहादुर भुमिगत भए। पति भूमिगत भए पनि परिवार दुई वर्षसम्म घरमै बस्यो। तर २०५४ साउन २९ गते उनको घरमा प्रहरीले छापा मार्‍यो। नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी पछाडिको झ्यालबाट भागिन्।


रोल्पाको मेबाङ गाउँमा रहेको पुर्खोली घरमा महरा दम्पती। फोटो : सामाजिक सञ्जाल

प्रहरीले उनीमाथि गोली बर्साउन छाडेन। साउनको मकैको झोरले गर्दा उनी ज्यान बचाउन सफल भएको बताउँथिन्। उनीसँगै छोराछोरी पनि भागेर बाच्न सफल भएको उनले भोलिपल्ट मात्र थाहा पाइन्।

उक्त आक्रमणमा महराको परिवारलाई मार्ने योजनाका साथ प्रहरीहरु त्यस रात त्यहाँ पुगेको उनीहरुले पछि मात्र थाहा पाए। त्यसपछि यो वर्ष मात्रै महरा परिवार रोल्पाको त्यहीँ घर पुगेर दसैँ मनायो।

नछोडेको खेतीपाती

२०७४ साल मंसिरमा प्रतिनिधिसभाको चुनाव भएपछि महरा देशकै पाँचै वरियताको पद सभामुख बन्न पुगे। त्यसपछि महरा परिवार सरकारले उपलब्ध गराएको बालुवाटारको सरकारी निवासमा बस्न थाल्यो।

उच्च तहको सरकारी सेवा सुविधा हुँदाहुँदै पनि सीताले उहिल्यैदेखि गर्दै आएको खेतीपाती छाडिनन्। सभामुख निवास पछाडिको खाली जग्गामा तरकारी रोप्न थालिन्। तत्कालीन सभामुखको प्रेस विज्ञका रुपमा महराको परिवारसँगै बालुवाटारमै बसेका डिल्ली मल्लका अनुसार ठूलो परिणाममा चाहिने बेलामा बाहेक उनको परिवारका लागि तरकारी किनिएन।

उनी भन्छन्, ‘बालुवाटार हुँदा पनि उहाँले तरकारी रोप्न छाड्नु भएन। अलि धेरै चाहिने बेलामा बाहेक अरु बेला हामीले उहाँले फलाएको तरकार नै खायौँ।’ सामान्य जीवनयापन र पतिको रेखदेख बाहेक उनको अरु अतिरिक्त रुचि आफूले बालुवाटार रहँदा नदेखेको मल्ल बताउँछन्।

सीता–सीता-सुष्मा सम्बन्ध

संयोग नै मान्नुपर्छ- महराका राजनीतिक सहकर्मी एवं हालका नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्निको नाम पनि सीता नै हो भन्ने धेरैलाई जानकारी छ।

महराकी पत्नी सीता र दाहालकी पत्नी सीता र नेता मोहन वैद्यकी पत्नी सुष्मा वैद्यबीच नाम मात्र समान नभई सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको पूर्वमाओवादी खेमाका नेता कार्यकर्ता बताउँछन्।

प्रचण्ड पत्नी सीता दाहाल(बायाँं) र महरा पत्नी सीता।

उनीहरुबीच नजिकको पारिवारिक सम्बन्ध रहेको प्रचण्डको सचिवालयमा काम गर्ने एक कार्यकर्ता बताउँछन्। भूमिगत कालदेखि नै राजनीतिक विषयमा पतिहरुबीच मतभेद हुँदा आपसमा बसेर समस्याको समाधान निकाल्न तीनै जनाले सुझाव दिने गरेका थिए।

अघिपछिको सुझावले काम गरे पनि २०६९ सालमा तत्कालीन माओवादी विभाजन हुँदा भने उनीहरुको सल्लाह सुझावले भ्याएन। माओवादी फुटेर वैद्यको नेतृत्वमा क्रान्तिकारी माओदावादी जन्मियो।

६० वर्षमा हिँडिरहेका बेला पुरानै रोगमाथि कोरोना संक्रमणले थप ज्यान गलायो र उनी कहिल्यै नफर्किने बाटो लागिन्। उनका श्रीमान् कृष्णबहादुर महरासाथै दुई छोरा र दुई छोरी छन्।

(कोरोना संक्रमणले ज्यान गुमाएकाहरु फगत संख्या होइनन्। परिवार र समाजमा उनीहरुको रिक्तता खट्किरहन्छ। हामी उनीहरुलाई सम्झिरहनेछौँ।)

कात्तिक २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्