कोरोना संक्रमणसँग लामो संघर्ष

भेन्टिलेटरबाट उनी घर फर्किए– परिवारले दिएको आत्मबल र सहृदयी स्वास्थ्यकर्मीहरुलाई धन्यवाद!

सुमन अवाल।

डिस्चार्ज भएको डेढ महिना भयो। अझै पनि हल्का खोकी छ, उनलाई। हिँड्दा श्वास फेर्न गाह्रो भए जस्तो हुन्छ। तर पनि आफूलाई ठिक भइसकेको आभास गरिरहेका छन्। कोठाको कुनामा अक्सिजनको सिलिण्डर थन्काइसकेका छन्, उनले। कुनामा राखिएको अक्सिजनको सिलिण्डर देखाउँदै उनले भने, ‘अब मलाई त्यसको जरुरत छैन। म ठिक भइसकेँ।’ अस्पतालमा लामो समयसम्म त्यही अक्सिजनको सहायतामा जीवित थिए, उनी।

तर अहिले उनी दिन प्रतिदिन फूर्तिलो हुँदै गएका छन्।

भेन्टिलेटरमा हुँदा उनलाई जिन्दगी यति नै रहेछ भन्ने नलागेको पनि होइन। तर उनको त्यो सोचाइ गलत सावित भएको छ। उनी मृत्युलाई मात दिएर पुरानै जीवन शैलीमा फर्किने कोशिश गरिरहेका छन्, भक्तपुर सूर्यविनायकका ३० वर्षीय सुमन अवाल।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै थियो। संक्रमितको संख्या थपिँदै थियो। संक्रमित संख्या बढ्दै गएपछि संक्रमित भएर निको हुनेको संख्या बढी थियो।

अनि त्यसैमा थियो, संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सानो संख्या।

त्यसबेला उनलाई लाग्थ्यो- कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन समय लाग्छ। संक्रमणले नेपाललाई खासै असर गर्दैन होला- यही सोच्थे उनी। सुमन अफिसमा ब्रेकको समयमा साथीहरुसँग गफिन्थे। दैनिक उही कोरोना भाइरस संक्रमितको संख्याका बारेमा। कति थपिए। कतिको मृत्यु भयो। अनि कति निको भएर घर फर्किए।

खाली हुने बित्तिकै अफिसमा सुमन साथीहरुसँग यही विषयमा छलफल गरेर बस्थे। संक्रमणको डर कता कता उनको मनमा नपलाएको पनि होइन त्यो बेला। नेपालमा संक्रमण फैलियो भने विध्वंस नै हुन्छ होला। सरकारले राम्रो व्यवस्थापन गरेको छैन। यसका लागि आइपर्ने तयारी सुरु गरेको छैन।

कोरोना भाइरस संक्रमणको कुरा मनमा खेलाउँदा मन चिसो पस्थ्यो।

तर उनले फेरि सोच्थे, ‘विश्वमा मर्नेहरुको भन्दा संक्रमण मुक्त भएर घर फर्किनेको संख्या धेरै छ।’

केही समयपछि नेपालमा  पनि संक्रमित भेटिन थाले। विश्वका अन्य देशहरु जस्तै नेपाल पनि लामो समयसम्म यसबाट अछुतो रहन सकेन। एक, दुई, तीन, चार गर्दै संक्रमितको संख्या हजारमा पुग्न थाल्यो।

एक न एक दिन संक्रमित भइने नै भयो भन्ने उनलाई लागिरहेको थियो।

भदौको पहिलो साता सुमनलाई घाँटी दुख्यो। थुक निल्न समते अप्ठ्यारो भयो। उनले सोचे, ‘फेरि टन्सिल भए छ।’ यो भन्दा अगाडि धेरै पटक उनले टन्सिल हुँदा यस्तो समस्या खेपेका थिए।

टन्सिलको लक्षण देखिएको तीन दिनपछि उनलाई ज्वरो पनि अयो। उनले फेरि सोचे, ‘यो पटक टन्सिल बल्झियो।’

घरमै औषधी खाए। शरीरको तापक्रम कम भयो।

तर औषधीले उनको ज्वरो ठ्याप्पै रोकिएन। अझ उल्टै तापक्रम बढ्ने अनि औषधी सेवन गर्ने सिलसिला चलि नै रहयो।

सुमनलाई बिसेक नहुँदै उनका बुवालाई ज्वरो सुरु भयो। अब भने उनले शंका गर्ने ठाउँ पाए। उनी एक पटक झस्किए, ‘कतै कोरोना भाइरसको संक्रमण त होइन?’

‘बुवालाई बेस्सरी टाउनको दुख्यो। मलाई श्वास फेर्न गाह्रो भइरहेको थियो। अनि हामीले पिसिआर टेस्ट गर्न जाने निर्णय गर्‍यौँ’, सुमनले भने।

अनि भदौ ९ गते बिहानै बाबु–छोरा हिँडे, पीसीआर परीक्षणका लागि। भक्तपुर अस्पताल पुगे। परीक्षणका लागि स्वाब दिए। र घर फर्किए। सुमनलाई गाह्रो भइरहेको थियो।

औषधी खाए। निको भए जस्तो हुन्थ्यो अनि फेरि उस्तै। पीसीआर रिपोर्ट मात्र कुरेर बस्न नसक्ने अवस्थामा थिए, सुमन। श्वास प्रश्वासमा समस्या झन–झन बढ्यो। उनले भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य सेवा केन्द्रमा कार्यरत एक जना डाक्टरसँग परामर्श लिए। भदौ १३ गते थप चेकजाँचका लागि उतै लागे।

यति बेलासम्म उनलाई लागिसकेको थियो, ‘शायद म संक्रमित भइसकेको छु।’

उनी जनस्वास्थ्य सेवा केन्द्रको आकस्मिक कक्षमा थिए। फोनको घण्टी बज्यो। फोन मार्फत उनले आफू संक्रमित भएको खबर पाए।

यो खबरले उनी आत्तिएनन्। आफू संक्रमित भएको कुरा त्यहाँका डाक्टरलाई जानकारी गराए। उनलाई ढाडस दिनुको साटो आकस्मिक कक्षमा भएका सबै जना भागाभाग गरे। सबै जना बाहिर पुगिसकेका थिए। वार्डमा एक्लै उनी मात्र भए।

‘आफैलाई नमाइलो लाग्यो’, उनले भने।

उनी उपचारका लागि त्यहाँ पुगेका थिए। स्वास्थ्यकर्मी बाहिर भाग्नुभन्दा पनि आफूलाई उपचार गरेको भए हुँदो हो भन्ने उनको मनमा अहिले पनि खड्किरहेको छ। उनले थपे, ‘मलाई श्वास फेर्न गाह्रो भइसकेको थियो।’

स्वास्थ्यकर्मीबाट त्यस्तो अपेक्षा उनले कहिले पनि गरेका थिएनन्। डाक्टरले एउटा बिरामीलाई बचाउनका लागि मरिमेटेका हुन्छन्। तर आफ्नो रोग थाहा पाउने बित्तिकै लाखापाखा लागेका स्वास्थ्यकर्मी देख्दा सुमनलाई दिक्क लाग्यो।

स्वास्थ्कर्मीलाई त कोरोना भाइरसका बारेमा ज्ञान छैन भने नागरिकलाई कसरी हुन्छन्- यो कुरा सुमनको मनमा खडिकरह्यो।

करिब एक घण्टा उनी आकस्मिक कक्षमा एक्लै बसे। उनलाई गाह्रो भइरहेको थियो। धेरै बेर त्यो ठाउँमा बस्नु सुमनका लागि उपयुक्त थिएन। जनस्वास्थ्यको एम्बुलेन्स चढे। र, भक्तपुर अस्पताल पुगे जहाँ कोरोना भाइरस संक्रमित बिरामीका लागि आइसोलेसन वार्ड छुट्याइएको छ।

उनलाई लागेको थियो। संक्रमितको उपचार हुने अस्पतालमा स्वास्थ्यकर्मीहरुको आफूलाई हेर्ने नजरिया फरक होला। उनीहरु संक्रमितको समस्या बुझ्छन् होला।

तर भक्तपुर अस्पताल पनि जनस्वास्थ्य भन्दा केही फरक पाएनन्, उनले। सुमनको रिपोर्ट आएकै दिन उनका बुवाको पनि रिपोर्ट पोजेटिभ आएको थियो। बाबु–छोरालाई सँगै आइसोलेसन वार्डमा राखियो।

उनलाई भेट्न डाक्टर, नर्स आए। उनले सोचे- अब राम्रो उपचार होला। स्वास्थ्यकर्मीले एउटा बिरामीलाई गर्ने व्यवहार गर्लान्।

उनको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नुको साटो सुमनको हातमा ज्वरो नाप्न थर्मोमिटर, पल्स अक्सिमेट्री उपकरण (अक्सिजनको मात्रा नाप्ने मेसिन) थमाइदिए। र भने, ‘बेला बेला आफै जाँच गर्नु होला र हामीलाई ‘भाइबर ग्रुप’मा विवरण फोटो खिचेर पठाउनु होला।’

यो सुनेर सुमन जिल्ल परे। बिरामीलाई डाक्टरले जाँच गर्नुको साटो उल्टै बिरामीले आफै जाँचेर आफ्नो विवरण उनीहरुलाई बुझाउनु पर्ने त्यो पनि भाइबर ग्रुपमा। उनले सोचे, ‘म पो शिक्षित छु। मेरो बुवाजस्तो बुढो मान्छेले कसरी पठाउन सक्छ? कति संक्रमित नपढेका पनि त हुन सक्छन्।’

असपतालको नियम उनले परिर्वतन गर्न सकेनन्। अस्पतालको यस्तो लापर्वाही देखेर दिक्क मान्ने बाहेक केही उपाय थिएन, सुमनसँग।

डाक्टरले जस्तो भनेका थिए, उसैगरी सुमनले आफ्नो र बुवाको स्वास्थ्य विवरणको फोटो खिचेर भाइबर ग्रुपमा पठाइरहे। त्यतिन्जेल उनलाई खोकीले धेरै सताइरहेको थियो। श्वास प्रश्वासमा समस्या झन–झन बढ्दै थियो। डाक्टरले तपाईलाई गाह्रो भयो कि भनेर एक बचन समेत सोधेनन्।

आइसोलेसनमा छटपट्टिरहेका सुमनलाई साथी (डाक्टर)को फोन आयो। उनले आफ्नो समस्या बताए। साथीले उनलाई सोधे, ‘एक्सरे गरायौ?’

सुमनले जबाफ दिए, ‘नाइँ।’

सुमनका साथीले उनलाई तुरुन्त एक्सरे गर्न लगाउन अनुरोध गर्न पठाए। सुमनले अस्पतालमा आफ्नो एक्सरे गरिदिन गुहार मागे। तर उनको चित्कार सुन्ने वाला कोही थिएनन्। धेरै बिन्ती गरेपछि उनको एक्सरे भयो।

एक्सरेको रिपोर्ट आइसकेपछि सुमनलाई आइसीयूमा भर्ना गर्नु पर्ने देखिएको थियो। तर भक्तपुर अस्पतालमा आइसीयू नभएका कारण अर्को अस्पताल सार्नुपर्ने भयो।

भक्तपुरको दुई दिन बसाइपछि सुमन र उनका बुवाको आइसोलेसन सेन्टर परिर्वतन हुने भयो। छोराको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग असपताल र बुवाको पाटनस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा। बाबु–छोरा एउटै एम्बुलेन्समा चढे।

एम्बुलेन्सले सुमनलाई टेकु छोड्यो र बुवालाई छोड्न पाटनतर्फ लाग्यो।

‘केही दिन भक्तपुर अस्पतालमै बसेको भए जे पनि हुने रहेछ’, सुमन भन्छन्। टेकु पुगेपछि सुमनलाई लागेको थियो, ‘यो पनि त सरकारी अस्पताल हो। यहाँको व्यस्थापन र स्वास्थ्यकर्मीको व्यवहार उस्तै होला।’

सवास्थ्यकर्मीको उही नाटक झेल्नुपर्ने होला भन्दै मन खिन्न बनाइरहेको थिए, सुमन। सुमन एम्बुलेन्सबाट ओर्लिने बित्तिकै उनलाई स्वास्थ्यकर्मीले घेरे। कसैले उनलाई समाए। सुमनलाई स्वागत गर्न बाहिर निस्केका स्वास्थ्यकर्मीमध्ये कसैले आभास गरे, ‘उनलाई हिँड्न गाह्रो भइरहेको छ।’

उनले गुडाउँदै ह्विलचिएर ल्याए। र, सुमनलाई बसाए। ह्विलचिएरमा गुड्किदै सुमन वार्डमा पुगे। त्यही बेला उनले दुवै सरकारी अस्पताल भएपनि बिरामीलाई गरिने फरकफरक व्यवहार महसुस गरे। सोचे, ‘भक्तपुर अस्पताल घर नजिकै भएपनि के फाइदा भयो र? हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ भनेको शायद यही रहेछ।’

‘एउटा अस्पतालमा नमिठो अनुभव सँगाले, अर्को असपतालमा सधैभरी सम्झिरहने अनुभव सँगालेको छु’, सुमन थप्छन्।

टेकु अस्पतालले उनलाई सिधै आइसीयूमा भर्ना गर्‍यो। आइसीयूमा भर्ना भएका सुमनलाई जाँच्न एक हुल स्वास्थ्यकर्मीको टोली आयो। उनले कसैको पनि अनुहार देख्न पाएनन्। सबै जनाले टाउकोदेखि खुट्टासम्म छोपिने पीपीई प्रयोग गरका थिए। देखिएका थिए त केबल उनीहरुका आँखा मात्र। सबैको आँखामा हरे।

उनीहरुका आँखाहरु भनिरहेका थिए, ‘नआत्तेऊ हामी छौँ।’ उनी ढुक्क भए।

आइसीयू भर्ना भएको दुई दिनमै सुमनको स्वास्थ्य अवस्था झनै बिग्रँदै गयो। अनि सुरु भयो उनको भेन्टिलेटर यात्रा। भेन्टिलेटर सरेपछि उनी पहिलो पटक डराए। उनको रोग प्रतिरोधात्मक क्षमतामा असर परेको थियो। अनि महशुस गरे, संक्रमणको कडापन।

अब बाँचिनन् कि भन्ने लाग्यो, उनलाई। त्यही बेला उनले सबैलाई सम्झिए। सबैभन्दा धेरै परिवारलाई। पटान अस्पतालमा भर्ना भएका बुवालाई जो छोरोको नाजुक अवस्थाको बारेमा बिल्कुलै अन्जान थिए।

तर उनलाई उनको परिवारले साथ दियो। हात समाएर उठाउन नसके पनि फोनमा बारम्बार सम्झाइरह्यो, तिम्रा लागि हामी छौँ। सुमनकी श्रीमती, आमाले भनिरहे- हामी तिमीलाई केही हुन दिदैनौँ। तिमी निको भएर पहिला जसरी नै घर फर्किन्छौँ। धेरै सोच्न छोडिदेऊ। चिन्ता लिन बन्द गर।

परिवारको यो हौसलाले सुमन तङ्ग्रिन खोज्दै थिए। तर पनि सकेनन्। कसैसँग कुरा गर्न सकेनन्।

तीन दिन अचेत अवस्थामा लडिरहे। उनलाई परिवारको यही विश्वासले आत्मबल बढाउन मदत गर्‍यो। बिस्तारै उनको स्वास्थ्यमा सुधार हुँदै आयो। घरमा फोनमा बोल्न थाले। म्यासेन्जर मार्फत कुरा गर्न थाले।

टेकु अस्पतालबाट डिस्चार्ज भएपछि सुमन अवाललाई अस्पतालबाट बिदाइ गर्दै स्वास्थ्यकर्मीहरु।

सुमन उता अस्तपातमा तङ्ग्रिने कोसिस गर्दै थिए। बुवा १४ दिनको आइसोलेसन पूरा गरेर घर फर्किए। अस्पतालमा छोरोको अवस्था सोध्दा सबैले ठिक छ भन्ने जवाफ उनलाई दिएका थिए। आफूसँगै अस्पताल गएको छोरा पनि सँगै घर फर्किएला भन्ने सोचेका उनले ठिक बिपरित पाए।

घर फर्किएलगत्तै सुने, ‘छोरा भेन्टिलेटरमा छ।’

मन भक्कानियो। मुटु चसक्क दुख्यो। आँखाबाट बर्रर आँसु झरिरहे। रोक्न सकेनन्, आफूलाई। जति रोएपनि हौसला बाहेक केही पनि दिन सक्केनन्, उनले छोरालाई।

उनले भने, ‘अस्पतालमै हुँदा छोरोको अवस्थाका बारेमा थाहा भएको भए मलाई गाह्रो हुन्थ्यो होला। त्यही सोचेर खतम हुन्थेँ होला। धेरै चिन्ता लिन्छु भनेर मलाई कसैले पनि नभनेका रहेछन्। घर आएपछि छोरो भेन्टिलेटरमा भएको पाए। रोक्छु भन्दा भन्दै पनि आँसु झरिहाले।’

उता सुमनको दिनहुँ रगत जाँच, मिनेटमा १५ लिटरको अक्सिजन चाहिने भएको थियो। त्यमा पनि उनी राति सुत्दा पनि अक्सिजन मास्क लगाएरै सुत्नु पर्ने अवस्थामा थिए उनी।

छोरोको यस्तो अवस्था देख्दा कुन चाहि आमा–बुवाको मन थामिँदो हो। तर सुमनको परिवारले मन सम्हाल्यो। सुमनलाई ढाडस दिइरह्यो।

करिव २५ दिन लामो अस्पताल बसाइपछि सुमन डिस्चार्ज भए। त्यही बेला उनलाई लागेको थियो, ‘मैले नयाँ जन्म पाएँ।’ अस्पतालको बसाइमा लामो समय उनले भेन्टिलेटरमै बिताए।

डिस्चार्ज हुँदाको दिन खुसीले उनको अनुहार धपक्क बलेको थियो। २५ दिनमा बनाएको परिवारलाई छोडे। आफ्नो पुरानै परिवारमा फिर्ता भए। अस्पतालका स्वास्थ्यकर्मीले उनलाई सधैँ परिवारको जस्तो व्यवहार गरे। उनको ख्याल राखे। आतमबल बढाउन काँध थम्थमाए। उनलाई माया गरे।

अस्पतालको त्यो  क्षण सम्झिँदा हरेक कुराको सामना गर्न आत्मबल चाहिने उनी बताउँछन्। उनले भने, ‘कोरोना भाइरसको संक्रमण हुनु भन्दा पहिला उनलाई सामान्य लाग्थ्यो। तर अहिले उनले यसको जटिलतालाई राम्रोसँग बुझेको छ। आफ्नो आत्मबल दह्रो बनाउनुस्। आत्मबलभन्दा ठूलो केही रहेन छ।’

घर फर्किएपछि उनलाई १४ दिन होम आइसोलेसन बस्न चिकित्सकले सल्लाह दिएका थिए। उनी ३ हप्ता आराम गरे।

अस्पताल छोडेको उनले करिब डेढ महिना भयो। तर पनि उनको मस्तिष्कबाट टेकु अस्पताका स्वास्थ्यकर्मीसँगको त्यो मिठो अनुभूति ताजै छ। उनीहरुको अनुहार याद नभए पनि बोली याद गर्छन्। आवाजले उनीहरुलाई पहिचान गर्न सक्छन्।

उनले भने, ‘उहाँहरुको फेस याद छैन। तर आवाज याद छ। नाम थाहा थियो। फेसबुकमा जोडिए र उहाँहरुलाई ‘थ्याङ् क्यू’ भने। उहाँहरुले मप्रति गरेको व्यवहार कहिले बिर्सने छैन।’

उनी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. अनुप बास्तोलालाई सम्झिन्छन्। उनी कामना गर्छन्, ‘कोही डाक्टर होस् त अनुप बास्तोला जस्तो।’

‘उहाँ बिरामीसँग एकदमै ‘फ्रेण्डली’ हुनु हुन्छ। बिरामीलाई गाह्रो भयो भन्दै आफै ह्विलचियर लिएर कुदिरहनु हुन्छ’, डा. अनुपको तारिफ गर्दै मुस्कुराइरहेका उनको त्यो मुस्कान आँखामा छर्लङ्ग देखिएको थियो।

डा. अनुपको कुरा गर्दा मात्र होइन, उनी अस्पतालका हरेक स्वास्थ्यकर्मीको कुरा गर्दा उत्साहित भइरहेका थिए।

कात्तिक २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्