कोभिड र सिर्जना (निबन्ध)

कोरोना कहर, बसाईंका सारस र विशाल जून

कोरोना कहरको निःश्वास तानिरहेका बखत छटपटिका ऐंठन हुनु नौलो कुरा थिएन नै । रात र दिनमा मात्र तन्किएको थियो कोरोनाकालको समय । सबै क्रियाकलाप बन्दाबन्दीको ठिङुराइमा परेको थियो । एकातिर रातको आकाशमा टाङिएको विशाल जूनको मखमली किरणले शीतलता बाँडिरहेको थियो भने अर्कातिर दिनको आकाश घरिघरि निलाम्मे, घुर्मैलो र घमाइलो बन्दो थियो। झनै यसपालि त सूर्यको किरण पनि वसन्त र गृष्म ऋतुको चेपमा परेर हो कि त रापहरू तिखा थिएनन् र त घोचेनन् विगत जसरी । मानिसले बिगारेको प्रकृतिले विस्तारै आफ्नो लयमा फर्कन होला खोलानालामा कञ्चनताले निफनिरहेको थियो । तलाउमा पानीका तरङ्गमा वरिपरिका दृश्य लडिबुडी गरि राखेको थियो । आकाशमा निलिमा खिल्खिलाइरहेको थियो । फूलहरू चाहे गमलाका, चाहे बगैंचाका, चाहे वनकै किन नहोस्- उन्मुक्त थिए ।

कोरोना कहरको त्रासदीलाई प्राकृतिक छटाले जीवनको निराशालाई हौस्याइरहेको थियो । सबै कुराको आआफ्नै लय हुँदो रहेछ र त्यो लयमा ढालिनु झन ठूलो कुरो रहेछ भन्ने पाठ यो कोरोना कहरले कहिरहेको थियो । घुम्नलाई छतको परिसरले सघाएको थियो । हावाले छिमेकी वौद्ध धर्मावलम्वीको छतमा रङ्गीन लुङ्दरका पताकाहरू फर्फराएर बुद्ध वाणी बाँडिरहेको भान भइरहन्थ्यो भन्नुस्। कागका बथान हुत्तिएर, बत्तिएर काँ काँ गर्दै बिहानी निरवता थर्काईरहेको थियो । भन्नु हुँदैन, मर्निङवाकधरि ननिस्किएको म तर खिसिट्यूरीको पात्र पनि म नै भइरहेको थिएँ । टाढाका दृश्यांशहरू टकटकाकार भएर छर्लङ्गिएको देखिन्थ्यो । परपरसम्म पसारिएको क्षितिजै फराकिलो भएको भान हुन्थ्यो । घरपारि अझ सडकैपारिको आँपको रुखमा साइबेरियाबाटै बसाईं सरेर आएकाझैँ सारसहरू सैसला खेलिरहेका भनौं झुत्ति खेलिरहेका नि ! सारसहरूका हुल आँप र कटहरका रुखमा टाढैबाट देखिनेमात्रै होइन कुनै सेता र टल्किने फूलहरूजस्ता लाग्थे मानौँ चिमाल फूलिरहेको छ । दिनभरि आहाराको खोजीमा हार मिलाएर उडेका हुन्थे भने साँझपख गोधुली रङ पखेटामा सिउरिएर उही आँप र कटहरको रुखमा आएर थपक्क सेताम्मे फूलझैं हाँगाहाँगामा सरोबरी फूल्थे । यसरी यो निलाभ आकाश, पृथ्वीको हरितिमा, छङ्छङएको खोलाका निख्खुर कञ्चन छालहरूमाथि आँखा पर्दा कोरोनाकहरका सबै कहरहरू हलुका हुन्थ्यो ।

विपत्ति भनौं कि के भनौं, यस्तै विश्वव्यापी बन्न गएको प्लेगका कथा पढिएकै हो । विफरका, ठेउला, दादुराका महामारी सुनिएकोमात्र । के गाउँ, के शहर, मलेरिया उन्मूलन भएका सूचना रातोमाटेभित्तो, पर्खाल कमेरे गारोभरि किरिङमिरिङ् सूचित अक्षरहरू ठिङ्ग उभिएर पढिएकै हो । कताकती गाउँघरतिर, शहरका सडक किनारातिर डिडिटी पाउडर छरेर सेतै भएको भुईंबारे सोधिएको पनि हो । काल क्रमिकरुपमा महामारीका कथा उपकथामा एड्सको महामारी थामिएकै छैन । ईबोला, सार्स र डेङ्गेले बेलामा मानव जगतलाई झकझकाई रहन्छ । बल्ल थाहा भो विपत्तिका लहरहरूले गाँजेपछि मानिसको जीवनमा आईपर्ने आत्तेस, हतास र जीजिविषामा उठेका तरङ्गले छोडेका अनभूतिका कम्पन प्रकम्पनका थरथराहट । त्यही थरथराहटमा थर्थराउँदै यहाँसम्म आइपुगेको रहेछु ।

फेरि यो मान्छेलाई सामान्य अवस्थामा आउनु भनेको ख्यालख्यालै रहेछ कि क्या हो कतिचाँडो विर्सेको भूकम्पका त्रासदी कि महाविपत्ति थियो नि त्यो पनि । हेरौं यो महामारीले मान्छेलाई कस्तो पाठ पढाउँछ कुन्नि । हेर्नु न, महामारीलाई मानिसले छकाएका हुन् कि महामारीलेचाहिँ मानिसलाई छकाएको हो केही भेउ पाउन सकिएन भनौं । मलाई हजुरआमाले सुनाउनु भएको लोरीमा त्यस्तो केही थिएन । हजुरबाको माया मिश्रित गालीमा पनि त्यो महामारीका कुरा थिएनन् । जब बढ्दो उमेरले जिउमा वयस्कको पखेटा हाल्न थाल्यो अनि थाहा हुन लाग्यो मिथकीय कथाहरूको शृङ्खला । त्यसमै मिसिन थाले विपत्ति अनि महामारीका कथा । यति सालको महामारीले यो लग्यो । यतिसालको महामारीमा यो बन्यो । यतिसाले महामारीमा यो भयो यतिसालको महामारीमा ऊ मर्‍यो। यो महामारीले शहरै खत्तम । गावैं सोत्तर । फलाना नि खत्तम । ढिस्काना नि खत्तम । त्यो महामारीमा यो भएको । यो महामारीमा यतिसम्म भयो । त्यो सबै महामारी पछि बनाएको ।

आखिरमा महामारीले पनि बनाउने रहेछ नि रहन त ! तर बनाउनुभन्दा भत्काउनु बढी । बँचाउनेभन्दा मार्ने बढी । सम्हालिनेभन्दा आत्तिनेबढी । नाफा नोक्सान । नोक्सान नाफा । के के । नभएको हुने । भएको नहुने । सोचेको नहुने । नसोचेको भइरहने । यो महामारीको वर्णनातीत वर्णन । विपत्तिको एउटा सनासो २०७२ को विनासकारी भुईँचालोले पनि हन्तकाली हाउडो चोसाउँदै आएकै हो । यसले पनि एकखाले डर र त्रासको सुरुङ्भित्र घुसाएरै छोड्यो ।

कोहोना कहरको महामारी पनि नसोचेको भएर आयो भनुँ न । कोभिड १९ को नामधारी यो महामारी भोगेका महामारीको पनि महामारी रहेछ । मानिसहरू काल कवलित हुनलाई केही बेर नलागेका कथनी र करणी यही कोरोनाकै भयो । समाचारका हेडलाइन, डेडलाइनहरूको उच्चारणले नै अत्याइसकेको थियो । भूगोलको असामान्यताले महानगरका सुविधा त के कल्पन्थें र तापनि लकडाउनका अभ्यस्तताहरू नौलामात्रै होइन, अनौठो पनि लाग्थ्यो । के हुने हो र के के हुने हो कै रनभूल्लमा फसियो कत्ति दिन । के समाउन हुने के समाउन नहुने । के छुन हुने र केलाई छुन हुने । कसलाई भेट्न हुने र कसलाई भेट्न नहुने । कसलाई कति टाढा भएर भेट्ने, कसलाई कत्ति नजिक पार्ने । को आफन्त को पराई । भेटै भई हालेछ भनेपनि सिकसिको र दिङ्मिङले के गरौं, के नगरौं हुने । अस्पतालमा कुरुवा नपाइने/आफन्तै मर्दा पनि छुनसम्म नपाईने भनेपछि भन्नुस् न कत्ति सास्ती ! कत्ति कुरामा त अनभिज्ञताकै जाँतोमा पिसिइरहियो । हाहाकारै त हो कि होइन भन्नै नसकिने ।

खाने सामलको जोहोका लागि सामल तुमल मान्छेहरूलाई नचाहिने र चाहिने अड्कल पाउन छाडे । शहरका गोदामहरू रित्तिने क्रमसँगै कृत्रिम अभावको डढेलो सल्कन थाल्यो । कसैलाई गाउँबाट शहर पठायो । कसैलाई शहरबाट गाउँ लखेट्यो । शहरदेखि शहरसम्मको यात्रा पनि कष्टकर लाग्नेहरूको कथा बनिन थाले । गाउँघर/घर गाउँका कथा नभन्दा नै पीडा कम होलाझैँ हुन्छ। रात विरात नभनी, घामपानीको कहर, सबैभन्दा गाह्रो भोकको समन गर्नु रहेछ कि क्या हो रोग कस्तो हुन्छ के थाहा भोकले त नराम्ररी डस्छ । पेटको समस्या ठूलो कि देख्दै नदेखेको, कहाँको कहाँको रोगको पीडा ठूलो भन्ने यक्ष प्रश्नको जवाफ कसले दिने । कस्तो महामारी फैलियो भने पृथ्वीकै सारा सामाजिक संरचनादेखि राज्य व्यवस्था,अर्थ व्यवस्था,नीति, कूटनीति सबैको उलटफेर होलाजस्तो पो भो त ! हरेक कुराको ल्याकतमाथि यामानको युगीन प्रश्नले लखेट्ने भयो ।

गाउँमा बसिरहन खै भरपर्दो टेको ? खोरिया सम्याएर वर्षदिन मुश्किल छ छाक टार्न । राज्य सक्दो विदेशिउन् भन्ने ध्याउन्नमा छ । श्रमको चित्त बुझ्दो बनीबुतो नमिल्दा पनि विरानी मुलुकमा तारुन्य साट्नु प्रारब्ध बनेको छ ।

यसै बेला खगोलीय इतिहास मध्येकै विशाल जूनेली किरण आकाशबाट कोलाहलमय धरतीमा फालहाल्दा धरतीले केही बेर लामो श्वास तान्यो होला र त धरतीभरि जूनको हाँसो खितखिताएर हाँसेको टाढाटाढासम्म फिँजारियो । जूनको हाँसोको अट्टहास धरतीका आङ् भनौं हिमाल पहाडका काखभरि, रुखका टुप्पाभरि, हाँगाहाँगा र पातपात भरिभरि, खोँचभरि, आँगनभरि, छानाभरि, सडकभरि, गोरेटोभरि, खेत खलियान, गराका गरा, बारीका कान्लाकान्लामा टाँसिएको थियो ।

कोरोना कहरले त्रासको पखेटा जोडजोडले फट्फटाइरहेको थियो । मानिसले विस्तारै संत्रासमय समयको गुज्रान भएको निःश्वास तानिरहेको बुझिन्थ्यो । चोक र गल्लीहरूमा गुलजार भएर कोरोना कहरमाथिको विजयी हुँकार छाडिरहेको सुनिन्थ्यो । मानौं केही भएकै छैन । त्यो समय सपनामय समय हो । कि भनौं शून्य समय । अवचेतनको समय । सुनसान समयको अवोधगम्य समय । डरैडरको भूमरीमा अलल्लेबाढीजस्तो समयले उचाल्ने र पछार्ने गरिराखेको । सडकभरि संवेदनाका रास बोकेर गर्भवतीहरूले सुस्केरा छोडेको हेर्न सक्ने समाजको आँखा । टुकुटुकु हिँड्न वा हिँड्न भित्तो समाउने हातहरू लथ्रक्क चोरी औंला समातेर गन्तव्य छिचोल्न हिँडेका असरल्ल सडकभरि छरिएका भोकको ऐंठन सुन्न नसक्ने राज्य व्यवस्था । प्रागैतिहासिक भोकको युद्ध जित्न हिँडेकाहरू भोकसँगै निरीह बन्दै सालनाल गाडेको पाखापखेरोतिर तिरोहितहरूको अस्मेल भीडमाथि असंवेदित बन्न हौसिने सरकार । केमात्र बाँकी नभएजस्तै भएर समाज लत्रेको यसरी कहिल्यै नदेखिएको मलाई बाँच्ने साहस अझै भएर आयो । गहिरो अर्धचेतबाट बिँउझिएजस्तै भयो । जर्‍याकजुरुक उठेर कतै लामो यात्रामा निस्किहालूँ कि भयो । कोरोना कहर मान्छेकै लागि,मान्छे बनाउनैकै लागि र मान्छे बनाइराख्नकै लागि आएकोजस्तो लाग्यो । मान्छेले धरतीमाथि गरेका यावत चकचकको सजाय दिन आएको होजस्तो पनि लाग्यो । कोरोना पृथ्वीले पनि आफ्नो सहनशीलता भत्काउन आएकोजस्तो लाग्यो । वक्षस्थलमाथिको ज्यादती कत्ति सहनेभन्दै प्रशवपीडाकै भानमा चिच्याएझै लाग्यो । लासमाथि लासको खात कुरिरहेको कोरोनाकहर थाकेर फर्केला भनेर प्रार्थना गर्ने मन्दिरहरू, मस्जिदहरू, गिर्जाघरहरू अचेत पल्टेका छन् । उनीहरूका पुरातन ढोङ्हरू छ्यालव्याल भएर पोखिए । कुनै अवतारहरू कोरानाकहरको पीडाम्य घाउमा मल्हमको लेप हुन सकेन न सक्यो, चहर्‍याइरहेको घाउमाथि सुम्सुम्याउने मुलायम हातै बन्न ।

कोरोना कालको कहर कहन मान्छेहरू श्मसान शान्तिमाथि धावा बोल्न छट्पटाउन थाले । निःसन्देह सबैभन्दा बढी छट्पटी भोककै थियो । भोकका लावालश्कर सडकमा प्याराफिटझैं लहरमा लहरिँदै गन्तव्य छिचोल्न हिँडे अनन्त लश्कर ! त्यो लश्करमा मान्छेहरू आँसुका थेग्ला गालामा टाँसेर पाइतालालाई अन्त्यहीन लक्ष्यतिर तिरोहित गराउँदै थिए । ती शहरको बुगुल्टो मायामा मुछिन नसकेर गाउँ फर्केका थिए । शहर त भन्नुमात्रै रहेछ नि ! खै त हाम्रा भोकहरूको समन गर्न सकेन त !! गाउँमा बसिरहन खै भरपर्दो टेको ? खोरिया सम्याएर वर्षदिन मुश्किल छ छाक टार्न । राज्य सक्दो विदेशिउन् भन्ने ध्याउन्नमा छ । श्रमको चित्त बुझ्दो बनीबुतो नमिल्दा पनि विरानी मुलुकमा तारुन्य साट्नु प्रारब्ध बनेको छ ।

नाम्लामा तन्किरहेको जीजिविषा चुँडिएको थियो । डोको, डालो र थुन्सेभरिका आकाङ्क्षा घोप्टिएको थियो । विपनाहरू विच्क्याउने सपनाले पटकपटक विथोलिरहेको थियो । न रातहरू सजिलोसँग बित्दथे न दिन नै । उसै त हाँसो कम आँसु बढीको दैनन्दिनीमा ढालिएको जिन्दगीका पाइला फुकीफुकी चाल्नु परेको छ । कोरोना भन्ने कस्तो महामारी बोकेर आयो नि बरिलै ! धरतीमा मान्छेकै अस्तित्वमाथि प्रश्नचिह्न खडा भयो अब त ! के मान्छेले यो महामारीमाथि विजय पताका फहराउन सक्ला ? फेरि मान्छेले उठेर यो महामारीको टाकुरीमा सफलताको लुुङ्दर टाङ्न सक्ला ?? पक्कै सक्ला मान्छेले प्रकृतिका सबै विपत्तिको सतत सामना गर्न !

‘गन्तव्य’ हेटौंडा—४ हुप्रचौर
चिल्ड्रेनपार्क सडक।

(कोहोना महामारीसँग सम्बन्धित कुनै अनुभव वा सिर्जना भए हामीलाई contact@deshsanchar.com मा पठाउनुहोला।) 

कात्तिक २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्