हामी सधैँ सम्झिरहनेछौँ- ४

संक्रमण दुवै फोक्सोमा फैलिएपछि गुम्यो उनको जीवन

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौँको ह्याम्स अस्पतालमा निधन भयो। झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो।

त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि काठमाडौँ लगेर ह्याम्स अस्पतालमा उपचार गराउँदै गर्दा उनको मृत्यु भएको पूर्वमन्त्री ढकालले जानकारी दिए।

ह्याम्समा गरिएको परीक्षणमा कोभिड–१९ पोजिटिभ तथा दुईवटै फोक्सोमा संक्रमण भएको ढकालले बताए।

रेमडेसिभिर औषधि चढाउनुका साथै प्लाज्मा दिँदा पनि श्रीमतीलाई बचाउन नसकिएको ढकालले जानकारी दिए।

पूर्वमन्त्री ढकाल अहिले ७६ वर्षका भए। उनकी श्रीमती लक्ष्मी ढकाल ७० वर्षकी थिइन् । उनलाई लागेको थिएन- यो बुढेकालमा एक्लै हुन्छु भन्ने।

ढकालले भने, ‘म अहिले सोच्नै सकेको छैन के गरौँ भनेर। यहाँ बसौँ, एक्लै कसरी बसौँ।’

उनका पाँचजना छोरीहरूमा तीनजना अमेरिकामा बसोबास गर्छन्। नेपालमा दुईजना छोरीहरू छन्।

ढकालले भने, ‘यो शनिश्चरेको घरमा बस्न गाह्रो भो। एक्लै कसरी बस्नु र? अब छोरीहरूले जे भन्छन्, त्यही गर्नु पर्ला।’

तर निर्णय भने गरिनसकेको उनले बताए।

गएको नोभेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले परिवारका सदस्यहरूलाई चुँडेर सँधैका निम्ति लैजाने क्रम जारी छ।

नेपालमा पनि कोरोना भाइरसको महामारीले परिवारका अभिन्न सदस्यहरूलाई सधैँका निम्ति चुँडेर लगेर परिवारमा बज्रपात पार्ने गरिरहेको छ।

पूर्वमन्त्री ढकालले पनि बुढेसकालमा जीवन संगिनी गुमाउनु पर्‍यो जसले गर्दा उनी अहिले एक्लो अनुभूत गर्दैछन्।

उनले भने, ‘मेरी श्रीमतीमा सबै किसिमका गुण थिए। यो चाहिँ राम्रो थिएन भन्ने अवस्था नै छैन।’

भनिन्छ- श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन्। तर पूर्वमन्त्री ढकालको रथको एउटा पांग्रा खुस्कियो। अन्तिममा रथ नै अपांग हुन पुग्यो।

‘यो नोक्सानी त केही गरेर पनि परिपूर्ति हुन सक्दैन’, पूर्वमन्त्री ढकालले भने, ‘मेरो परिवारमा यहाँ भन्दा हुने ठाउँ नै छैन।’

उनलाई समाजले हेर्ने गरेको दृष्टिकोणबाट धेरै चिन्ता लागिरहेको उनले सुनाए।

श्रीमतीबिहीन अवस्थामा रहनुपर्दा विभिन्न खाले मान्छेले विभिन्न कुरा काट्ने गरेकाले पनि गाउँमा बस्न उनलाई गाह्रो लागेको छ।

ढकालले भने, ‘श्रीमती नभएपछि अन्य महिलासँग बोल्दा पनि दृष्टिकोण फरक राख्ने समाज छ। गाउँमा बस्न चाहिँ गाह्रै होला भन्ने लागेको छ।’

कात्तिक २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्